ज्वालामुखी गाउँपालिका देशकै नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा
400 पटक पढिएको
धादिङ, २९ चैतः धादिङको ज्वालामुखी गाउँपालिकालाई देशकै पहिलो नमुना सफा र स्वच्छ गाउँपालिकाको रूपमा घोषणा गरिएको छ। “मिसन २०८२: सफा र स्वच्छ क्षेत्र ज्वालामुखी” भन्ने मूल नाराका साथ आइतबार वडा नम्बर ४ स्थित बराह कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक भव्य समारोहका बीच यो ऐतिहासिक घोषणा गरिएको हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले एक विशेष समारोहका बीच गाउँपालिकालाई नमुना सफा र स्वच्छ क्षेत्र घोषणा गर्नुभएको हो। २०८२ सालभित्रै सम्पूर्ण स्थानीय तहलाई पूर्ण रूपमा सफा र नमुना बनाउने दीर्घकालीन लक्ष्यसहित सुरु भएको यस अभियानले ज्वालामुखी गाउँपालिकालाई अहिले जिल्ला मात्र नभई राष्ट्रिय स्तरमै चर्चाको शिखरमा पुर्याएको छ।
नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का सांसद वोध नारायण श्रेष्ठ, संघीय सरकारका पूर्व कृषि मन्त्री रामनाथ अधिकारी, संविधान सभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री शिवराज अधिकारी, प्रदेश सांसद गोविन्द लम्साल तथा बागमती प्रदेशका पूर्व मन्त्री डा. रामकुमार अधिकारी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, उपप्रमुख कुलमान विक, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानासहित छिमेकी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूको समेत उपस्थिति थियो।
गाउँपालिकाले यसअघि नै केही वडाहरूलाई नमुना घोषणा गरिसकेको भए पनि अहिले सातै वटा वडाका सबै ६ हजार ७९ घरधुरीमा सरसफाइका न्यूनतम मापदण्ड पुरा भएपछि समग्र गाउँपालिकालाई नै नमुना घोषणा गरिएको हो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार प्रत्येक घरधुरीमा तोकिएका १५ वटा सूचकहरू पुरा भए नभएको सम्बन्धमा चार चरणसम्म सूक्ष्म अनुगमन गरेपछि मात्र यो घोषणाको अवस्थामा पुग्न सफल भएको हो। गाउँपालिकाभित्रका शतप्रतिशत घरधुरीले सरसफाइका सबै मापदण्डहरू पुरा गरेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो।
अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले नागरिकको व्यवहार परिवर्तनमा विशेष जोड दिएको अध्यक्ष यमनाथ दनैले बताउनुभयो। गाउँपालिकाले विशेषगरी पाँच वटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको थियो, जसमा चर्पीको समुचित प्रयोग र खुला दिसामुक्त क्षेत्रको दिगोपन, नियमित हात धुने र नुहाउने जस्ता व्यक्तिगत सरसफाइ, पानीलाई शुद्धीकरण गरेर मात्र पिउने बानीको विकास, स्वस्थकर खाना र भान्साको उचित व्यवस्थापन तथा घर वरपरको फोहोर व्यवस्थापन गरी आँगन सफा राख्ने जस्ता कार्यहरू समावेश छन्। नागरिक स्वस्थ भए मात्र विकासले गति लिने विश्वासका साथ पूर्वाधारसँगै मानवीय र स्वास्थ्य विकासलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।
यो अभियान सफल पार्न स्थानीय टोल सुधार समिति, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय र स्थानीय क्लबहरूको सक्रिय सहभागिता रहेको थियो। घरधुरी सर्वेक्षण र सूचक प्रमाणीकरणका लागि गाउँपालिकाले विज्ञ प्राविधिक टोली नै परिचालन गरेको थियो। यो घोषणा केवल औपचारिकतामा मात्र सीमित नभई आगामी वर्षहरूमा यसलाई दिगो बनाउन र ‘शून्य फोहोर’ को अवधारणामा लैजान गाउँपालिकाले विशेष बजेट र कार्यक्रम समेत तर्जुमा गरिसकेको छ। यस घोषणासँगै ज्वालामुखी गाउँपालिका राष्ट्रिय स्तरमा सरसफाइको क्षेत्रमा एक उदाहरणीय र अनुकरणीय स्थानीय तहको रूपमा स्थापित भएको छ।
घोषणाको खुसीयालीमा स्थानीयले नाचगान गर्नुका साथै पञ्चेवाजा वजाएर रमाईलो गरेका थिए । यसै गरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीमा सांस्कृतिक कार्यक्रमपनि गरिएको थियो ।








