धादिङका किसान लोकल कुखुरा पालन तर्फ आकर्षित

2913 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Local kukhura धादिङ,- मासुका लागि ब्रोइलर, लेयर्स लगायत विभिन्न जातका विकासे प्रजातिका कुखुराको प्रचलन बढी रहेका बेला धादिङका किसानहरु भने स्थानीय जातका कुखुरा पालन तर्फ लागेका छन् । मासुका लागि पालिने विकासे प्रजातिको कुखुरामा रोग लाग्ने र धेरै मर्ने भए पछि धादिङका किसानहरुले स्थानीय जातका कुखुराहरु पाल्न सुरु गरेका हुन् । विकासे कुखुरा भन्दा पाल्नका लागि सजिलो हुने, स्थानीय जातका कुखुरामा रोग पनि कम लाग्ने र बजारमा बिक्री गर्दा मुल्य पनि विकासे कुखुराको भन्दा राम्रो आउने भएका कारण किसानहरुले लोकल जातको कुखुराहरु पाल्न सुरु गरेका हुन् । ‘स्थानीय जातका कुखुरालाई खुल्ला छाडेर पाल्न पाउने र दाना पनि स्थानीय रुपमा नै पाईने मकै लगायत अन्य अन्न खुवाउँदा हुने भएकोले यस्तो व्यवसाय सुरु गरेका हाँैँ’ कुखुरा पालक किसानहरुको भनाइ छ ।
विकासे जातका कुखुराहरुलाई भन्दा लोकल कुखुराहरु पाल्नका लागी मेहनत धेरै गर्न समेत नपर्ने भएकोले किसानहरुले लोकल कुखुरा पाल्न थालेको बताउछन । विकासे कुखुरालाई जस्तो बजारबाट दाना किनेर खुवाउनु नपर्ने, रेखदेख पनि बढी गर्नु नपर्ने भएकाले लगानी पनि धेरै गर्नु नपर्ने र लगानी डुब्ने खतरा पनि कम भएको किसानहरुको भनाइ छ ।
बजारमा स्थानीय प्रजातिको कुखुराको माग पनि धेरै भएको र मुल्य पनि राम्रो पाइने किसानहरुको भनाइ छ । व्यापारीहरुले घरबाट नै प्रति किलो चार सय पचास रुपैँयामा कुखुरा लाने गरेकाले बजारका लागि कुनै समस्या नभएको कुखुरा पालक किसानहरुको भनाइ छ । स्थानीय जातका कुखुराको मासु मात्र नभइ अण्डा पनि बजारमा सजिलै बिक्री हुने भएकाले किसानहरु स्थानीय जातका कुखुरा पालन तर्फ आकर्षित भएका हुन् । लोकल कुखुराको अण्डा प्रतिगोटा घरबाट नै १५ रुपैँयामा सजिलै बिक्री हुने गरेको कुखुरा पालक किसानहरुको भनाइ छ ।
धादिङका किसानले अहिले स्थानीय प्रजातिका आफुले पालेका कुखुराहरुलाई चराउने समेत गर्दछन । उनीहरुले अहिले कुखुरालाई आफ्नो बारी र बगैँचामा दिन भरी चराउने गर्दछन । उनीहरुले सो कुखुरालाई दिन भरी चराउने र बेलुकी पख खोरमा राख्ने गरेका छन् । लोकल कुखुरा भने मौसमका कारण नमर्ने भएका कारण पनि फाईदा हुने किसानहरु बताउछन । धादिङका एउटै किसानले अहिले ६४ रोपनी जमिनमा ४ हजार भन्दा बढी स्थानीय जातका कुखुरा पाल्दै आएका छन । धादिङको कुम्पुर गाँउ विकास समिति आमन टारका किसानहरुले सामुहिक रुपमा सहकारी बनाई जमिन भाडामा लिएर स्थानीय जातका कुखुरा पाल्न सुरु गरेका छन ।