नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा तालाबन्दी सदस्यता सिफारिशमा महासंघको हेपाहा निर्णय, जिल्लाको सिफारिस वेगर मनोमानी सदस्य थप्दै

213 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा । श्रमजिवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको कार्यालयमा शनिवार तालावन्दी गरेको छ । पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नेपाल पत्रकार महासंघको पुराना सदस्य र नयाँ सिफारिस भएका सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विवादास्पद निर्णयका बिरुद्ध महासंघ प्रदेश कार्यालयमा तालावन्दी गरेको हो ।

प्रेस चौतारी बागमती प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा गएको टोलीले महासंघको हेटौंडा स्थित कार्यालयमा अनिश्चित कालका लागि तालावन्दी गरेको हो ।

महासंघमा नेतृत्वमा रहनेहरु र पदाधिकारीहरुले आफ्नो संगठन निकट निष्कृय पत्रकारहरुका साथै राजनैतिक दलका जिल्ला तहका नेता सरकारी कर्मचारी, शिक्षकहरुको को सदस्यता नवीकरण गरेर प्र्रेस चौतारीमा आस्था राख्ने क्रियाशिल पत्रकारहरुको सदस्यता नवीकरण नगरि केन्द्रलाई सिफारिश गरेको सदस्यताको सूची सार्वजनिक भएपछि प्रेस चौतारीले महासंघको उक्त विवादास्पद निर्णयको विरोध जनाएको हो । धादिङ लगायतका जिल्लामा जिल्लाबाट सिफारिस नगरिएका व्यक्तिको नाम प्रदेशले आफुँखुसी समावेश गरि केन्द्रमा सिफारिस गर्दै क्रियाशिल पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय राखेको प्रेस चौतारीले ठहर गरेको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरुसँग बसेर गरेको सहमति लत्याएको छ । चौतारीसंग गरेको सहमतिको प्रयास गरिएको प्रपञ्च रचेर आफ्नो मनोगत निर्णय कार्यान्वयन गराउन सिफारिस गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसको घोर बिरोध रहेको कार्यबाहक अध्यक्ष खतिवडाले बताउनुभयो ।

जिल्ला समितिबाट सर्वसम्मत सहमति भई सदस्यता नवीकरण गर्न सिफारीस गरिएका पत्रकारहरुको नामावली काटेर जिल्लाबाट सिफारिस नभएकाहरुको नाम प्रदेश समितिबाट थप्ने कार्य भएको छ । केन्द्रीय समितिबाट जारी भएको मापदण्डलाई धुलीसात बनाउँदै प्रदेश समितिले मनोगत रुपमा गरेको सिफारिस कार्यान्वयन नगर्न चौतारीले केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।

प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने र सदस्यता नवीकरण नगर्ने महासंघ प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्कृय पत्रकारहरुको नवीकरण पनि गर्नेगरी रचिएको षडयन्त्र प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीलाई कुनै हालतमा स्वीकार्य नभएको तालावन्दी पछी जारी बिज्ञप्तीमा उल्लेख छ । महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने प्रेसचौतारीले जनाएको छ ।