विदेशबाट फर्केर गाउँमै व्यवसायिक किवी खेतीको शुरुवात

2735 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी – काम गर्ने जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बनेका छन धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानवजारका श्रीकृष्ण अधिकारी । त्यसो त अधिकारी पैसा कमाउन र सुखका जीवन बिताउने सपना बोकेर रोजगारीका लागि विदेश नगएका भने होइनन् ।
अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । २०५८ सालमा मलेसिया गएका अधिकारी चार बर्ष बसेर नेपाल फर्किएका हुन । घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले शुरु गरेको किवी खेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा १५ रोपनी जग्गा भाडामा लिएर अधिकारीले स्थानीय प्रेम तामाङको साथमा शुरु गरेको किवी खेतीले काउले गाउँको परिचयनै बदलिदिएको छ ।

व्यवसायिक रुपमा शुरु गरिएको किवी खेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् । पाँच बर्ष अघि २ सय ४० बोट बाट शुरु भएको किवी खेतीको उत्पादन शुरु भई बिक्री हुन थालेको पनि अहिले तीन बर्ष भईसकेको छ । किवी खेती संगै अग्र्यानिक तरकारी र फलफूल खेतीको पनि शुरुवात गर्न लागेको उनले वताए । बाँझो जमीनको सदुपयोग गरि शुरु गरिएको किवी खेतीले विस्तारै उत्पादन दिन थालेपछि अधिकारीले अब आलु, कोपी, टमाटर साग लगायतका तरकारी उत्पादन पनि शुरु गर्न लागेको वताए । यस्तै उनले एबोकाडा, अनार, जापनिज नास्पाती, किवी, कागती,सुन्तला, कफीलगायतको फलफूल समेतको सम्भावना अध्ययन भईरहेको जानकारी दिए ।

नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यवसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारी बताउँछन । समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ ।
धादिङ जिल्लाको विभिन्न गाउँमा किबी खेती हुंदै आईरहेको छ । यो यस्तो खेती हो जस्को फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा सजिलै संग बिक्री हुने किसानहरु बताउँछन् । धादिङ जिल्लामा सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबीको खेती गर्ने गरिएको किसानहरुको भनाई छ । व्यवसायिक रुपमा खेती खेतीको शुरुवात गरेपनि जिल्लामा बिशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको उनको भनाई छ । जिल्ला कृषि विकास कार्यालय जस्लाई अहिले कृषि ज्ञान केन्द्र भनिएको छ त्यहाँ एक जना पनि प्राविधिकलाई पनि किवी खेती सम्वन्धि ज्ञान नभएका कारण आंफैले युटुयुव, गुगल लगायतका सामाजिक सञ्जालमा खोजेर किवी खेतीको वारेमा ज्ञान लिने गरेको अधिकारी बताउँछन ।