बेल्जियमको स्थानीय निर्वाचनमा धादिङ मलेखुका रमेश कँडेलको उम्मेदवारी

260 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज सम्वाददाता

शुक्रवार २८ भदौ २०८१ ।

बेल्जियम । बेल्जियममा आगामी अक्टोबर १३ मा हुने स्थानीय निकायको निर्वाचनमा ब्रुज नगरपालिकाको पालिका सदस्यमा  धादिङको मलेखुमा जन्मिएका रमेश कँडेलले उम्मेदवारी दिने भएका छन् । कँडेललाई गत जुन १५ मा भोराउत पार्टिद्धारा ब्रुजमा आयोजना गरिएको उम्मेदवारी घोषणा सभामा पालिका सदस्यको १५ औं नम्वरमा राखेपछि उनको उम्मेदवारी निश्चित भएको हो ।

भोराउत पार्टी प्रवासी नेपालीहरुबीच लोकप्रिय पार्टीको रुपमा मानिन्छ । राजनीतिक, सामाजिक र आर्थिक सम्बृद्धिको दर्शनवाट प्रेरित उक्त पार्टी लोकतान्त्रिक समाजबादी पार्टी हो ।

को हुन कँडेल ?

पिता कमलराज कँडेल र माता एकमाया कँडेलका प्रथम सुपुत्रका रुपमा धादिङ, मलेखुमा जन्मिएका कँडेल पिताले अंगालेको शिक्षण पेशा र समाज सेवावाट प्रभावित भएर १३ बर्षकै कलिलो उमेर देखि सामाजिक सेवामा होमिएका थिए ।

सानैदेखि मिलनसार कँडेलले गाँउबस्तीमा रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट संगठित गरी बेलाबेला खेलकुद तथा अन्य कार्यक्रमहरु आयोजना सोच अनुरुप उनीहरुले मलेखुमा जनहित युवा क्लबको स्थापना गरे । यो क्लबले बेलाबेला भलिबल प्रतियोगिता लगायत अन्य खेलकुद कार्यक्रमहरु आयोजना गरी समुदायमा आफ्नो दर्विलो उपस्थिती देखायो ।

त्यतिमात्र हैन उनीहरुले विद्यालय नजिकै जीर्ण अवस्थामा रहेको पुस्ताकालयको व्यवस्थापन र पुस्तकहरुको जोहोका लागि काठमाण्डौंसम्म धाएर व्यक्ति व्यक्तिबाट पुस्तकहरु पनि संकलन गरे ।

गाउँका केहि अग्रज युवाहरुको संगतले राजनितीक रुपमा पनि उनी क्रमशः दिक्षित हुने अवसर पाए । युवा अवस्थामै उनी कम्यूनिष्ट बिचारधाराबाट प्रभावित भई कम्यूनिष्ट पथमा हिडे । पछि पढाई र कामको शिलशिलामा काठमाण्डौ हानिए ।

उनको यात्रा यतिमै सिमित भएन । उनमा बिदेश जाने, दुखसुख गर्ने, अनि आर्थिक रुपले सबल भइसकेपछि नेपालमै फर्केर समाज सेवा र राजनितीलाई संगसंगै अगाडि बढाउने रहर उम्रियो । उनी बिदेश हानिए ।

बाल्यकाल देखि नै मन भित्र सुशुप्त अवस्थामा रहेको समाजसेवी भावनालाई कँडेलले बेल्जियममा पनि पस्किए । कामको शिलशिलामा २५ बर्ष पहिले बेल्जियममा बरालिएका कँडेलकोे कुनै बेला आधा दर्जन भन्दा बढि सामाजिक संघसंस्थाहरुमा आवद्धता र सक्रियता थियो ।

बेल्जियम बसाईको २ बर्ष नबित्दै कँडेल लगायत अन्य नेपालीले सन् २००१ मा हिमाालय सोसाइटी नामक संस्थाको खोले । कँडेल यसको संस्थापक उपाध्यक्ष भए । उनीहरुले सिन्त्रोदिनमा यो संस्था खोल्दा थुप्रै नेपालीहरु आईसकेका थिए । प्रायः जसोको कागज थिएन । परदेशको बसाईमा चाँडवाँडको समयमा घर–आँगन र आफन्तको सम्झना आउनु स्वभाविक थियो । यस्तो अवस्थामा सबै नेपालीहरुलाई एउटै छानामुनी राखेर सामुहिक रुपले दशै मनाउने र खानपिन गर्ने चलन उनीहरुले चलाए ।

त्यस्तै कँडेलले २००२ मा “संगालो” नामक नेपाली भाषामा पत्रिका प्रकाशन गरे । सम्भवतः त्यतिबेला नेपाली भाषामा प्रकाशन हुने यो बेल्जियमको पहिलो पत्रिका हुनुपर्दछ । कँडेलले २००८ सम्म सो पत्रिकामा प्रधान सम्पादकको रुपमा काम गरे ।

कला र साहित्यमा रुची राख्ने कँडेल सन् २००६ देखि २००८ सम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संस्थापक महासचिब पनि भए । त्यो समयमा उनीहरुले बेल्जियमबाट साहित्यिक पत्रिका प्रकाशन गरे । त्यसमा पनि उनी सम्पादक भए ।

त्यसपछि उनको बसाई ब्रुज क्षेत्रमा भयो । सन् २०१४ देखि ०१६ हाम्रो क्लव ब्रुजको अध्यक्ष बने । उनकै अग्रसरतामा बेल्जियमको नेपाली समुदायमा युवाहरुका लागि पहिलो पटक स्नुकर प्रतियोगिताको आयोजना गरियो । यो कार्यक्रमको प्रमुख उदेश्य खेलकुद भएता पनि बेल्जियममा रहेका बालकालिकाहरुलाई एक आपसमा घुलमिल गराउनु रहेको कँडेल बताउँछन् । यतिमात्र हैन उनकै अग्रसरतामा बु्रजमा मिनी फुटवल र बास्केटबल प्रशिक्षणका लागि हल भाडामा लिएर खेलको प्रवर्धनमा सहयोग गर्दै मिनी फुटवल प्रतियोगिता समेत आयोजना गरे ।

पछिल्लो समयमा उनी गैरआवासीय नेपाली संघ बेल्जियमको संस्थापक सदस्य हुँदै २०१९–२०२१ का लागि महासचिब पदमा निर्वाचित भएका थिए। यो अवधिमा पनि कँडेल प्रवासी नेपालीहरुलाई एकत्रित गर्न क्रियाशील रहे । एनआरएनए बेल्जियमको इतिहासमा बार्षिक कार्ययोजना गराउने, संघ भित्र भएका निर्णयहरुहरुलाई पारदर्शी रुपले सामाजिक संजालमा सार्वजनिक गर्ने लगायत “बेल्जियम दर्पण” नामक स्मारिका प्रकाशन मण्डलको सम्पादक भएर अहम् भूमिका निर्वाह गरे । यसका अलावा कँडेल पछिल्लो समयमा कँडेल अन्र्तराष्ट्रीय कलाकार समाज (इनास)को सल्लाहकार भएर बेल्जियममा नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा प्रवर्धनका लागि निरन्तर लागि रहेका छन् ।

समाजसेवामा उनको यात्रा यतिमात्र हैन ०७२ को महाभूकम्पले नेपालमा धनजनको ठुलो क्षति गरेको अवस्थामा “नेपालको कामना गरौ” भन्ने अभियान संचालन गरी भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग संकलन गरी एभरेष्ट सोसाईटीको माध्यमबाट धादिङको विद्यालय निर्माणका लागि सहयोग गरे भने सोहि समयमा देवघाट र पशुपति क्षेत्रमा बस्ने बुढाबुढीहरुलाई निशुल्क कम्बल वितरण गरे ।

कोरोना कहरका बेला ब्रुजमा रहेका प्रायः नेपालीहरुको घरघरमा गएर मास्क समेत वितरण गरेर उनले समाजसेवा प्रति आफ्नो समर्पणलाई प्रस्तुत समेत गरे ।

प्रष्टबक्ता, सहयोगी भावना, मनका धनी उनले आवश्यकता अनुसार नेपाल र नेपालीका लागि आर्थिक भौतिक र नैतिक सहयोग गर्दै आएको उनी निकटहरु बताउँछन ।

उनको उम्मेदवारीले ब्रुजबासी नेपाली र नेपाली समाजमा उत्साह पैदा भएको सावित्री गिरी बताउँछिन् ।

पालिकामा कँडेलको उम्मेदवारी किन ?

बेल्जियममा स्थानीय निकाय सबै भन्दा प्रभावशाली निकायको रुपमा मानिन्छ । स्थानीय विकास निर्माण, नागरिकता, जन्म, मृत्यु दर्ता, भााषा–संस्कृतिको संरक्षण देखि अध्यागमनसम्मका काम यसै निकायद्धारा हुने गर्दछन । स्थानीय व्यापार व्यवसाय समेत यस्कै नियन्त्रणमा रहन्छ । तसर्थ पनि स्थानीय निकाय सबैका लागि आवश्यक र महत्वपूर्ण मानिन्छ ।

आफ्नो उम्मेदवारीका सम्वन्धमा कँडेल भन्छन “ब्रुज क्षेत्र बेल्जियम आउने संसारभरीका पर्यटकका लागि परिचित नाम हो। यो क्षेत्र पुरातात्विक रुपले पनि विश्व सम्पदा सूचीमा पर्दछ । यहाँ नेपाली पर्यटकहरु पनि आउजाउ गर्छन । आफुले ती नेपाली पर्यटकहरुलाई ब्रुजको नेपाली समुदायसंग जोडेर कसरी दुबै पक्ष लाभान्वित हुन सक्छन त्यसका बारेमा अध्ययन गर्ने र दुबै समुदायलाई जोड्ने सेतुको रुपमा काम गर्ने पहिलो योजना रहेको बताउँछन ।

त्यस्तै ब्रुज क्षेत्रमा नेपाली भाषीहरुको सम्मान जनक बसाई भएकोले आफुले नेपाली लगायत अन्य समुदायको भाषा, धर्म, कला, संस्कृति संरक्षण र सम्वर्धका लागि नगरपालिका र पार्टिसंग मिलेर ठोस काम गर्ने बताउँछन् ।

कँडेलले पछिल्लो समयमा बेल्जियमबासी नेपाली भााषीहरुका लागि नेपाली सामुदायिक भवन निर्माण अत्यन्त खड्किएको बिषय भएकोले आफुले बेल्जियमको कुनै पनि स्थानमा यस्तो भवन निर्माणका लागि नगरपालिका र पार्टि बीच समन्वय गरेर यो कुरा राख्ने, बेल्जियमको कुनै पनि स्थानमा जग्गा प्राप्तीका लागि पहल गर्ने र यो बिषयमा नेपाली समुदाय बीच एकता र सद्भाव कायम राख्न क्रियाशील हुने बताए ।

त्यस्तै कँडेलले वर्तमान समयमा संसारभरीका मानिसहरु कुनै न कुनै प्रकारले तनावमा रहेको तथ्यलाई ह्दयंगम र आफु स्वयंम् आध्यामिक चिन्तनमा थोरै लगाव समेत भएकोले बु्रज क्षेत्रमा एउटा प्राकृतिक ध्यान केन्द्र समेत निर्माणका लागि पहल गर्ने बताए । यसका अलावा कँडेलले नेपाली र अन्य समुदायका लागि आवश्यकता अनुसार नगरपालिकामा देखापर्ने समस्याको समाधान गर्न पहल समेत गर्ने बताए ।

ब्रुज नगरपालिकामा भने नेपाली समुदायबाट कँडेलको उम्मेदवारी पहिलो हैन । गत २०१९ को स्थानीय निर्वाचनमा यो पालिकावाट कुशल श्रेष्ठले पहिलो पटक उम्मेदवारी दिएका थिए । श्रेष्ठका अनुसार जित्ने अवसर हुँदाहुदै पनि केहि प्राविधिक कारणले आफु पराजित हुन पुगेको बताउँदै, यो पटक भने पार्टिले नेपाली समुदायबाट योग्य व्यक्तिलाई छनौट गरेको हुँदा कँडेललाई बिजय बनाउन सबै नेपाली समुदाय एकजुट हुनुपर्ने बताए ।