माघ १ देखि नगद कारोबारको अधिकतम सीमा पाँच लाख

260 पटक पढिएको

२८ पुष २०८२, सोमबार ०७:४९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आगामी माघ १ गतेदेखि नगद कारोबारको अधिकतम सीमा पाँच लाख रुपैयाँ कायम हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था लागू गरेको हो।

नयाँ व्यवस्था अनुसार पाँच लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा काटिएका चेकसमेत एकाउन्टपेयी हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

तर प्राथमिकता प्राप्त पूर्वाधार आयोजना, जलविद्युत्, सडक, सञ्चारलगायत क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकको पारिश्रमिक र ज्याला भुक्तानीमा भने यो व्यवस्थाले समस्या नपार्ने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

यसैगरी विभिन्न आयोजनाका लागि आवश्यक मालसामान आपूर्ति, सरकारलाई बुझाउनुपर्ने राजस्व भुक्तानी, बिगो, धरौटी तथा जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्पमार्फत पेन्सन वितरण गर्न पनि नगद सीमा लागू नहुने जनाइएको छ।

सरकारद्वारा वितरण गरिने राहत, अनुदान तथा सहायता रकम, विप्रेषण कम्पनी तथा एजेन्टमार्फत प्राप्त हुने रेमिट्यान्स भुक्तानीमा पनि कुनै बाधा नपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यसँग गर्ने दैनिक कारोबारमा भने नगद भुक्तानी गर्न सकिने व्यवस्था यथावत् रहनेछ।