औषधिय गुण भएको कालो बेसार धादिङको अमिलिटारमा व्यावसायिक खेती सुरु

403 पटक पढिएको

१९ श्रावण २०८३, मंगलवार ०७:१२ सम्पादक: धादिङ न्यूज

धादिङ-औषधीय गुणले युक्त कालो बेसारको धादिङमा व्यावसायिक खेती सुरु गरिएको छ। धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ अमिलिटारमा सोसाइटी अफ एग्रिकल्चर एण्ड बोटनीले ठूलो क्षेत्रफलमा कालो बेसारसहित एकीकृत बहुगुणी फलफूल तथा जडीबुटीको व्यावसायिक खेती सुरु गरेको हो।

किसान महेन्द्र खतिवडाका अनुसार फार्मले कूल ३५ रोपनी जमिनमध्ये १८ रोपनी बगैँचाभित्र र बाँकी १७ रोपनी खुला ठाउँमा गरी कालो बेसारको व्यावसायिक खेती गरिरहेको छ। नेपालमा नै यति ठूलो क्षेत्रफलमा पहिलो पटक कालो बेसारको खेती गरिएको खतिवडाको दावी छ ।

 कालो बेसार मुख्य रूपमा औषधि उत्पादनमा प्रयोग हुने भएकाले यसको बजार माग राम्रो छ। उत्पादन हुने कालो बेसार प्रति किलो रु. ८०० देखि १००० सम्मका दरले बिक्री गर्ने सकिने खतिवडाले बताएका छन्।

जिन्जिबेरी प्रजातिको यो कालो बेसार जंगली जडीबुटीका रूपमा चिनिन्छ। नेपाल र भारतका ओसिला जंगलहरूमा पाइने यस बेसारका कोषहरू काला हुने भएकाले यसलाई कालो बेसार भनिएको हो। यसको एउटा बोटमा सामान्यतया १० देखि २० वटासम्म पात हुने र बैजनी-रातो रेखाहरू देखिन्छन्। कालो बेसारमा ३० प्रकारका महत्वपूर्ण तत्वहरू पाइन्छन्। जसमा मुख्य गरी कम्फ्होर २८.३ प्रतिशत, ओसिमिन ८.२ प्रतिशत, टमेरोन १२.३ प्रतिशत, ब्रोनओल ४.४ प्रतिशत, कुर्मिन २.८२ प्रतिशत र आर-कुर्मिन ६.८ प्रतिशत रहने गर्दछ।

आयुर्वेदिक र एलोपेथिक औषधी उत्पादनमा प्रयोग हुने यो बेसार डन्डीफोर, घाउ, चिलाउने रोग, ग्यास्ट्रिक, लेप्रोसी, ज्वरो, खटिरा, दम, दाँत दुखाइ र फोक्सोको समस्यामा उपयोगी मानिन्छ। साथै माइग्रेनका बिरामीले यसको रस २ देखि ४ थोपा नाकमा हाल्दा सञ्चो हुने बताइन्छ।

यस फार्ममा कालो बेसारका साथै अन्य बहुमूल्य फलफूल तथा रुखहरूको एकीकृत खेती समेत गरिएको छ। फार्ममा लगाइएका एक हजार बोट ड्र्यागन फ्रुटमध्ये ५०० बोटमा फल लाग्न थालिसकेको छ। त्यसैगरी फार्ममा ५०० बोट श्रीखण्ड, १०० बोट आँप, १० बोट लिची र सात प्रजातिका ५० झ्याङ बाँस समेत लगाइएको किसान महेन्द्र खतिवडाले जानकारी दिनुभयो। विश्व बजारमा राम्रो मूल्य र माग रहेको कालो बेसारसँगै बहुवर्षीय फलफूलको खेतीले धादिङमा व्यावसायिक कृषिप्रतिको सम्भावनालाई अझ उजागर गरेको छ।