धादिङबेसीको पशुपति मन्दिरमा बालाचतुर्दशी मेला

238 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी, १५ मंसिर २०८१ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी देखि दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व धादिङ जिल्लाको सदरमुकाम स्थित पशुपति लगायत जिल्लाका अन्य शिवालयमा धुमधामका साथ मनाईदैछ ।

हरेक बर्ष बाला चतुर्दशीमा जिल्लाका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आएर शतबीज छर्ने परम्परा रहेको छ । धादिङबेसीको पशुपति मन्दिरमा  भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपतिमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिए पनि सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै दिवङ्गत पितृ स्मरण गर्दै छर्ने गरिएको छ ।

रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

भगवान् शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा उल्लेख छ।