रणकालिका मन्दिर संरक्षण समितिको वार्षिक साधारण सभा सम्पन्न, संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड
366 पटक पढिएको
धादिङ ।धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर–४ मा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको रणकालिका मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि स्थापना गरिएको रणकालिका मन्दिर संरक्षण समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
२०८२ साल माघ १० गते शनिबार रणकालिका मन्दिर परिसर, गल्छी–४ कालिकास्थानमा सम्पन्न सभाको अध्यक्षता संस्थाका अध्यक्ष शंकर भण्डारीले गर्नुभएको थियो। सभाका प्रमुख अतिथिमा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, विशेष अतिथिमा वडा नम्बर–४ का वडा अध्यक्ष राजु अधिकारी र अन्य समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
साधारण सभामा समितिले सञ्चालन गरेको वार्षिक गतिविधि र आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। साथै, आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयनसमेत गरिएको छ।
नवगठित कार्यसमितिमा शंकर भण्डारी अध्यक्ष, प्रकाश भण्डारी उपाध्यक्ष, बद्रीप्रसाद रेग्मी सचिव, कल्पना धिताल कोषाध्यक्षमा चयन हुनुभएको छ। सदस्यहरूमा लक्ष्मण अधिकारी, सुमन सुवेदी, उत्तम अधिकारी र दीपा अधिकारी रहनुभएको छ भने पदेन सदस्यका रूपमा वडा अध्यक्ष राजु अधिकारी रहनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले रणकालिका मन्दिर धार्मिक आस्थासँगै स्थानीय पर्यटन विकासको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको बताउनुभयो। उहाँले मन्दिरको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा स्थानीय सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष राजु अधिकारीले मन्दिर परिसर पछिल्लो समय पिकनिक स्थलका रूपमा समेत विकास हुँदै गएको उल्लेख गर्दै यस क्षेत्रलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने योजनामा वडा कार्यालय सक्रिय रहने बताउनुभयो।
रणकालिका मन्दिरमा पूजा–अर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ। विभिन्न धार्मिक पर्व तथा अवसरमा यहाँ मेला लाग्ने गरेको छ भने पछिल्लो समय जन्मदिनजस्ता विशेष अवसरमा मन्दिरको नाममा दान गर्ने भक्तजनहरूको संख्या बढ्दै गएको समितिले जनाएको छ।
साधारण सभामा संस्थाको आर्थिक विवरण पनि प्रस्तुत गरिएको थियो। संस्थाले आर्थिक वर्ष २०८१/८२ मा कुल रु. १०,२५,९२९ आम्दानी गरेको थियो भने चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म रु. ६,३७,६९९ आम्दानी भएको विवरण पेश गरिएको थियो। आर्थिक प्रतिवेदनका आधारमा आगामी वर्षको बजेट, मन्दिर परिसरको सरसफाइ, भौतिक संरचना संरक्षण, नियमित पूजा–व्यवस्थापन, सूचना पाटी निर्माण र दान संकलनलगायतका योजनाहरू छलफल गरिएका थिए।

साधारण सभाले आगामी वर्षका लागि मन्दिर क्षेत्रको संरक्षण र विकासमा अझ व्यवस्थित पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ। विशेष रूपमा खानेपानीको सुनिश्चितता, मन्दिर परिसरको सुरक्षा, बनभोज तथा कार्यक्रमको व्यवस्थापन र पर्यटकीय विकासमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
समितिले सहयोग गर्ने सबै व्यक्ति, संघ–संस्था र स्थानीय तहप्रति धन्यवाद व्यक्त गर्दै रणकालिका मन्दिरको संरक्षण, विकास र सम्बर्धनमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।






