माघे सङ्क्रान्तिमा धादिङका गाउँ–गाउँमा गोरु जुधाइ उत्सव ग्रामीण पर्यटन प्रवर्द्धनको आधार बन्दै मौलिक परम्परा

505 पटक पढिएको

१ माघ २०८२, बिहीबार २०:११ सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

धादिङ । माघे सङ्क्रान्तिको अवसरमा धादिङ जिल्लाका गाउँ–गाउँमा आयोजना गरिएको गोरु जुधाइ उत्सवले परम्परागत संस्कृतिको संरक्षणसँगै ग्रामीण पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

ग्रामीण पर्यटनलाई आकर्षित गर्ने उद्देश्यसहित धादिङको नीलकण्ठ नगरपालिकाको खाल्टे, धुँवाकोट  लगायत जिल्लाका विभिन्न स्थानमा स्थानीय किसान र युवाहरूको पहलमा गोरु जुधाउने मेला आयोजना गरिएको हो। माघे सङ्क्रान्तिका दिन नुवाकोटको तारुका र धादिङका खाल्टे, धुवाकोट, दार्खा लगायतका स्थानमा हुँदै आएको गोरु जुधाइ पछिल्ला वर्षहरूमा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ।

धादिङ र नुवाकोट जिल्लामा फैलँदै गएको गोरु जुधाइ परम्परालाई तारुकाले पछिल्लो २ दशक देखि समिति गठन गरी व्यवस्थित रूपमा निरन्तरता दिँदै आएको छ। यसै प्रभावका कारण धादिङका विभिन्न गाउँहरूमा पनि यो परम्परा संस्थागत हुँदै गएको छ।

बिहीवार जिल्लाभर विभिन्न स्थानमा गरी करिब एक सय हल गोरु जुधाइएका छन्।  मुलपानी ,लाइगाउँ,  धुवाकोट, खाल्टे, देउरालीछाप, सुनौलाबजार,  दार्खा, मार्पाक, फुलखर्क, बुढाथुम  मैदीमा आयोजना गरिएका गोरु जुधाइ हेर्न धादिङसँगै नुवाकोट गोर्खा चितवन र रसुवाबाट समेत दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।

गोरु जुधाइका कारण गाउँमा अस्थायी व्यापार, होटल तथा चिया पसलमा चहलपहल बढेको स्थानीय व्यवसायीहरू बताउँछन्। त्रिपुरासुन्दरी गाउँपालिकाका पूर्व अध्यक्ष शम्भु थापाका अनुसार माघे सङ्क्रान्तिको दिन गोरु जुधाइले गाउँलाई उत्सवमय बनाउँदै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ।

इतिहास र किम्बदन्तीसँग जोडिएको यो परम्परा नेपाल–तिब्बतबीचको भोट सन्धि तथा बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतसँग सम्बन्धित रहेको जनविश्वास छ। यद्यपि ठोस ऐतिहासिक प्रमाण नभेटिए पनि सय वर्षभन्दा पुरानो मानिने गोरु जुधाइ किसानको पौरख, सहनशीलता र सामूहिक संस्कृतिको प्रतीकका रूपमा लिइन्छ।

पहिले छिमेकीबीच रमाइलोका लागि गरिने गोरु जुधाइ अहिले व्यवस्थित प्रतियोगितामा रूपान्तरण भएको छ। उमेर र शारीरिक बनावट मिलाएर गोरु जुधाइने गरिन्छ, जसमा पहिला भाग्ने गोरुलाई पराजित मान्ने प्रचलन छ।

मैदीका बाबुकाजी श्रेष्ठका अनुसार गोरु जुधाइ अब केवल मनोरञ्जनमा सीमित नरही गाउँलेहरूको भेटघाट, सम्बन्ध नवीकरण र सांस्कृतिक पहिचान जोगाउने माध्यम बनेको छ। “यस्ता मौलिक परम्परालाई व्यवस्थित रूपमा संरक्षण गर्न सके धादिङको सांस्कृतिक पर्यटन अझ विस्तार हुन सक्छ,” उनले बताए।

दार्खाका गोपाल फ्युवाका अनुसार माघे सङ्क्रान्तिसँगै सम्पन्न हुने गोरु जुधाइले युद्धको अन्त्य वा विजयको खुसीयालीसँग जोडिएको इतिहास स्मरण गराउँदै किसान जीवन र ग्रामीण संस्कृतिको महत्व उजागर गरिरहेको छ।

माघे सङ्क्रान्तिमा फ्याक्से र धुवाकोटजस्ता स्थानमा गोरु जुधाइसँगै उखु, खुदो, सखरलगायत स्थानीय उत्पादनको प्रदर्शनी, कृषि मेला तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने गरेका छन्।

स्थानीय युवा क्लब, संरक्षण समाज तथा स्थानीय सरकारको सहकार्यमा आयोजना हुने यस्ता कार्यक्रमहरूले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूको निष्कर्ष छ।