धादिङमा राजमार्गका होटलमा प्रशासनको कडा एक्सन: पाँच होटललाई जरिवाना

372 पटक पढिएको

१८ असार २०८३, बिहीबार १८:५६ सम्पादक: धादिङ न्यूज

धादिङ । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्ने पाँच वटा होटलहरू जिल्ला अनुगमन समितिको कारबाहीमा परेका छन्। खाद्य स्वच्छता, गुणस्तर र सरसफाइमा चरम लापरबाही गरेको भेटिएपछि अनुगमन टोलीले गल्तीको प्रकृति हेरी ती होटलहरूलाई तत्कालै जरिवाना र सचेत गराएको हो। जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा पृथ्वी राजमार्गअन्तर्गतका होटल, रेष्टुरेन्ट तथा खाजा पसलहरूमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने खालका गम्भीर कमजोरी फेला परेको अनुगमन समितिले जनाएको छ ।

यो कारबाही गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ, बजार अनुगमन र नागरिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्य प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरे लगत्तै भएको हो।

मन्त्रालयको सोही निर्देशनपछि धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय आफैँ नेतृत्व लिएर राजमार्गको अनुगमनमा निस्कनुभएको थियो। अनुगमनका क्रममा गजुरी गाउँपालिका–२ बिहानी पम्प क्षेत्रमा सञ्चालित मन्दिरा होटल एण्ड रेष्टुरेन्ट र शुभलक्ष्मी होटल एण्ड रेष्टुरेन्टको खानामा किरा भेटिनुका साथै खाना अत्यन्तै फोहोर भएको अनुगमन समितिले जनाएको छ। यी दुई होटल र थाक्रे गाउँपालिका–७ सातकिलोमा रहेको दिव्यांसी होटल एण्ड लजलाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। अनुगमन टोलीका सदस्य एवं उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरीका अनुसार सरसफाइमा  कमजोरी देखिएको भन्दै गल्छीमा सञ्चालित गल्छी खुवा पसललाई २५ हजार रुपैयाँ र धुनिबेसी नगरपालिका वडा नम्बर ७ मा रहेको थकाली भान्छा घरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

अनुगमनका क्रममा अधिकांश होटलहरूको भान्छा अत्यन्तै फोहोर भएको, फ्रिजमा राखिएका खाद्य वस्तुहरू कुहिएको र धेरैजसो होटलमा मूल्य सूची समेत नभएको पाइएको अनुगमन टोलीले जनाएको छ। कारबाहीमा परेका होटलहरूमा म्याद नाघेका खाद्यान्न सामग्रीहरू भान्सामा प्रयोग भइरहेको र डिप फ्रिजभित्र कुहिएका सामग्री र विभिन्न पाकेका खानेकुराहरू अस्वस्थकर तरिकाले भण्डारण गरिएको पाइएको बताईएको छ । अनुगमन टोलीले कैफियत भेटिएका सबै व्यवसायीहरूलाई तत्काल सुधार गर्न सचेत गराएको छ। अर्को पटकको अनुगमनमा समेत सुधार नदेखिएमा योभन्दा थप कडा कारबाही  गरिने चेतावनी टोलीले दिएको छ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खाद्यान्नको गुणस्तर र खाद्य स्वच्छतासम्बन्धी नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न निर्देशन दिँदै अनुगमनलाई प्रक्रियामै सीमित नराखी परिणाममुखी बनाउन भनेको छ। नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पर्ने वा प्रचलित कानुन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि गृहले भनेको छ। यसै गरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा गुनासा दर्ता गर्न सक्ने गुनासो सुनुवाइ संयन्त्र अन्तर्गत हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न निर्देशन दिइएको छ।

परिपत्रमा स्थानीय तहका गुनासा र समस्यालाई जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीयस्तरमै समाधान गर्नुपर्ने उल्लेख गरिएको छ। सामान्य प्रकृतिका विषयमा समेत गुनासोकर्ताले केन्द्र वा मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य गर्न र जिल्ला कार्यसम्पादनलाई मन्त्रालयले प्रत्यक्ष रूपमा अनुगमन गर्ने जनाइएको छ। यस क्रममा कुनै पनि प्रकारको अक्षमता वा उदासीनता प्रदर्शन नगर्न मन्त्रालयले सचेत गराएको छ। गृह मन्त्रालयले निर्देशनको अक्षरशः पालना र प्रभावकारी कार्यान्वयनको अपेक्षा गरेको उल्लेख गर्दै नागरिक केन्द्रित शासन प्रणालीको साख जोगाउन, बजारमा विधिको शासन कायम गर्न तथा स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।

धादिङमा भएको यस आकस्मिक अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख हुमकान्त पाण्डे, पशुसेवा कार्यालय प्रमुख डा. बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणि पुरी तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई लगायतको प्रत्यक्ष सहभागिता रहेको थियो। टोलीले गल्ती फेला परेलगत्तै उपभोक्ता संरक्षण ऐनबमोजिम उक्त जरिवाना तिराएको हो। मनसुन सुरु भएसँगै सरसफाइको कमीले विभिन्न संक्रामक रोगहरू फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला अनुगमन समितिले अबका दिनमा राजमार्ग क्षेत्रमा नियमित, आकस्मिक र कडा अनुगमनलाई निरन्तरता दिने जनाएको छ।