‘गाउँछ गीत’ को मेगा राउण्डमा धादिङका सुमन लामा,भोटको आग्रह
310 पटक पढिएको
काठमाडौँ । धादिङका नवोदित प्रतिभाशाली गायक सुमन लामा अहिले चर्चित साङ्गीतिक रियालिटी शो ‘गाउँछ गीत’ को मेगा राउण्डमा पुग्न सफल भएका छन्। आफ्नो मीठो स्वर र उत्कृष्ट प्रस्तुतिमार्फत निर्णायक र दर्शक दुवैको मन जित्दै आएका सुमनलाई अब प्रतियोगिताको अर्को चरण अर्थात् ‘टप ३०’ भित्र पर्नका लागि दर्शकहरूको भोट अत्यन्तै आवश्यक परेको छ।
धादिङको खनियावास गाउँपालिका–१ झार्लाङ निवासी सुमन लामा लोकदोहोरी तथा सेलो गीतका चर्चित युवा गायक हुन्। उनले दर्जनौँ गीतमा स्वर दिइसकेका छन् भने ‘क्या बबाल’ “सबको मन किन एउटै हुँदैन”, “बुलेट बाइक”, “टिकटक होई टिकटक”, “तिम्रो मायामा फसिसकेछु” र “अन्तिम श्वास” लगायतका गीतहरूमा स्वर, संगीत तथा अभिनयसमेत गरेका छन्। अहिले उनी चर्चित सांगीतिक रियालिटी शो ‘गाउँछ गीत’ को मेगा राउण्डमा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगितामा धादिङ जिल्लाको ओजपूर्ण प्रतिनिधित्व गरिरहेका सुमनलाई जिताउन र प्रतियोगितामा अगाडि बढाउनका लागि अहिले सामाजिक सञ्जालहरूमा समेत व्यापक समर्थन र माहोल बनिरहेको छ। उनका समर्थकहरूले फेसबुक, टिकटक लगायतका सञ्चार माध्यमहरूमा “धादिङको शान, सुमन लामा” भन्दै भोटका लागि अभियान नै चलाएका छन्।
गायक सुमन लामाले धादिङबासी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सङ्गीतप्रेमी शुभेच्छुकहरूलाई आफूलाई भोट गरेर सहयोग गरिदिन हार्दिक आग्रह गरेका छन्। भोटिङ प्रक्रियालाई सहज बनाउन मोबाइल बैंकिङ एपमार्फत सिधै क्यु आर कोड स्क्यान गरी भोट गर्न सकिने व्यवस्था गरिएको छ भने विदेशमा रहने शुभचिन्तकहरूका लागि ‘जेनो पे’ एपमार्फत भोट गर्ने व्यवस्था मिलाइएको छ।
‘प्रतिभाको खोजी, मौलिकताको सम्मान: गाउँछ गीतको साङ्गीतिक अभियान’ भन्ने मूल नाराका साथ एच एस साइना क्रियसनले निर्माण गरेको र २५ लाख पुरस्कार राशि रहेको यो सो आगामी केही दिन भित्रमा प्राइम टेलिभिजनमा प्रत्येक शनिवार र आइतबार राती ९ बजे प्रसारण हुँदैछ।
प्रतियोगिताको निर्णायक मण्डलमा संगीतज्ञ सङ्गीता राना प्रधान, गायक तथा सङ्गीतकार थानेश्वर गौतम, गायिका सहिमा श्रेष्ठ र लोक गायक अमृत खाती जस्ता दिग्गज हस्तीहरू रहेका छन्। डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट ५० प्रतियोगीहरू माझ पेप्सीकोलास्थित स्टुडियोमा कडा प्रतिस्पर्धा भइरहेको बेला धादिङका सुमन लामालाई उत्कृष्ट स्थानमा पुर्याउन डिजिटल भोटिङको भूमिका निर्णायक हुने आयोजकले जनाएका छन्।







