चित्राफुङगामा अडिएको जिन्दगी
1253 पटक पढिएको
धादिङ, – सडक सञ्जालले नछोएको उत्तरी धादिङको रि गाविसका धेरै बासिन्दाको जीवन निर्वाहको मुख्य पेशा चित्राफुङगा बनेको छ । स्थानीयस्तरमा पाईने बाँस निगालोको चोयाबाट बनाईएका डोको, डालो, थुन्से , भकारी,सोली,डोको र थुन्से लगायतका चित्राफुङगा बनाएर आयआर्जन गर्ने गरेका हुन् ।
प्रशस्त जग्गा जमिन भएर पनि सडक सञ्जालले नछोएको कारण रि गाविसमा उत्पादित अन्न तथा तरकारी र फलफुल सजिलैसँग बजार लैजान नसकिने भएपछि स्थानीयबासिन्दाले डोकोथुन्से बुनेर जिवन निर्वाह गर्दै आईरहेका छन् । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रि मात्रै होइन, तिप्लिङ, सेर्तुङ, लापा, झार्लाङ गाविसमा समेत अहिलेसम्म सडक सञ्जाल विस्तार हुन सकेको छैन । विकटको वस्ती भएका कारण अन्य आयआर्जनको उपाय नभएपछि रि गाविसका साथै विकटका बस्तिका बच्चादेखि बृद्धसम्म र विद्यार्थीदेखि शिक्षक सबैजनाले फुर्सदको बेला डोको थुन्से बुनेर आर्थिक जोहो गर्ने गरेका छन् ।
फुर्सदको बेलामा डोको, डालो बनाएर बजारसम्म पठाएपछि त्यसबाट आएको रकमले जीवन निर्वाह गर्ने गरेको रि गाविसका चन्द्रसिंह लामाले बताउनुभयो । बाँस र निगालोका चोयाबाट सामान बनाएर बेचविखन गर्ने गरेको भएपनि अहिले दिनभरी अरु काम गरेर राती अबेरसम्म परिवारका सबैजना बसेर काम गर्दा दिनको ९ वटा सम्म डोको वुन्ने गरेको लामाको भनाई छ ।
कच्चा पदार्थका लागि आवश्यक पर्ने बाँस र निगालो गाउँमै पाइने भएपनि तयार पारिएको सामग्री २ दिनको बाटो लगाएर गाडी आईपुग्ने दार्खा गाविसको घ्याङसाङसम्म पुर्याउनुपर्ने बाध्यता रहेको गाउँवासी बताउँछन् । घरमा बसेर नै काम गर्न सकिने सजिलो पेसा भएको र बिक्रिको लागि बजार पुर्याउन सके झन्झट नहुने भएकोले डोको डालो बनाउने काममा स्थानीयबासिन्दा लागि परेका हुन् ।