रुबी भ्यालीमा परम्परागत कला र सीपको जगेर्ना: टिकटकबाट निगालो र बाँसका लोपोन्मुख हस्तकलाको बजार प्रवर्धन

62 पटक पढिएको

२५ कार्तिक २०८३, मंगलवार १०:०१ सम्पादक: धादिङ न्यूज

धादिङ,कात्तिक २४ । आधुनिकता र प्रविधिको विकाससँगै ओझेलमा पर्दै गएका पुर्ख्यौली मौलिक कला र सीपहरूको संरक्षणमा धादिङको रुबी भ्याली गाउँपालिकाका स्थानीय बासिन्दाहरू सक्रिय रूपमा जुटेका छन्। परम्परागत पेसा र संस्कृतिको जगेर्ना गर्दै यसलाई आयआर्जनको माध्यम बनाउने क्रममा यहाँका स्रष्टा तथा स्थानीय बासिन्दाले उदाहरणीय पहल गरेका छन्।

रुबीभ्याली गाउँपालिका–१, लिङ्जोकी सेती लामा तामाङले पुस्तौँदेखि चलिआएको परम्परागत कला ‘बुदुरु फिनी’ बाँसको काईयो बुन्ने सीपलाई भिडियोमार्फत टिकटकमा प्रस्तुत गर्दै आएकी छिन्। सामाजिक सञ्जालको सदुपयोग गर्दै उनी आफ्नो मौलिक कलालाई देश–विदेशका दर्शकमाझ पुर्‍याउन सफल भएकी छिन्। यसबाट एकातर्फ दर्शकहरूले मनोरञ्जन लिनुका साथै उनले राम्रो आर्थिक आम्दानीसमेत गर्दै आएकी छिन्।

लोप हुने अवस्थामा पुगेको यस मौलिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेन्दोमाया कलाकार रोशन फ्युबा तामाङ र रुप एस घलेले सेती लामाले बुनेका सामग्रीहरू नियमित रूपमा खरिद गरी उहाँको सीपलाई उच्च प्रोत्साहन र नैतिक तथा आर्थिक साथ–सहयोग प्रदान गरेका छन्। स्थानीय कलाकारहरूबीचको यो सहकार्यले ग्रामीण भेगका सीपयुक्त महिलाहरूमा ठूलो ऊर्जा थपेको छ।

पुर्खाले प्रयोग गर्दै आएको मौलिक सीप आज पनि स्मृतिमा मात्र होइन, हातको सीप बनेर जीवितै छ। सानैमा हजुरबुबासँग गोठमा बस्दा सिकेको निगालो बुन्ने सीपलाई सेती लामाले अहिले पनि संरक्षण गर्दै आउनुभएको छ।

निगालोबाट बनेका ‘बुदुरु फिनी’ लगायतका सामग्री उहाँले आफ्ना आफन्त तथा चिनजानकालाई हातको चिनो र कोसेलीका रूपमा दिने गर्नुहुन्छ भने केही सामग्रीहरू बिक्रीसमेत गर्दै आउनुभएको छ। पुर्खाको सीप, गाउँको पहिचान र मौलिकताको यो धरोहरले नयाँ पुस्तालाई समेत जोड्न प्रेरित गरेको छ।

यसैबीच, लेकबेसी मिडियाका  मर्कुस तामाङले आधुनिकता र प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले गर्दा रैथाने हस्तकलाहरू लोपोन्मुख बन्दै गएको बताएका छन्।

एक समय गाउँघरमा अनिवार्यजस्तै मानिने बाँसको चोयाबाट बनेको कपाल कोर्ने काईयो, माछा मार्ने फुर्लुङ लगायतका सामग्रीहरू आजभोलि बिरलै देख्न पाइन्छ। मानिसहरू आधुनिक जीवनशैलीतर्फ आकर्षित हुँदा पुराना मौलिक हस्तकलाका वस्तुहरू हराउँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्दै यस्ता रैथाने वस्तुहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन्।

आफ्नो मौलिक कला, संस्कृति र सीपको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। रुबी भ्यालीका यी प्रेरणादायी प्रयासहरूले एकातर्फ लोपोन्मुख हस्तकला र संस्कृतिको महत्त्वलाई उजागर गरेका छन् भने अर्कोतर्फ सीपलाई डिजिटल माध्यम र बजारसँग जोडेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो सन्देश दिएका छन्।