बन्चरेडाँडाका स्थानीयको चेतावनी, बालेन्द्रमाथि विश्वास गुम्यो

325 पटक पढिएको

१४ कार्तिक २०८२, शुक्रबार २०:०८ सम्पादक: धादिङ न्यूज

धादिङ, १४ कात्तिक । बन्चरेडाँडामा फोहोर फ्याँक्ने काम रोकिएपछि काठमाडौं उपत्यकाभर फोहोर थुप्रिन थालेको छ। फोहोर व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता चलिरहेको छ।

उक्त मन्त्रालयका मन्त्री कुलमान घिसिङको नेतृत्वमा भएको वार्तामा बन्चरेडाँडाका पीडित स्थानीय, जनप्रतिनिधि र सरकारी अधिकारीहरूसहभागी छन्।

स्थानीयले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले विगतमा गरेको १८ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। सहमति पालना नभएपछि उनीहरूले केही दिनअघि नै ‘बालेन्द्र साह हराएको सूचना’ टाँसेका थिए।

वार्तामा सहभागी स्थानीय युवा निराजन सञ्जेलले भने,“हामीलाई जिल्ला प्रशासन कार्यालय धादिङमा सार्वजनिक अपराध मुद्दा हालेर दुःख दिइयो।
काठमाडौं महानगरका मेयरले हाम्रा माग सुन्ने साटो साधारण कर्मचारी पठाएर हेप्ने व्यवहार गरे।” उनले थपे,

 “अब हामी फोहोरका कारण मर्न चाहँदैनौँ। समस्या बन्चरेडाँडामै बसेर समाधान गर्नुपर्छ।”

जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता गरिएका सार्वजनिक अपराधका मुद्दा खारेज गरिनुपर्छ। मन्त्री कुलमान घिसिङले बन्चरेडाँडा पुगेर प्रत्यक्षरूपमा समस्या समाधान गर्नुपर्छ।

“अब हामी कुनै पनि चिल्ला कुरा मान्नेवाला छैनौँ। बालेन्द्र हराएका छन्, त्यसैले अब सिंहदरबार बन्चरेडाँडामा आएर समस्या समाधान गर्नुपर्छ।”

काठमाडौं महानगर र बन्चरेडाँडाका स्थानीयबीच यसअघि भएको १८ बुँदे सहमति अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।
त्यसकै विरोधस्वरूप फोहोर बोकेको  ट्रक रोकिएको, र हाल काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेको छ।