पाँच बर्ष देखि दुवईको जेलमा रहेका धादिङ नेत्रावतीका पहलमानलाई छुटाउन सहयोगको अपिल पाँच बर्ष देखि पहलमान संगै ओखलढुंगाका भुवन पनि जेलमा,दुई नेपालीलाई छुटाउन नेपाली एक करोड व्लडमनी तिर्नुपर्ने

345 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ, १९ फागुन । धादिङको नेत्रावती डवजोङ गाउँपालिका–४ तमै गाउँ निवासी  पहलमान थापामगरलाई छुटाउन आर्थिक सहयोग गरिदिन उनका परिवारले अपिल गरेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका थापा मगर ५ वर्षदेखि युएईको सारजाहा सेन्ट्रल जेलमा आजिवन कारावासको सजाय भोगिरहेका छन् ।

नेपाली साथीको हत्या अभियोगमा पाँच वर्षदेखि यूएई (दुवई)को जेलमा परेका धादिङको नेत्रावती डवजोङ गाउँपालिका –४ का पहलमान थापा मगरलाई छुटाउनका लागि आवश्यक ‘ब्लडमनी’ जुटाउन आर्थिक सहयोगका लागि पहलमानको परिवारले आग्रह गरेको हो । नेपालीकै हत्यामा संलग्न रहेको भन्दै जेल सजाय सुनाइएका उनीसहितका २ नेपालीलाई स्वदेश फर्काउन ५०/५० लाख ब्लड मनीमा समझदारी भए पनि रकम जोहो गर्न नसकेको पहलमानकी आमा पदमकुमारी मगरले धादिङ न्यूजलाई बताउनुभयो ।

नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिका–११ का बाबुराम आलेमगरको हत्या अभियोगमा धादिङ नेत्रावती डवजोङ गाउँपालिका–४ का पहलमान थापामगर र ओखलढुंगा चिसंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ पाँच बर्ष देखि यूएई सारजाहाको सेन्टर जेलमा आजिवन कारावासको सजायँ तोकेर राखिएका छन् ।

सन् २०१९ जुन ३ तारिख अर्थात २०७६ जेठ २० गते का दिन एउटै कोठामा बस्ने नवलपरासीका आलेमगरको मृत्यु भएपछि उनको हत्या अभियोगमा थापा मगर र श्रेष्ठलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिई अदालत बुझाएकोमा अदालतले दोषी ठहर गर्दै आजीवन कारावासमा राखिएको छ । धादिङका पहलमान मगर, ओखलढुंगाका भुवन श्रेष्ठ र नवलपुर मध्यविन्दुका बाबुराम आलेमगर दुबईमा सँगै बस्थे ।

यूएईको प्रचलित कानुन बमोजिम मृतक परिवारलाई ब्लडमनी तिरेर अभियोग फिर्ता लिने व्यवस्था भए अनुसार थापामगर र श्रेष्ठको परिवारले २०७९ बैसाख १६ गते मृतकको श्रीमती नरिमा आलेसँग यूएईको अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन लागुहुने शर्त सहित करारनामाको कागज गरेका थिए । थापामगर र श्रेष्ठ परिवारले मृतक आलेमगर परिवारलाई ५०/५० लाख (९३ लाख दिराम) दिने र मृतक परिवारले अभियोग फिर्ता लिने लिखित सम्झौता भएको थियो ।

दुबईमा मृत्यु भएका बाबुरामकी श्रीमती नरिमा मगर पनि घटना हुँदा दुबईमा नै थिइन । उनकै जाहेरीका आधारमा पहलमान र भुवनलाई त्यहाँको अदालतले फैसला सुनाएको हो । श्रीमानको हत्या भएपछि नरिमा नेपाल फर्कीएकी थिइन् । नेपाल फर्र्कीएकी नरिममासँग भुवन र पहलमानका परिवारले ब्लड मनिका रुपमा १ करोड रुपैयाँ दिने सहमती गरेको थिए । ‘मृतक बाबुरामको परिवारलाई दुबै परिवारले ५०/५० लाख नगद दिएर कारागारमा रहेका मगर र श्रेष्ठलाई रिहा गर्ने सहमती भएको थियो, ओखलढुंगाका भुवन श्रेष्ठका बुबा यमबहादुर श्रेष्ठले भने,‘पीडित र पीडक दुबै नेपाली भएको र नेपालमै रकम दिने सहमति भएको कागज युएईको उच्च अदालतमा पेश गरेपछि भने उच्च अदालतले ब्लड मनी दिने प्रक्रिया पुरा गरे रिहा हुने फैसला गरेको हो ।

करारनामाको दिन थापामगर परिवारले मृतक परिवारलाई १६ लाख ६२ हजार ५०० र श्रेष्ठ परिवारले ३ लाख दिएका थिए । बाँकी रकम दुई महिनाभित्र तिर्ने कागज गरिएको थियो । त्यसबीचमा श्रेष्ठ परिवारले थप २ लाख पठाइदिएपनि मगर परिवारले आर्थिक अभावका कारण शर्त अनुसारको रकम दिन नसकेको जनाएको छ ।

दुई पक्षको करारनामापछि जेलमा रहेका थापामगर र श्रेष्ठलाई जेलबाट छुटाउनका लागि आवश्यक ब्लडमनी जुटाउन अभियान थालिएको भएपनि पहलमानको पक्षमा अभियान शशक्त हुन नसक्दा  शर्त अनुसार आफन्तले निर्धारित समयमा सहयोग जुटाउने लक्ष्य पूरा गर्न सकेका छैनन् ।

ओखलढुंगाका श्रेष्ठका लागि गत फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म ब्लडमनी जुटाउने अभियान सञ्चालन गरिएको थियो । यसबीचमा करिब ५५ लाख संकलन भएपछि अभियान बन्द गरिएको श्रेष्ठका आफन्त एबं ओखढुंगाका कृयाशिल पत्रकार शिबप्रसाद ढुंगानाले धादिङ न्यूजलाई बताउनु भयो ।

‘‘भुवनको ब्लडमनीका लागि फागुन १२ गतेभन्दा अघि ९ लाख बढी सहयोग संकलन भईसकेको रहेछ, त्यसमा थप गरेर ५५ लाख पु¥याएका छौँ । ब्लडमनीका लागि चाहिने पैसा उठेपछि अभियान बन्द गरिसकेका छौँ,’’ ढुंगानाले भन्नु भयो । ‘‘अव धादिङका पहलमानको लागि पनि तत्काल ब्लडमनी जुटाउनका लागि अभियान संचालन गर्नुपर्ने ढुंगानाको आग्रह छ ।

व्लडमनीको लागि आवश्यक रकम जुटाउने उद्धेश्यले ऐच्छिकरुपमा सहयोग गर्न ओखढुंगाको चिशंखुगढी गाउँपालिकाले २०७९ जेठ १० गते श्रेष्ठ परिवारलाई सिफारिस दिएको थियो । यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय ववरमहलले श्रेष्ठलाई उद्धार गरी नेपाल पठाउन पहल गर्न युएईस्थित नेपाली दुतावासलाई २०७९ फागुन ८ गते पत्राचार गरेको थियो । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले पनि २०८०/११/१८ गते एक बहादुर थापा मगरको आर्थिक अवस्था निकै कमजोर रहेको र उनका एक मात्र छोरा ५ बर्ष देखि युएईको सारजाहा सेन्ट्रल जेलमा आजिवन कारावासको सजाय भोगिरहेकाले त्यहाँबाट निकाल्न आवश्यक पर्ने रकम जुटाउन आर्थिक सहयोगका लागि सबैलाई आग्रह गर्दै पत्र जारी गरेको छ ।

ओखलढुंगाका भुवनको जस्तै प्रकृतिको सिफारिश र अभियान संचालन गर्ने हो भने धादिङका पहलमानको पक्षमा पनि आवश्यक सहयोग जुट्न सक्ने ओखलढुंगाका पत्रकार ढुंगानाको सुझाव छ ।

पहलमानलाई जेलबाट छुटाएर नेपाल ल्याउन उनका परिवारका सदस्यहरु ऋण, धन र चन्दा संकलनमा जुटेपनि आवश्यक रकम संकलन हुन सकिरहेको छैन । आफ्नो जाय ज्यथा र सबै सम्पत्ति बिक्री गर्दा समेत रकम जोहो गर्न नसकिने अबस्थामा रहेको मगर परिवारले सहयोगका लागि सबैसंग अपिल गरेका छन् ।
धादिङ जिल्ला नेत्रावती डबजोङ –४ का पहलमान मगरको उद्वारको लागि आफ्नो स्थानबाट सकेको सहयोग गरिदिनुहुन तपाईंहरु सम्पुर्णमा हार्दिक अपिल गर्दछौ । पहलमानको उद्वार गर्न आवश्यक रकम सहयोग गर्न इच्छुक व्यक्तिले उनका बुबा एक वहादुर थापा मगरको नाममा राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर
छज्ञठण्ज्ञण्ण्ण्ण्ण्द्धटटण्ज्ञण् मा रकम पठाउन सक्नेछन् । खातामा संकलन भएको रकमका बारेमा विस्तृत जानकारी उपलब्ध गराँउदै जाने परिवारले जनाएको छ ।

सहयोग अभियानलाई सार्थक बनाउने तेज मगर, सुनिल श्रेष्ठ र पहलमानकी बहिनी लक्ष्मी मगर लगायतले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि अपिल गरेका छन् ।