फागुन १६ र १७ गते धादिङबेसीमा बागमती साहित्य महोत्सव हुने

95 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ६ फागुन २०८१ ।  “बागमती साहित्य महोत्सव २०८१” फागुन १६ र १७ गते धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माविमा हुने भएको छ।

“साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन” भन्ने नारासहित बागमती प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र कर्मचारी मिलन केन्द्र धादिङ, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नेपाल पत्रकार महासंघ धादिङको संयोजनमा  हुने यस महोत्सवले प्रदेशको साहित्यिक क्षेत्रमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ।

महोत्सवमा १४ वटा रोचक सत्रहरू समावेश गरिएका छन्। ११ वटा प्यानल डिस्कसन, १ काव्य सन्ध्या, १ गजल सन्ध्या र १ सृजनात्मक सत्र । विभिन्न विधाका ख्यातिप्राप्त लेखक, कवि, कलाकार तथा साहित्यप्रेमीहरूको सहभागिता रहने यस महोत्सवले बागमती प्रदेशको कला, साहित्य र संस्कृतिको प्रवर्धन गर्ने लक्ष्य राखेको छ।

महोत्सवका संयोजक तथा डिभिजन वन धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले यस महोत्सवले बागमती प्रदेशको साहित्यिक वृत्तमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले यस कार्यक्रमले प्रदेशस्तरमै साहित्यिक गतिविधिहरूलाई थप सशक्त बनाउने अपेक्षा गरेको बताउनुभयो।

आयोजकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, बागमती प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापनाका लागि नीति निर्माण तथा निर्देशिका निर्माणमा सरकारले लिएको अग्रसरताको सन्देश पनि यस महोत्सव मार्फत प्रवाह गरिनेछ।

पत्रकार सम्मेलनमा पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरी, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुबेदी लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

“साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको वागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक श्रीवृध्दि उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको बागमती प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुबेदीले बताउनुभयो।

महोत्सवका प्रमुख आकर्षण

११ प्यानल डिस्कसन विभिन्न साहित्यिक, सांस्कृतिक र समसामयिक विषयहरूमा केन्द्रित।
प्रतिष्ठित कविहरूको सहभागिता रहने काव्य सन्ध्या।
गजलप्रेमीहरूका लागि मनोरम गजल सन्ध्या।
नयाँ लेखकहरूलाई सिर्जनात्मक लेखनमा प्रोत्साहन गर्ने सृजनात्मक सत्र।
हरिप्रसाद शर्माका चित्रकला प्रदर्शनी।
स्थानीय संस्कृति झल्कने नृत्य प्रदर्शन।
पुस्तक स्टलहरू।

यस महोत्सवमा बागमती प्रदेशका विभिन्न क्षेत्रका लेखक, कवि, कलाकार र साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमको सफलताको लागि आयोजकले सबै सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *