रुवीभ्यालीको मचेत गाउँमा स्याउ लटरम्म (फोटोफिचर)

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ न्यूज / ५ भदौ २०८०

रुवीभ्याली ( धादिङ) । धादिङ जिल्लाको हिमाली भेग रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १ मचेत गाउँमा लटरम्म स्याउ फल्न थालेको छ । चार बर्ष अघि मुस्ताङको मार्फाबाट ल्याईएको फुजी, गोल्डेन रेड डेलियसियस, क्रिस्पीन जातका स्याउहरु अहिले फल्न थालेको हो ।

रुवीभ्यालीको मचेत गाउँका लवरेन्स लामाले चार बर्ष अघि मुस्ताङको मार्फामा पुगेर स्याउ खेती सम्वन्धि आधारभूत जानकारी लिई २०७६ सालबाटै परीक्षणका रुपमा आफ्नो ६ रोपनी जग्गामा २ सय बोट बिरुवा रोपेर स्याउ खेती शुरु गर्नु भएको थियो । अहिले फलेको स्याउको गुणस्तर र वजार हेरेर आगामी दिनमा व्यवसायिक खेती बिस्तार गर्ने योजना रहेको लामाले वताउनुभयो ।विक्रिका लागि तयारी अवस्थामा रहेको लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ । गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाईदिन किसान तामाङको  सरकारसँग माग छ ।

अहिले फल दिएको स्याउको स्वाद मुस्ताङकै जस्तो भएको लामा बताउनुहुन्छ  । रुवीभ्यालीको तिप्लिङ गणेश र पाविल हिमालको फेदीको बस्ती हो ।

रुवीभ्यालीको तिप्लिङ लिङ्जो, लापाको नेवेर लगायतका स्थानमा धेरै बर्ष पहिले नै स्याउ फल्ने गरेको भएपनि व्यवसायिक रुपमा शुरुवात गर्नेमा लवरेन्सको परिवारनै पहिलो रहेको रुवीभ्याली गाउँपालिका वडा नम्बर २ पूर्व वडा अध्यक्ष पेम्वा घले वताउनुहुन्छ । रुवीभ्याली हिमाली बस्ती भएको र यहाँको जमीनमा स्याउ खेती गर्न सकिने माटो परीक्षणबाट पुष्टि भएकाले यो क्षेत्रमा व्यवसायिक स्याउ खेतीको सम्भावना रहेको घलेको भनाई छ ।

रुवीभ्यालीको तिप्लिङ आलु, भेंडा र चौरीको उत्पादनका लागि प्रख्याती कमाएको ठाउँ हो । अहिले पनि यहाँ गाँउका सवैको वारीमा मुख्य वालीका रुपमा आलु खेती गरिएपनि सहज सडक सुविधा नहुँदा यहांका किसानले आलु वजारसम्म पु¥याउन भने कठिनाई भोग्दै आईरहेका छन् । आलु खेती बजार पु¥याउन नसकेर समस्या भोगिरहेका किसानहरुलाई स्याउ खेतीले पनि उस्तै समस्या भोग्ने हो कि भन्ने चिन्ता रहेको छ ।स्याउ विक्रिका लागि बजार सम्म ल्याउन भने समस्या भएको छ । गाउँपालिकाले स्थानिय स्तरमा उत्पादित वस्तुहरुको प्रर्वद्धनको लागि सहजीकरण गरिदिए उत्पादन बिक्री वितरणमा सजिलो हुने कृषक गणेश लामाको बुझाई छ ।
गाउँपालिकाले सडक मर्मत सम्भार गरि बाह्रै महिना सवारी चल्ने वातावरण बनाईदिए स्याउ सँगै उत्तरी धादिङमा उत्पादित कृषि तथा पशुजन्य बस्तु विक्री वितरणको लागि सहज हुने लामा बताउनुहुन्छ ।

अहिले सदरमुकाम धादिङबेसीबाट साङकोष,कटुन्जे,चरङ्गे,किन्ताङफेदी, दार्खा, झार्लाङ, बोराङ हुंदै तिप्लिङ नजिकै सडक सञ्जाल जोडिएपनि मोटर सहजै गुड्न सकेको छैन ।

स्याउ फलेको गाउँ मचेत धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ ।हिउँदमा मोटरयात्राका लागि केही सजिलो भएपनि बर्षामा भने समस्या हुने गरेको गाउँबासी वताउँछन ।

 स्याउवारीमा गएरै खरिद गर्न चाहनेलाई प्रति किलो रु.१५० र स्याउबारीको अवलोकन गरी तस्बिर, भिडियो खिच्न र स्याउ खान चाहनेलाई भने प्रति व्यक्ति रु २०० मात्रै शुल्क तोकिएको छ ।इच्छुक व्यक्तिले लवरेन्स लामा ९८६९०१८७३६ र गणेश लामा ९८४१११७५३२ मा सम्पर्क गर्न सक्ने छन ।

हिमालीे हावा पानीमा फलेको स्याउ बजारीकरणका लागि सहयोग गर्न जिल्ला सहकारी संघ धादिङद्धारा सञ्चालित सहकारी कृषि वजारले चासो देखाएको छ ।अहिले विदेशबाट ल्याएको स्याउ वजारभरी पाईने गर्दछ । तर जिल्ला भित्रै उत्पादित स्याउलाई वजारीकरण गर्न सके जिल्लाको आर्थिक क्षेत्र वलियो हुने जिल्ला सहकारी संघका सदस्यहरु बताउँछन ।

रुवीभ्यालीको गाउँबस्ती सम्म सडक सञ्जाल पुगेर १२ महिनानै मोटर चल्न सके मचेतको स्याउ संँगै त्यस क्षेत्रका अन्य कृषि तथा पशुजन्य उत्पादन वजार सम्म ल्याएर बिक्री गरी समुदायको आर्थिक स्तर उकास्न सकिने पेम्वा घले बताउनुहुन्छ ।