यसरी बच्न सकिन्छ आँखा पाक्ने रोग बाट

216 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज /२०८० भदौ २ गते

केही दिन यता आँखा पाक्ने रोग देशैभरी फैलिएको छ , संक्रमण बढ्दै गएपछि कति पयि स्थानमा बिद्यालय वन्द गरिएका छन, मानिसहरुको भिडभाड हुने सरकारी कार्यालयले सावधानी अपनाएर मात्रै सेवा प्रवाहका लागि सार्वजनिक सूचना जारी गरिरहेका छन । सवारी साधनमा यात्रा गर्दा होस या बाटोमा हिंडिरहेका मान्छेहरुको आँखामा कालो चश्मा देखिनेक्रम बढ्दै गएको छ । आँखा पाक्ने रोगले यतिबेला धेरैलाई सताएको छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महसुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ । यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।

गर्मीमा बढी ब्याक्टेरिया वा थायोसाइसको असर बढी हुनुका साथै बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो ब्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिन्छ । तर, दैनिक क्रियाकलापमा अलिकति परिवर्तन ल्याइ सजग भएको खण्डमा मात्रै पनि यो समस्याबाट बच्न सकिन्छ ।

संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिने डर हुन्छ । आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो त्यसकारण पाकेको आँखा छुन हुँदैन । घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ तर सचेत बन्नुपर्ने कुरा के हो भने एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।

आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । आँखामा अनावश्यक रुपमा हात नलग्ने, पानी नछ्याप्ने, जथाभावी औषधिको प्रयोग नगर्ने र घरबाहिर जानुपरे कालो चस्माको प्रयोग गर्नु पर्दछ ।

एलर्जिक ब्याक्टेरिया र भाइरसका कारण यो रोग लाग्छ।आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो। यदि कसैको आँखा पाकेमा वा रातो भएमा सामान्य समस्या ठान्न नहुने स्वास्थ्यकर्मी बताउँछन्।

लक्षणहरू:

एक्कासि एउटा वा दुवै आँखा रातो हुने,
आँखा धेरै चिलाउने तथा टाँसिने,
आँखाबाट बारम्बार पानी बगिरहने,
कचेरा लाग्ने तथा टाँसिने,
आँसु बगिरहने,
आँखा सुन्निने,
घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देखिने।

आँखा पाकेपछि के गर्ने?

साबुनपानीले राम्ररी हात धुने,
आँखा सफा राख्ने,
आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्ने र त्यसपछि राम्ररी साबुनपानीले हात धुने,
फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा नपुछ्ने,
दिनदिनै लुगा र प्रयोग गरेको रुमाल फेर्ने,
आँखामा लगाउने शृङ्गार सामग्रीको प्रयोग बन्द गर्ने,
अरूका लुगा, रुमाल र शृङ्गारको उपकरण प्रयोग नगर्ने,
आफूखुशी औषधि प्रयोग नगर्ने र आँखा विशेषज्ञलाई देखाउने,
आँखा बेस्सरी नमिच्ने। यसो गर्दा कर्नियामा घाउ हुन सक्छ, कहिलेकाहीं आँखा पाक्ने मात्रै नभई अरू रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा हुन्छ।
संक्रमितसँग नसुत्ने, भीडभाड हुने ठाउँमा नजाने,
सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,
कालो चश्माको प्रयोग गर्ने,
स्कूल, कलेज लगायत भीडभाड हुने स्थानमा नजाने।

कसरी गर्ने घरमै हेरचाह?

यो रोग लागेमा घरमै पनि आँखाको स्याहार गर्न सकिन्छ। जसले गर्दा एक-दुई सातामै आफैं निको हुन्छ।

आँखा बरफले सेक्ने,
सफा पानीले सफा गर्ने,
घरमा बस्दा वा बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने,
संक्रमित आँखालाई छोएपछि राम्ररी हात धुने,
आँखालाई नचलाउने,
अरूले प्रयोग गरेका रुमाल–तौलिया प्रयोग नगर्ने,
आफूखुशी औषधिको प्रयोग नगर्ने,
गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जाने।