कभर फोटो

यूएईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका भुवन नेपाल आईपुगे, धादिङ नेत्रावतीका पहलमान अझै थुनामा

By Dhading News

July 26, 2024

केशव अधिकारी धादिङ, ११ साउन २०८१ । बैदेशिक रोजगारीका लागि संयुक्त अरब एमिरेट्स (यूएई) मा पुगेको केही समय पछि आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ परि अदालतबाट मृत्युदण्ड सजायँ सुनाइएका दुई नेपाली युवाले मृत्युदण्डबाट मुक्ति पाएका छन् ।

धादिङको नेत्रावती डवजोङ वडा नम्बर ४ का पहलमान थापा मगर र ओखलढुंगा चिसङ्खुगढीका भुवन श्रेष्ठले मृत्युदण्ड नपाउने खबरले परिवारजनमा मात्रै होइन धेरैको मुहारमा खुसी छाएको छ । उनीहरुबाट हत्या गरिएका भनिएका पीडित परिवारलाई यूएईको अदालतले तोकेअनुसार ब्लडमनी बुझाएर मगर र श्रेष्ठको मृत्युदण्ड खारेज भएको हो ।

यूएईमा रहेका नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगर, ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरबीच २०७६ जेठ २० गते भएको झगडामा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरेको आरोप छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाबुरामको मृत्यु भएको थियो।

श्रीमानको मृत्यु हुँदा उनकी पत्नी नरिमा पनि यूएईमै थिइन्। पत्नी नरिमा आले मगरले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले भुवन र पहलमानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेपछि त्यहाँको अदालतले दोषी ठहर गरेर पाँच बर्ष देखि यूएई सारजाहाको सेन्टर जेलमा आजिवन कारावासको सजायँ तोकेर राखिएका थिए ।

युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई प्रस्ताव राखेको थियो । पहलमान र भुवनका परिवारको निरन्तर आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरेपछि उनिहरुको मृत्युदण्ड सजायँ रोकिन पुगेको हो । दुवै परिवारले सहयोग जुटाएर पीडित परिवारलाई गत चैतमा दुई परिवारले तीन लाख युएई दिराम अर्थात एक करोड ८ लाख नेपालीरुपैयाँ बुझाएका थिए। मृतकका परिवारले व्लडमनि बुझेपछि  मृत्युदण्ड सजायँबाट उन्मुक्ती पाएर दुवै जना जेलमुक्त हुनेभएका हुन ।

यूएईको तल्लो अदालतको फैसलाविरुद्ध उनीहरूले अपिल कोर्टमा निवेदन गरेका थिए। माथिल्लो अदालतमा मुद्दा विचाराधीन भइरहँदा नेपालमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच हत्यामा संलग्न दुई परिवारका तर्फबाट मृतक बाबुरामका परिवारलाई ३ लाख यूएई दिराम अभियुक्त दुई परिवारका तर्फबाट बुझाउने सहमति भएपछि उनिहरुको सजायँ रोकिएको हो ।

यूएईको कानुनमा हत्या गरेबापत पीडित परिवारले पैसा स्वीकार गरेमा त्यो पैसा तिरेर अभियोग फिर्ता लिन सकिने व्यवस्था छ। उनीहरूको बीचमा २०७९ वैशाख १६ गतेको सहमति अनुसार दुई परिवारले मृतककी पत्नी नरिमालाई २१ लाख बढी रकम तत्कालै बुझाएका थिए ।

सहमति भएकै दिन पहलमानको तर्फबाट बुबा एकबहादुरले ५० हजार यूएई दिराम बराबरको नेपाली रुपैयाँ १६ लाख ६२ हजार ५ सय रुपैयाँ बुझाएका थिए । भुवनको तर्फबाट दाइ खेमराज श्रेष्ठले ३ लाख रुपैयाँ त्यसै दिन बुझाए। ५० हजार दिराममध्ये बाँकी १३ लाख ६२ हजार ५ सय रुपैयाँ दुई महिनाभित्रमा बुझाउने सहमति भएको थियो। तर तोकिएको समयमा उनीहरुले रकम जुटाउन सकेनन् । त्यसपछि ओखलढुंगाका भुवन र धादिङका पहलमान बचाउ अभियान सुरु भएको थियो। सोही अभियानबाट आवश्यक रकम जुटेपछि दुवै जना नेपाल फर्किन सम्भव भएको हो ।

यूएईको कानुन अनुसार मृतकका परिवारलाई ब्लडमनी बुझाइसकेपछि मुद्दा फिर्ता हुन्छ। उनीहरूको सहमति अनुसार नेपालमै रकम लेनदेन भयो। कन्सुलर सेवा विभागको रोहबरमा गरिएको लेनदेन काठमाडौँस्थित यूएई दूतावासले प्रमाणीकरण गरेर अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता भएको हो।

ओखलढुंगाका भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा उत्रिएपनि पहलमान अहिले पनि थुनामुक्त भइसकेका छैनन् । उनको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर केही दिनमै नेपाल फर्काइदिने तयारी गरेको पहलमानका मामा तेज आले मगरले बताए।

यसरी जुटाईएको थियो व्लडमनी तिर्नका लागि रकम