जुंगे थापा’ : जुंगाले दिलायो देश–विदेशमा परिचय
237 पटक पढिएको
काठमाडौं, । धेरै पुरुषहरू दाह्री–जुंगा पाल्छन्, तर काठमाडौंका तिलकुमार थापा भने आफ्नो जुंगाकै कारणले देश–विदेशमा चर्चित भएका छन् । उनी अहिले ‘जुंगे थापा’ नामले परिचित छन् ।
काठमाडौंको सुविधानगर, तीनकुनेमा बसोबास गर्ने थापाले करिब आठ वर्षदेखि मेहेनतका साथ जुंगा पाल्दै आएका छन् । उनका अनुसार, यही जुंगाकै कारणले उनलाई विभिन्न प्रसिद्ध व्यक्तित्व र अधिकारीहरूले भेट्न खोज्ने गर्छन् ।
“देश-विदेशबाट पनि मलाई भेट्न आउनेहरू धेरै छन्,” उनी भन्छन्, “संघीय संसदकी उपसभामुख इन्दिरा रानामगर देखि गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव, वरिष्ठ कलाकार तुल्सी घिमिरे, पत्रकार श्रृषि धमला, कलाकार सन्दीप क्षेत्री, र नायक सुमित ढुंगानासम्मले मलाई भेट्न आइपुग्नुभएको थियो ।”
उनले ती सबै व्यक्तिहरूसँगका तस्वीरहरू आफ्नो कोठाको भित्तामा सजाएर राखेका छन् । साथै आफ्नै ‘जुंगे’ फोटोहरू पनि दर्जनौँ संख्यामा प्रदर्शन गरेका छन् ।
थापाको जुंगा हाल झण्डै एक फिट लामो छ । उनी प्रायः समय त्यो जुंगालाई दुवै कानमाथि राखेर मिलाएर राख्छन् र माग भएमा झिकेर देखाउँछन् । उनी भन्छन्, “यो जुंगाकै कारण म टोलमा मात्र होइन, देशैभर परिचित भएको छु, अब यसलाई कहिल्यै काट्दिन, पालिरहन्छु।”
जुंगाको स्याहारमा उनले मासिक १० देखि १५ हजार रुपैयाँ खर्च गर्ने बताएका छन् । उनी नियमित रूपमा सैलुनमा गएर जुंगा मिलाउने गर्छन् र तेल प्रयोग गर्दा पनि धेरै ध्यान दिने गर्छन् ।
थापाको यो जुंगा विभिन्न माध्यममा समेत चर्चाको विषय बनेको छ । उनले पत्रकार श्रृषि धमलासँगको अन्तर्वार्तामा पनि ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आफ्नो अनुभव बाँडेका थिए । साथै सामाजिक सञ्जालहरूमा समेत उनी व्यापक रूपमा चर्चित छन् ।
रामेछाप मन्थली नगरपालिका घर भएका थापाले २०५६ सालदेखि नेपाल प्रहरीमा सेवा सुरु गरेका थिए । करिब १८ वर्ष प्रहरी सेवामा बिताएका उनले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवको सवारी चालकका रूपमा समेत सेवा गरेका थिए । यही सेवा अवधि समाप्त गरेपछि उनी जागिरबाट अवकाश भएका हुन् ।
हाल उनी काठमाडौंको कोटेश्वर–तीनकुने सुविधानगरमा ‘रेसुङ्गा फ्यामिली रेष्टुरेन्ट’ सञ्चालन गर्दै आएका छन् । रेष्टुरेन्टको साइनबोर्डमै आफ्नो जुंगे तस्वीर राखिएको छ, जसले ग्राहक आकर्षित गर्ने गर्छ ।
“धेरैजना ‘जुंगे सँग बसेर खान पाइन्छ’ भनेर आउँछन्,” उनी हाँस्दै भन्छन्, “म नभए पनि मेरै तस्वीर हेरेर जान्छन्।”
थापाको कथाले देखाउँछ — शौख र आत्मविश्वासले पनि मानिसलाई पहिचान दिन सक्छ। धेरैले पुरुषत्व वा सौखका लागि जुंगा पाल्छन्, तर तिलकुमार थापा भने जुंगाकै कारण ‘ब्रान्ड’ बनेका छन्।







