बूढीगण्डकीमा बन्ने भो ३४१ मेगावाट अर्धजलाशय आयोजना

406 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

सोमबार, भदौ ११, २०८०

काठमाडौं । बूढीगण्डकीमा अर्धजलाशय जलविद्युत आयोजना मार्फत ३४१ मेगावाट बिद्युत्त उत्पादन हुने गरी काम थाल्न टाइम्स इनर्जी प्रालिले अनुमति पाउने भएको छ ।

टाइम्सले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिन जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालय संग प्रकृया अघि बढाएको छ । कम्पनीले आयोजनाको बिस्तृत अध्ययन सम्पन्न गरेर विद्युत उत्पादन लाइसेन्स मागेपछि मन्त्रालयले अनुमतिको प्रक्रिया अघि बढाएको हो।

आयोजनाबाट आउँदो २०८५ देखि विद्युत उत्पादन प्रस्ताव गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) र लगानी व्यवस्थापनको काम को सम्झौता गर्न दुवै पक्ष सहमत देखिएका छन् ।

अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको डिजाइन बहाब १ सय घनमिटर प्रतिसेकेन्ड छ । कूल हेड ३ सय ९८ मिटर रहने टाइम्सले जनाएको छ।
सुक्खायाममा पनि आयोजना दैनिक ५ घन्टा पूर्णक्षमतामा सञ्चालन गर्न सकिने र दैनिक ५ घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको वताईएको छ ।

आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। बूढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ मुख्य संरचनाबाट भूमिगत सुरुङमा लगिने छ । । टाइम्स इनर्जी २०६७ मा स्थापना भएको जल बिद्युत्त कम्पनी हो ।

बिजुली उत्पादनका लागि बनाइने बाँधको लम्बाइ ५४ मिटर हुनेछ। बाँधमा १७ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ। बाँधको उचाइ ३८ मिटर हुनेछ।

विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ। आयोजनाबाट उत्पादन हुने बिजुली २ सय २० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हनेछ । यो सबस्टेसन (मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी) ले बनाउन लागेको हो।

कम्पनीले गरेको वातावरणीय प्रभाव मूल्यांकनअनुसार जीवजन्तु र जलचरका लागि नदीमा पानी छाड्ने प्रस्ताव गरिएको छ । आयोजना गण्डकी प्रदेश गोरखा जिल्ला चुमनब्री र धार्चे गाउँपालिकामा पर्छ ।

  • क्यापिटल नेपालबाट