चर्चित लोक गायिका इन्दिरा गोलेको निधन

722 पटक पढिएको

१८ भाद्र २०८२, बुधबार ०७:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । लोक संगीतमा लामो समयदेखि अनवरत लागिरहेकी चर्चित गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। उनी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन्।

२०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँदै आएकी गोलेले हजारौँ गीत गाइसकेकी छन् । उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, ‘घुम्तीनीर लेट भयो’,जाइफूलको बासना, घर त छाउनीमा, ‘आज मलाई उनीको पछ्यौरी’ , सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेला लगायत गीत सदाबहार छन् ।

गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् । उनका गीतहरूले नेपाली लोकजीवन, विशेषगरी तामाङ र काठे भाकाको मौलिक स्वरलाई संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेलेका थिए।

दुःखद कुरा के हो भने, केही वर्षअघि यही रोगका कारण उनले आफ्ना श्रीमानलाई गुमाउनुपरेको थियो। अब उनी स्वयं पनि रोगसँगको लडाइँ हारेर संसारबाट विदा भएकी छन्।

संगीत क्षेत्रका साथी कलाकार र उनका शुभेच्छुकहरूले उनको निधनलाई अपूरणीय क्षति भएको बताएका छन्। उनका धुन र स्वर भने  सदावहार गुन्जिरहनेछ।

प्राणघातक रोग क्यान्सर (अर्बुद) बाट थलिएकी गायिका इन्दिरा गोले तामाङलाई बचाउनका लागि नेपाल तामाङ कलाकार संघको संयोजकत्वमा ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ आरम्भ गरिएको थियो ।