महादेवबेसीमा चैत २७ गतेदेखि तेश्रो ‘सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव’ हुने
612 पटक पढिएको
धादिङ, १८ चैत । धादिङको थाक्रे गाउँपालिका स्थित महादेवबेसीमा यहि चैत २७ गतेदेखि ‘तेश्रो महादेवबेसी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८२/८३’ आयोजना हुने भएको छ । “कृषि पर्यटन र पूर्वाधार समुन्नत थाक्रेको मूल आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवको तयारी तीव्र पारिएको छ ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा उज्यालो भविष्य महिला समूहको मुख्य आयोजनामा सञ्चालन हुन लागेको यो महोत्सव चैत २७ गतेदेखि २०८३ वैशाख १३ गतेसम्म चल्नेछ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले स्थानीय व्यापार, कृषि र पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा मुलुककै चर्चित कलाकारहरूको विशेष उपस्थिति रहनेछ । महोत्सवमा ख्यातिप्राप्त गायक प्रकाश सपुत, लोक दोहोरी क्षेत्रका हस्ती पशुपति शर्मा, चर्चित गायिका एलिना चौहान, ज्योति मगर र प्रीति आले लगायतका कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिलाउनेछन् । साथै, नेपाली लोक संस्कृतिको पर्याय बनेको ‘इन्द्रेणी टिम’ र ‘जम्बुलिङ टिम’को विशेष सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
महोत्सवमा मनोरञ्जनका साथै स्थानीय स्तरमा उत्पादित कृषि उपजहरू, घरेलु तथा औद्योगिक वस्तुहरूको प्रदर्शनीलाई प्राथमिकता दिइनेछ । स्थानीय खानाका परिकारहरूको स्वाद लिन पाइने ‘फुड स्टल’ हरूका साथै व्यापार प्रवर्द्धनका लागि विभिन्न व्यापारिक स्टलहरू समेत रहनेछन् ।
थाक्रे गाउँपालिकाको आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटनलाई पूर्वाधारसँग जोड्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना गर्दै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन यस कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।
उज्यालो भविष्य महिला समूहको मुख्य व्यवस्थापनमा हुन लागेको यस महोत्सवले स्थानीय महिलाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न र उद्यमशीलतासँग जोड्न समेत ऊर्जा प्रदान गर्ने देखिन्छ । करिब १७ दिनसम्म चल्ने यस महोत्सवमा धादिङसहित छिमेकी जिल्लाहरूबाट समेत ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।







