तुइनमा जिन्दगी

1110 पटक पढिएको

सम्पादक: Dhading News

Tuin


त्रिशूली नदीमाथिको जीर्ण तुइन तर्ने वेलामा रवीन्द्र नेपाललाई सधैँ दुई वर्षअगाडिको घटनाको याद आउँछ । विद्यालय जाने क्रममा तुइन तर्दा रवीन्द्र तुइनबाट खसेर त्रिशूलीमा परेका थिए । पौडी खेल्न जानेका कारण केही तल पुगेर पार लागे । भन्छन्, ‘के गर्नु यही थोत्रो तुइन नतरी सुख पनि छैन । झोलुंगे पुल खोज्दै जाँदा दुई घन्टाभन्दा बढी घुम्नुपर्छ ।’

त्रिशूलीवारि घर, पारि विद्यालय । घर–विद्यालय जोड्ने पुल छैन । घुमेर गए भन्डै एक घन्टा हिँडेपछि झोलुंगे पुल भेटिन्छ । विद्यालय पुग्न जम्मा दुई घन्टा लाग्छ । तर, धादिङको खरमटारका विद्यार्थी तुइनकै भरमा विद्यालय जान्छन् ।

तुइन तरिसकेपछि १० मिनेटमै विद्यालय पुगिन्छ । तर, तुइन जीर्ण भएका कारण दिनमा दुईपटक ज्यान धरापमा पर्ने गरेको छ । तुइन चलाउँदा चलाउँदै हात गलेर छोडिँदा नदीमा खस्नु, तुइनले आँैला च्यापिनु र किताब–कापी नदीले बगाउनु सामान्य भइसकेको छ । धन्न अहिलेसम्म त्यस्तो अनर्थ सोच्नुपरेको छैन खरमटारबासीले ।

नदी वारपार गर्नलाई सहज अवस्थामा पाँच मिनेट मात्र लाग्छ । अहिले तुइन पुरानो भएको र बीचमा धेरै झोलिएका कारण विद्यार्थीलाई झन्डै आधा घन्टा लाग्छ । गजुरी गाविस २ को चाम्बास र कुम्पुर गाविस ४ को खरमटार जोड्ने त्रिशूली नदीमाथिको तुइन जीर्ण भएको धेरै समय भइसक्यो । तुइनका लठ्ठा झोल्लिएर तुइन (कोर्के) लिएर वारपार गर्न नै समस्या हुने गरेको छ । वर्षाका वेला त तुइनको बाक्साले नदी छुने गरेको समेत स्थानीयले बताए । लठ्ठा खियाले खाइसकेको छ भने तुइनको बक्सा पनि पुरानो भइसकेको छ । ठाउँ–ठाउँमा वाइलिङ गरेर बल्लतल्ल अड्याइएको छ ।

खरमटारबाट दैनिक ६० देखि ७० विद्यार्थीले सो तुइन तर्दै आएका छन् । गाउँबाट नजिकमा रहेको विद्यालय भनेको गजुरीको आदर्श उमावि हो । स्थानीयबासीको बजारसम्म आउने माध्यम पनि सोही तुइन हो । रात–साँझ समस्या पर्दा पनि तुइन चढ्नुको विकल्प नभएको स्थानीय सरस्वती कोइरालाले बताइन् ।

मजुवा र चरौँदीबासी पनि जोखिममा
सलाङ ७ स्थित मजुवाबासीलाई पनि उस्तै समस्या छ । मजुवा र बेनीघाट गाविसको मालिंगास्थित पृथ्वी राजमार्ग जोड्ने कोर्के (परम्परागत तुइन) जीर्ण छ । मजुवाबासीले उत्पादन गर्ने कृषि उपजदेखि दैनिक अत्यावश्यक सामग्री कोर्केबाट वारपार गर्नुपर्छ । कोर्केका लठ्ठा खुस्किसकेका छन् । कतिवेला झर्ने हो टुंगो छैन ।

अझ कोर्केपारि रहेको समयमा त झन् समस्या हुने मजुवाकी बिमला सेढाईले बताइन । कोर्केपारि भएको समयमा घिर्नीमा नाम्लो बाँधेर बनाइएको एकप्रकारको अंकुसेबाट कोर्के भएको ठाउँसम्म पुग्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । मजुवामा धेरैले तरकारी खेती गरेका छन् । सो क्षेत्रमा उत्पादित तरकारी बजारसम्म पुर्‍याउने एक मात्र विकल्प भनेकै कोर्के हो ।

उता चरौंदी बजारमा रहेको तरकारी संकलन केन्द्रमा तरकारी संकलन गर्नका लागि गोरखाको घ्याल्चोक गाविसका विभिन्न क्षेत्रबाट तुइनबाटै तरकारी ल्याउने गरिन्छ । धेरै मात्रामा तरकारी खेती गरिने घ्याल्चोकको सिउरिनिटारलगायतका क्षेत्रका किसानले छिटो र छोटो दूरी पर्ने भएका कारण कष्टसँग तुइनबाटै तरकारी वारपार गराउँदै आएका छन् ।

तुइनले चुँडायो औँला
तुइन तर्ने क्रममा धेरैजनाको हात च्यापेर चुँडिएको छ । बिहान घरबाट निस्किएको मानिस बेलुका आउँदा तुइनले च्यापिएर घाइते भई फर्कने गरेको स्थानीयको गुनासो छ । तुइन तर्ने क्रममा घिर्नीले औँला चुँडाइदिएको चरौँदीका ६६ वर्षका तेजबहादुर लामिछानेले सुनाए । सोही स्थानका ६४ वर्षका युद्धबहादुर मगरको पनि हातको कान्छी औँला तुइनले चुँडाएको छ ।

नियमित विद्यालय जाने खरमटारका विद्यार्थीको हालत पनि उस्तै छ । विद्यार्थी सुदीक्षा नेपालको हात पनि तुइनले च्यापेको छ । अहिले पनि च्यापिएको हातले राम्रोसँग काम गर्न नहुने सुदीक्षाले बताइन् । आदर्श उच्च माध्यमिक विद्यालय गजुरीमा कक्षा ७ मा अध्ययनरत सुदीक्षा तुइन नतरी विकल्प नभएको बताउँछिन् ।

कति छन् तुइन ?
धादिङमा बुढीगण्डकी र त्रिशूली नदीका विभिन्न स्थानमा तुइन राखिएका छन् । कतिपय स्थानमा अहिले झोलुंगे पुल बनिसकेका छन् । तर, झोलुंगे पुल सबैको पहुँचमा छैन । झन्डै एक घन्टाको दूरीमा मात्र पुल भेट्न सकिन्छ ।

जिल्लाभर यति नै संख्यामा तुइन छन् भन्ने विवरण कुनै निकायसँग पनि छैन । त्रिशूली र बुढीगण्डकी नदीमा मात्र १५ देखि २० वटा तुइन अहिले पनि चालू रहेको जिविस धादिङका इन्जिनियर उद्धव खतिवडाले बताए । उनका अनुसार धादिङको बैरेनीको भुत्याहा (२८ किलो), पिडाको जरेखेत र बांगे, गजुरीको बिहानी पम्पनजिकै, बेनीघाटको मालिंगा तथा जोगिमारा र गोरखाको घ्याल्चोक गाविस जोड्ने गरी मौवा खोलानजिकै तुइन छन् । अन्य कहाँ छन् भन्ने रेकर्ड नभएको उनको भनाइ छ ।

तुइन प्रयोगकर्तामा अधिकांश किसान, विद्यार्थी र शिक्षक छन् । बैरेनी तथा जरेको तुइन र जोगिमाराको मौवाखोलानजिकैको तुइनबाट धेरै मात्रामा तरकारी ढुवानी हुने गरेको छ । स्थानीयबासीलाई दैनिक जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने तुइन प्रविधिको स्थानीयबासी आफैँले समय–समयमा मर्मत गर्ने गर्छन् ।

अधिकांश जीर्ण
खरमटारबाट दैनिक ६० देखि ७० जनासम्म विद्यार्थी र त्यत्तिकै मात्रामा स्थानीयबासी तुइन तर्न बाध्य छन् । दैनिक अत्यावश्यक खाद्य सामग्री बजारबाट घरसम्म पुर्‍याउन र उत्पादित कृषिउपज बजारसम्म पुर्‍याउन दिनहुँ तुइक तर्नुपर्ने स्थानीय किसानको बाध्यता छ ।

तुइन निर्माण भएको २० वर्ष हुन लागिसक्यो, लठ्ठा खियाले खाएको छ भने तुइनको बाकससमेत खस्ने अवस्थामा पुगिसकेको छ । तुइनको अवस्थाका विषयमा धेरैपटक सम्बन्धित निकायमा अवगत गराइसके पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको स्थानीय हरि नेपालले बताए । धेरैपटक गाविसमा कुरा राखिएको र पटक–पटक जिविसमा समेत ध्यानाकर्षण गराइसकिएको नेपालले बताए ।

कुम्पुर, खरमटारलगायत अन्य आसपासका गाउँसमेत गरी डेढ सय घरले सो जीर्ण तुइन तर्न बाध्य हुनुपरेको छ । तुइन भएको स्थानमा सर्वसाधारणले झोलुंगे पुलको माग गरेको भए पनि जिविसले केही स्थानमा मात्र निर्माण गर्न सकेको जिविसका इन्जिनियर खतिवडाले बताए । उनका अनुसार नुवाकोटको फोस्रेटार, दुईपीपल, धादिङको गल्छी, बैरेनी, स्यालटार, पाँचसय टार, सलाङको आरुवासटार, थोपलखोलाको नलाङको बैरेनी, सलाङको बुङचुङलगायत स्थानमा झोलुंगे पुल तथा पक्की पुल बनेको छ । अन्य स्थानमा पनि आवश्यकता हेरी पुल निर्माणको प्रक्रिया अगाडि बढाइने खतिवडाले बताए ।

पाँचजना अझै बेपत्ता
१३ असार ०६८ बिहान धादिङको बेनीघाट गाविस ८ र गोरखा घ्याल्चोक गाविस ९ जोड्ने चाइना घाटको तुइन चुँडियो । तुइनबाट तर्दै गरेका पाँचजना बेपत्ता भए, अन्य पाँचजना घाइते भए । त्रिशूलीको बीच भंगालोमा खसेका ११ वर्षका सुरज थापा पौडिएर बाँच्न सफल भए । अन्य पाँचजनाको केही पत्तो लागेन ।

सदाझैँ तरकारी संकलन केन्द्रमा तरकारी लैजाँदै गर्दा तुइन दुर्घटना भएको थियो । जितबहादुर गैरे, मीना श्रेष्ठ, रामकुमार श्रेष्ठ, रमेश रेग्मी, सुरज थापा, टंक खड्का, श्रीमती हीरा खड्का र मानबहादुर ठकुरी तुइनमा चढेका थिए । तरकारीका लागि आवश्यक मल लिन भन्दै अमृतनारायण श्रेष्ठ र बहिनीको घरमा आएका चितवन पिप्लेका छविलाल सिलवाल पनि तुइन चढे । जीर्ण अवस्थामा रहेको तुइन अँठ्याउन राखिएको काठको खाँबो चिरिएपछि तुइनमा रहेका सबै त्रिशूली नदीमा परे ।

असारको उर्लँदो त्रिशूलीको भेलले जितबहादुर गैरे, मीना श्रेष्ठ, अमृतनारायण श्रेष्ठ, रामकुमार श्रेष्ठ र छविलाल सिलवाललाई बेपत्ता पार्‍यो, अन्य भने बाँच्न सफल भए । सँगै त्रिशूली नदीमा परेमध्ये रमेश रेग्मी, टंक खड्का, उनकी श्रीमती हीरा खड्का र मानबहादुर ठकुरी तुइनको बाकसभित्रै घाइते अवस्थामा भेटिए । त्यतिवेला ११ वर्षका सुरज थापा धेरै तल पुगे पनि पौडी खेलेर पार लाग्न सफल भए ।

तुइन दुर्घटनाबाट बाँच्न सफल भएकाहरू अहिले सो घटनाको बारेमा व्यक्त गर्न सक्ने अवस्थामा छैनन् । सुरज पनि अहिले घटना सम्झिएर झस्कने गरेको बताउँछन् । स्थानीय विद्यालयमा उनी कक्षा ७ मा पढ्दै छन् । तर, अझै पनि उनलाई तुइन चढ्नुपर्ने बाध्यता छ ।

तुइन दुर्घटनामा पति छविलाल बेपत्ता भएपछि दुई सन्तानकी आमा माया सिलवाल अहिलेसम्म पनि छिन–छिनमा बेहोस हुन्छिन् । अहिले उनी माइती बस्दै आएकी छिन् । घटनामा परी बेपत्ता भएकाहरूका बालबालिकाको अवस्था दु:खदायी छ । आर्थिक अवस्था कमजोर भएका बेपत्ता परिवारका बालबालिकालाई स्थानीय संघसंस्था तथा क्लबले विभिन्न समयमा सहयोग गर्दै आएको भूमेस्थान युवा क्लब घ्याल्चोकका अध्यक्ष भूमि कँडेलले बताए । चाइनाघाटमा दुर्घटना भएको झन्डै एक वर्षपछि पक्की पुल बनेको छ ।

-सानुबाबु तिमिल्सिना / नयाँ पत्रिका दैनिकबाट