धादिङबेसीमा विहीबारबाट शुरुभयो लोक सांस्कृतिक महोत्सव
98 पटक पढिएको
धादिङबेसी, १० माघ २०८१ । धादिङको सदरमुकाम धादिङबेसीमा आजबाट लोक सांस्कृतिक महोत्सव सुरु भएको छ ।महोत्सव राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको हो ।
‘‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारासहित सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएसँगै औपचारिक रुपमा सुरु भएको हो ।
रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको मुख्य आकर्षण जिल्लामै पहिलोपटक अन्तरपालिका लोक दोहोरी प्रतियोगिता रहेको छ ।
महोत्सव उद्घाटन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको बताउनुभयो । यस्ता मेला महोत्सवले युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिने उहाँको भनाई थियो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले साँस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ । भाषा, सँस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कलासँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,सँस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताउनुभयो । लोक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उहाँले प्रशंसा पनि गर्नुभयो ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताउनुभयो । आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौं । सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौ,झ उहाँले भन्नुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको महोत्सव माघ २० गते सम्म संचालन हुनेछ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ धादिङका अध्यक्ष कमला गैरेको सभापतित्वमा संचालन भएको महोत्सव उद्घाटन समारोहमा बागमति प्रदेशका सांसद गोविन्द लंसाल, नीलकण्ठ नगर प्रमुख भिम प्रसाद ढुङ्गाना,राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रिता थापा मगर,का सथौ विभिन्न राजनैतिक दलका प्रतिनिधि, पालिकाका प्रमुख उपप्रमुख तथा अन्य संघ संस्थाका प्रमुख एबम् प्रतिनिधिहरूकाे आतिथ्य रहेको थियो ।