आँखुखोला जलविद्युत साढे ४४ लाख रुपैयाँ नोक्सानीमा

699 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ– धादिङको  त्रिपुरासुन्दरी र नेत्रावती डवजङ गाउँपालिकाको सिमानामा रहेको आँखुखोला जलविद्युत कम्पनी नोक्सानीमा गएको छ । गत बर्षको असार मसान्तसम्ममा २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी यस बर्षको असार मसान्तमा भने ४४ लाख ६१ हजार रुपैयाँ नोक्सानीमा गएको हो।
आर्थिक वर्ष २०७९÷८० मा कम्पनीको विद्युत बिक्री आम्दानी १३.८० प्रतिशत घटेर १९ करोड २२ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । अघिल्लो आवमा भने बिजुली बेचेर कम्पनीले २२ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले आयोजनालाई पूर्ण क्षमतामा चलाउन रोक लगाउँदा विद्युत उत्पादन र बिक्री दुवै प्रभावित भएको कम्पनीले खावी गरेको छ । क्षमता अनुसार उत्पादन गर्न नपाएकोमा कम्पनीले क्षतीपूर्तिका लागि माग गरेको छ।
अघिल्लो बर्षमा भन्दा यो बर्ष उत्पादन र वितरणको ६१ लाख वृद्धि भएको कम्पनीले जनाएको । मेसिन बिग्रिएबापत बीमाबाट दाबी भुक्तानी लिएर अन्य स्रोतको आम्दानीमा भने कम्पनीले वृद्धि गरेको छ ।
८० करोड चुक्ता पुँजी रहेको आँखुखोलाको जगेडा २४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । यसबीच विद्युत नियमन आयोगले हालै कम्पनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।
गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६९६१ रुपैयाँ कायम भएको छ ।

कम्पनीले चुक्तापुँजीको १५० प्रतिशत अर्थात १ः१.५ हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइएको छ। कम्पनीको प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट स्वीकृत भएर वार्षिक साधारणसभाबाट समेत अनुमोदन भइसकेको छ।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त हुने गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ। यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

त्यसैरी हकप्रदबाट प्राप्त हुने बाँकी रकम कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।