धादिङ महोत्सवको रौनक हात्तीले बढायो
1457 पटक पढिएको

धादिङ — सदरमुकाममा गत बुधबारदेखि सुरु भएको धादिङ महोत्सवमा हात्ती सफारीले रौनक थपेको छ । आयोजकले सौराहादेखि ‘पुनमकली’ नामको हात्तीलाई दैनिक ४० हजार भाडा तिरेर जिल्लामा पहिलोपटक ल्याएका हुन् ।


महोत्सव स्वरोजारका लागि युवालाई आकर्षित गर्ने, जिल्लाको पर्यटन प्रवर्द्धन, जडीबुटी उत्पादन, खनिजजन्य उत्पादनलाई प्रचारप्रसार एवं व्यवस्थित गर्ने उद्देश्यले साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला शाखाले आयोजना गरेको हो। ‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहाना’ भन्ने नाराको साथ गत बुधबारदेखि सुरु भएको धादिङ महोत्सव २७ गतेसम्म चल्नेछ।

महोत्सवमा करिव २ लाख सहभागी हुने र १० करोडको कारोबार गर्ने लक्ष्य राखेको आयोजक समितिका अध्यक्ष रामलाल श्रेष्ठले बताए। महोत्सवका २ सय २२ स्टलमा १ सय ८० स्टल व्यापारिक प्रयोजनको लागि राखिएको छ भने २० वटा स्टल जिल्लाका महत्वपूर्ण मौलिक उत्पादन तथा वस्तुहरुको प्रर्दशनीका लागि राखिएको छ। ‘व्यापारिक हिसाबले स्टल राख्ने स्थानीयहरुलाई छुटको व्यवस्था गरेका छौं।’ आयोजक समितिका अध्यक्ष श्रेष्ठले भने, ‘प्रदर्शनी मात्रै गरिने स्थानीय उत्पादनहरुको स्टललाई हामी निःशुल्क गरेका छौं।’

महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री, दूध तथा दूग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यवसायीहरुको विशेष स्टलहरु, हस्तकला प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइएको छ। आगामी आइतबार बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, नेपाल इन्डोनेसिया, इजरायल, इटली, मलेसिया, टर्की लगायतका देशहरुका कलाकारहरुको कला तथा संगीत प्रदर्शनी रहनेछ, महोत्सवमा राष्ट्रिय तथा स्थानीय नाम चलेका कलाकारहरुको संस्कृतिक प्रस्तुती देखाइने आयोजकले जनाएको कान्तिपुर डेलि डट कममा खबर छ ।



