ठाकुरप्रसाद शर्मा प्रतिष्ठानमा थपियो ‘लक्ष्मणदास श्रेष्ठ उत्कृष्ट युवा सम्मान’

145 पटक पढिएको

१० श्रावण २०८३, आईतवार १७:२७ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्लाको समग्र शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद तथा पत्रकारिता क्षेत्रको समग्र विकासमा समर्पित ‘ठाकुरप्रसाद शर्मा प्रतिष्ठान’ले नयाँ पुरस्कार कोषको स्थापना गरेको छ। प्रतिष्ठानले पूर्व विद्यार्थी एवं दिवंगत युवा लक्ष्मणदास श्रेष्ठको स्मृतिमा २५ हजार रुपैयाँ राशिको ‘लक्ष्मणदास श्रेष्ठ उत्कृष्ट युवा सम्मान’ थप गरेको हो।

धादिङको पहिलो हाईस्कूलका रूपमा २०२५ सालमा स्थापित गजुरीस्थित ‘आदर्श माध्यमिक विद्यालय’का संस्थापक प्रधानाध्यापक एवं पूर्वमन्त्री ७८ वर्षीय ठाकुरप्रसाद शर्माको सम्मान र योगदानलाई जीवन्त राख्न उहाँका पूर्व विद्यार्थीहरूको सक्रियतामा यो प्रतिष्ठान स्थापना भएको हो। शर्माले उक्त विद्यालयमा १७ वर्षसम्म प्रधानाध्यापकको रूपमा सेवा गर्नुभएको थियो। पछि पेन्सन समेत नलिई स्थायी जागिर छाडेर शैक्षिक क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै संस्था दर्ता ऐन २०३४ बमोजिम २०८१ मंसीर ४ गते जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता नम्बर १८६० मा यो प्रतिष्ठान औपचारिक रूपमा दर्ता भएको थियो। प्रतिष्ठानको मुख्य कार्यालय गजुरी गाउँपालिका वडा नम्बर १, गजुरी बजारमा रहेको छ।

यसअघि ६ वटा विधामा पुरस्कार कोष स्थापना गरिसकेको प्रतिष्ठानमा हालै आदर्श माविका पूर्व विद्यार्थी स्वर्गीय लक्ष्मणदास श्रेष्ठका भाइ इन्जिनियर अर्जुनकुमार श्रेष्ठले २५ हजार रुपैयाँ राशिको ‘लक्ष्मणदास श्रेष्ठ उत्कृष्ट युवा सम्मान’ कोष स्थापना गर्नुभएको हो। यो सम्मान प्रत्येक वर्ष धादिङ जिल्लामा खेलकुद, युवा तथा महिला सशक्तिकरण, प्राकृतिक तथा सांस्कृतिक संरक्षण एवं स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने एक जना युवा अभियन्तालाई प्रदान गरिनेछ।

नयाँ पुरस्कार थपिएसँगै अब प्रतिष्ठानमार्फत राष्ट्रिय स्तरको ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार, धादिङ जिल्ला स्तरको आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार, दुर्गा रिमाल अधिकारी साहित्य पुरस्कार र नयाँ थपिएको २५ हजार राशिको लक्ष्मणदास श्रेष्ठ उत्कृष्ट युवा सम्मान प्रदान गरिनेछ। त्यसैगरी आदर्श मावि स्तरमा आदर्श उत्कृष्ट विद्यार्थी पुरस्कार र आदर्श उत्कृष्ट छात्रा पुरस्कार गरी कुल ७ वटा विधाका पुरस्कारहरू हरेक वर्ष वितरण गरिनेछ।

जिल्लाको शैक्षिक उन्नयनका साथै सामाजिक, सांस्कृतिक र युवा सशक्तिकरणका क्षेत्रमा क्रियाशील प्रतिभाहरूलाई प्रोत्साहन गर्न प्रतिष्ठानले हरेक वर्ष एक औपचारिक समारोहका बिच यी पुरस्कारहरू प्रदान गर्दै जाने प्रतिष्ठानका अध्यक्ष डा. कँडेलले जानकारी दिनुभयो।