कोशीमा उद्धव थापा पदमुक्त, ४८ घण्टा भित्र हिक्मत कार्कीलाई मु्ख्यमन्त्री नियुक्त गर्न परमादेश

236 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
२०८० भदौ २१ गते

कठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गरेको छ । सर्वोच्चले थापालाई पदमुक्त हुने आदेश संगै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टा भित्र मुख्य मन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ ।

थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएको ठहर गरेको हो । सर्वोच्चको ठहर संगै मुख्यमन्त्रीबाट थापा पदमुक्त भएका हुन ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा। कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले थापाले भदौ ४ गते लिएको विश्वसाको मतलाई बदर गरेको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

धारा १६८ उपधारा २ बमोजिम थापाले लिएको विश्वासको मत असंवैधानिक भएकाले उपधारा ३ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले भनेको हो । संविधानले नै मार्ग निर्देशन गरेको अवस्थामा फेरि उपधारा २ मा जान नमिल्ने भएको अदालतको फैसलामा उल्लेख छ ।

यदि कार्कीले एक महिनाभित्र विश्वासको मत लिन नसके उपधारा ५ बमोजिम बहुमत सदस्यको समर्थन प्राप्त व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने अदालतको फैसलामा उल्लेख छ । अदालतले आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नयाँ सरकार गठन गर्न परमादेश जारी भएको हो ।