पत्रकारिता, पत्रकार र पेशा
663 पटक पढिएको
रामकृष्ण ज्ञवाली
पत्रकार महासंघ कास्कीको कार्यालय अघिल्तिर पत्रकार हरि पन्त यस्तो अवस्थामा भेटिए । मोटर साइकल भरी ६ वटा ठुला ठुला ब्याग बाँधेका उनी ब्यापार गर्न निस्किएका रहेछन् । झट्ट मलाई विश्वास लागेन । पसलकी दिदीले विश्वस्त तुल्याईन । ‘दिउसो काम गर्ने एउटा पत्रिका बन्द भयो, जिविका धान्नै पर्यो, मैले त ब्यापार शुरु गरे दाइ’ हल्का मुस्कान दिँदै उनले यसै भने ।
ती ब्यागमा किराना पसलका लागि आवश्यक सामाग्री थिए । उनी पसल पसल पुग्दै समान बेच्दै गर्दा रहेछन् । लेखनका हिसाबले हरि पन्त राम्रै क्षमता भएका पत्रकार हुन । उनलाई यो अवस्थामा देख्दा म भावुक बने । यो देशमा सञ्चार माध्यम कति बेला जन्मन्छन र मर्छन, पत्तो हुँदैन । साँझ विहान हात मुख जोर्न समेत चन्दा माग्नेहरु पनि प्रकाशक÷सम्पादक बन्छन् । सञ्चार माध्यम शुरु गर्छन, स्वार्थ सिद्ध हुन्जेल चलाउछन, अनि बन्द गर्छन । बिचल्ली हुन्छ काम गर्ने पत्रकारहरुकोे ।
म पत्रकार महासंघ कास्कीको अध्यक्ष भएर पनि पत्रकार हरि पन्तलाई ‘‘पत्रकारिता गरी राख भाइ’ भन्ने हिम्मत गरिन । हैसियत र जवाफदेहिता नभएका प्रकाशकहरुकोमा काम गर्ने पत्रकारहरुले सधै दुख पाइरहनेछन् । कुरा ठुला ठुला गर्ने अनि न्यूनतम पारिश्रमित पनि नदिने कथित ‘साहु’हरुलाई प्रकाशक हु भन्दै घमण्ड गर्ने वातावरण हरि पन्तहरुले किन बनाई रहने ? के यो देशमा पत्रकारिता जोगाउने दायित्व हरि पन्तहरुको मात्रै हो र ? पन्त भाइले जे गरे ठिक गरे ।
पत्रकारलाई न्यूनतम पारिश्रमित देउ भन्दै आवाज उठाउने सस्थाको अध्यक्षलाई यी भाइले भने –‘एक महिना भयो दाइ ब्यापार थालेको, ३२ हजार कमाए ।’ अनि तत्काल बधाई दिए, ब्यापार शुरु गरेकोमा । उनी हिडे, उनको मोटर साइकल ओझेल नपरुन्जेल हेरि रहे र यो निस्कर्षमा पुगे– राम्रो कलम चलाउन सक्ने दक्ष पत्रकारले, जे काम पनि सफलतापूर्वक गर्न सक्छ । उ जहाँ लागे पनि सफल बन्न सक्छ । तिम्रै सञ्चार सस्थामा काम गरी राख्नु पर्छ भन्ने छैन । सबैलाई चेतना भया
( लेखक नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष हुन् ।)