उत्तरी धादिङको ताप्राङ खोलामा पक्की पुल सञ्चालन, तीन गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित
176 पटक पढिएको
धादिङ, ८ साउन – उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं. २ र ३ को सीमामा रहेको ताप्राङ खोलामा निर्माण सम्पन्न पक्की पुल शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी अनौपचारिक रूपमा सवारीसाधन आवतजावत खुला गरिएको हो।
वर्षौँदेखिको निरन्तर प्रयासपछि पुल निर्माण भई सञ्चालनमा आएपछि स्थानीयवासीहरूमा खुसीयाली छाएको छ। पक्की पुलबाट खोला तर्ने यहाँका नागरिकहरुको इच्छा पूरा भएको छ । यस पुलको औपचारिक उद्घाटन भने पछि गरिने बताइएको छ।
ताप्राङ खोलामा पुल निर्माण भएसँगै विशेष गरी नेत्रावती/आँखु नदीवारी गणेश हिमालतर्फ पर्ने गङ्गाजमुना, रुबीभ्याली र खनियाबास गाउँपालिकाका बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। पुल सञ्चालनले यस दुर्गम क्षेत्रको यातायात, दैनिक उपभोग्य वस्तुको आपूर्ति, शिक्षा, स्वास्थ्य र स्थानीय उत्पादनको बजार पहुँचलाई निकै सहज बनाउने अपेक्षा गरिएको छ।
गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले पुल निर्माणका लागि बजेट विनियोजन गरी आर्थिक, भौतिक तथा अन्य विभिन्न माध्यमबाट सहयोग पुर्याउने तत्कालीन बागमती प्रदेश सरकारलगायत सम्बद्ध सबै सहयोगी पक्षप्रति गाउँपालिकाका तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ।
उपाध्यक्ष सिम्खडाका अनुसार वर्तमान स्थानीय सरकारको कार्यकालमा गङ्गाजमुनाको भूगोलभित्र मात्रै ४ वटा पक्की पुल निर्माण भइसकेका छन्। साथै थप २ वटा पक्की पुलको लागि गत वर्ष नै बजेट सुनिश्चित भई टेन्डर प्रक्रिया सकिइसकेको छ।
चालू आर्थिक वर्ष २०८३/०८४ मा बागमती प्रदेश सरकारले गङ्गाजमुना र छिमेकी गाउँपालिकाहरू जोड्ने गरी थप ७ वटा पक्की पुलका लागि बजेट विनियोजन गरेको छ। बजेट विनियोजन भएका ती पुलहरूका लागि थप बजेट सुनिश्चित गरी शीघ्र टेन्डर प्रक्रिया अघि बढाउन गाउँपालिकाका तर्फबाट बागमती प्रदेश सरकार, क्षेत्र तथा जिल्लाका माननीय सांसदहरू र सम्बद्ध मन्त्रालयलाई हार्दिक अपिल गरिएको छ।







