धादिङको गङ्गाजमुनामा वैशाख १३ र १४ गते बृहत् एकीकृत जनस्वास्थ्य शिविर हुने

299 पटक पढिएको

११ बैशाख २०८३, शुक्रबार १०:४३ सम्पादक: धादिङ न्यूज

धादिङ । जिल्लाको गङ्गाजमुना गाउँपालिका–७ स्थित बुढाथुम स्वास्थ्य चौकीमा आगामी वैशाख १३ र १४ गते बृहत् एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय धादिङको आयोजना र गङ्गाजमुना गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । उक्त अभियानमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्नेछन् ।

शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग (पाठेघरको मुखको क्यान्सर पहिचानका लागि  समेत), बालरोग र विशेषज्ञ चिकित्सकद्वारा आँखा परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी नसर्ने रोगहरूको स्क्रिनिङ, दन्तरोग, भिडियो एक्स-रे तथा ई.सी.जी., जनरल सर्जरी र नाक, कान, घाँटी रोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।

शिविरमा पोषण प्रदर्शनीका साथै स्वास्थ्य प्रवर्द्धनका लागि परामर्श दिइनेछ भने निःशुल्क बृहत् परिवार नियोजन शिविर तथा स्याटलाइट क्लिनिक (स्थायी बन्ध्याकरण सहित) समेत सञ्चालन हुनेछ ।

यस अभियानलाई काठमाडौँ मेडिकल कलेज  शिक्षण अस्पताल, धादिङ अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङ र तिलगङ्गा आँखा प्रतिष्ठान धादिङले प्राविधिक सहयोग उपलब्ध गराउनेछन् ।

वैशाख १३ र १४ गते बिहान १० बजेदेखि सुरु हुने यस शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य लाभ लिन गङ्गाजमुना गाउँपालिका र आसपासका बासिन्दाहरूलाई अनुरोध गरिएको छ ।