धादिङको प्रसिद्ध त्रिपुरासुन्दरी माई मेला (न्वागी पर्व) आगामी मङ्सिर २३ र २४ गते आयोजना हुने

36 पटक पढिएको

२६ कार्तिक २०८३, बुधबार १३:३६ सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ जिल्लाकै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी माईको न्वागी मेला तथा माईथान जात्रा यस वर्ष आगामी मङ्सिर २३ र २४ गते भव्य रूपमा आयोजना हुने भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–४ स्थित सल्यानकोट (घर) र वडा नं. ६ स्थित माईथानबेँसी (माइती) मन्दिर क्षेत्रमा यो ऐतिहासिक मेला लाग्ने गर्दछ।

हरेक वर्ष मङ्सिर महिनामा खेतमा नयाँ धान पाकेपछि मूल देवीलाई नयाँ धानको चामल, दही र सख्खर मिसाएर न्वागी चढाउने र त्यसपछि मात्र स्थानीयले न्वागी खाने परम्परा रहिआएको छ। त्रिपुरासुन्दरी भगवतीलाई घर (सल्यानकोट) बाट माइतीघर (माईथानबेँसी) मा न्वागी खान लैजाने अनौठो र धार्मिक परम्परा अनुसार यो मेला आयोजना गरिन्छ।

मेलाको पहिलो दिन मङ्सिर २३ गते सल्यानकोटस्थित माथिल्लो मन्दिरमा रहेको भगवतीको मूर्ति र पेटारो (बाकस) लाई रानामगर समुदायका पुजारीहरूले विशेष पूजाआजा गरी काँधमा बोकेर, बाजागाजा र जयकाराका साथ माईथानबेँसीतर्फ सवारी गराइन्छ। भगवतीलाई बेँसी झार्ने क्रममा देवीको तेज प्रत्यक्ष हेर्न नहुने जनविश्वासका कारण बाकसभित्रै राखेर कपडाले ढाकी गोप्य रूपमा स्थानान्तरण गर्ने गरिन्छ। देवीको डोलीलाई सल्यानकोटबाट बेँसी झार्दा हजारौँ भक्तजनहरूले बाटोभरि स्वागत तथा पूजाअर्चना गर्ने गर्दछन्।

दोस्रो दिन मङ्सिर २४ गते माईथानबेँसीमा न्वागी चढाउने, बलि दिने र मुख्य जात्रा मनाइन्छ। न्वागी खाएपछि देवी मङ्सिरदेखि फागु पूर्णिमासम्म (करिब ३ महिना) बेँसीस्थित माइती मन्दिरमै विराजमान रहने र फागुनमा पुनः सल्यानकोट फर्काइने परम्परा छ।

मन्दिरमा रानामगर समुदायका मुख्य पुजारीसँगै सापकोटा र तिमल्सिना थरका ब्राह्मणहरूले पूजाअर्चनामा सघाउने भएकाले यो पर्वलाई नेपालको धार्मिक तथा जातीय सहिष्णुताको अनुपम उदाहरणका रूपमा पनि हेरिन्छ। नेपाल एकीकरणका क्रममा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले समेत यस शक्तिपीठमा आएर विजयको आशीर्वाद लिएको ऐतिहासिक प्रसङ्ग उल्लेख छ।

मध्य पहाडी क्षेत्रकै ठूलो मेला मानिने यस जात्रामा धादिङसहित नुवाकोट, गोरखा, काठमाडौँ, चितवन लगायतका छिमेकी जिल्लाहरूबाट लाखौँ श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने गर्दछ। पालिका तथा मन्दिर व्यवस्थापन समितिले मेलालाई व्यवस्थित, अनुशासित र सुरक्षित बनाउन आवश्यक तयारी तीव्र पारिरहेको जनाएका छन्।