राजनीतिक प्रतिशोधले मुलुकलाई मुठभेडतर्फ धकेल्न खोजियो: सुरेन्द्र पाण्डे

230 पटक पढिएको

१५ चैत्र २०८२, आईतवार ११:११ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले सरकारको पछिल्लो कदमले मुलुकलाई गम्भीर राजनीतिक प्रतिशोध र तनावतर्फ धकेल्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन्। नयाँ सरकार गठन लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनुले मुलुकमा मुठभेडको स्थिति सिर्जना गर्न खोजिएको उनको तर्क छ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै नेता पाण्डेले ७७ जना नेपालीको ज्यान गएको घटनाप्रति गम्भीर हुनुपर्ने र पीडित परिवारले न्याय पाउनुपर्नेमा जोड दिएका छन्। तर, न्यायको नाममा स्थापित कानुनी प्रक्रिया मिचिनु नहुने उनले स्पष्ट पारेका छन्।

“७७ जना नेपालीको ज्यान जानु सामान्य कुरा होइन। त्यो पीडा वास्तविक छ र पीडित परिवारको न्यायको माग जायज छ। तर न्याय स्थापित प्रक्रियाबाट हुनुपर्छ, जहाँ आरोप र प्रमाणको सही परीक्षण होस्,” उनले भनेका छन्, “केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि?”

अध्यक्ष ओलीसँग आफ्नो राजनीतिक यात्रामा कयौँ उतारचढाव र मतभेद रहेको स्वीकार गर्दै पाण्डेले अहिलेको धारणा राजनीतिक पक्षधरताभन्दा पनि एउटा जिम्मेवार नागरिकको रूपमा राखेको स्पष्ट पारेका छन्। उनले सरकारलाई पूर्वाग्रह त्याग्न र तनाव बढाउने कार्य नगर्न चेतावनी समेत दिएका छन्।

पार्टीका हजारौँ कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई अस्थिरतातर्फ लैजानु कसैको हितमा नहुने भन्दै उनले न्याय निष्पक्ष र प्रक्रियागत हुनुपर्ने बताएका छन्। उनले यो विषम परिस्थितिमा पार्टीले कानुनी र राजनीतिक दुवै माध्यमबाट समाधान खोज्न अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।