बाढीले क्षतिग्रस्त अम्लेश्वर मन्दिरमा हरिवोधिनी एकादशीको परम्परागत मेला लाग्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम भने नहुने

89 पटक पढिएको

२८ कार्तिक २०८३, शुक्रबार ०६:५९ सम्पादक: धादिङ न्यूज

धादिङ, २७ कात्तिक । भदौ १० को भोटेकोशी बाढीले तहस नहस पारेको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको धादिङको गल्छी गाउँपालिका–६, महेशदोभानस्थित अम्लेश्वर महादेव मन्दिरमा हरेक वर्षझैँ यस वर्ष पनि हरिवोधिनी एकादशीको अघिल्लो रात लाग्ने परम्परागत मेलाले निरन्तरता पाउने भएको छ । यद्यपि, गत भदौ १० गते आएको भोटेकोशीको भीषण बाढीले मन्दिरको सम्पूर्ण भौतिक पूर्वाधार नष्ट पारेका कारण यस वर्ष मेलामा आयोजना गरिँदै आएका थप सांस्कृतिक कार्यक्रमहरू भने नहुने भएका छन् ।
 त्रिशूली नदीको किनार महेशदोभानमा अवस्थित अम्लेश्वर मन्दिर यस क्षेत्रकै प्रमुख आस्थाको केन्द्र मानिन्छ । परापूर्वकालदेखि नै दिवंगत पितृ तथा आफन्तहरूको मोक्ष र सम्झनामा यस मन्दिरमा हरिवोधिनी एकादशी अर्थात् ठूलो एकादशीको अघिल्लो रातभर जाग्राम बसेर  बत्ती बाल्ने परम्परा रहँदै आएको छ । रातभर भजनकीर्तन र बत्ती बालेर जाग्राम बसेका भक्तजनहरूले भोलिपल्ट बिहान उज्यालो भएपछि पवित्र त्रिशूली नदीमा स्नान गरी अम्लेश्वर महादेवको पूजाआजा तथा दर्शन गर्ने गर्दछन् । यस विशेष अवसरमा धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला नुवाकोट, रसुवा र काठमाडौँबाट समेत श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्दछ ।
भदौ १० गतेको विनाशकारी बाढीले मन्दिरका संरचनाहरू बगाउनुका साथै मन्दिर परिसरमा बाक्लो माटो, ढुङ्गा र गेग्रान थुपारेर अस्तव्यस्त बनाएको छ । भौतिक संरचना क्षतिग्रस्त भएकाले विगतका वर्षहरूमा जस्तो भव्य मेला र मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न असहज भएको हो । गल्छी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कार्कीले मन्दिर परिसर बाढीका कारण जोखिमपूर्ण र अव्यवस्थित रहेकाले यस वर्षको परम्परागत धार्मिक कार्य तथा बत्ती बाल्ने कर्म आ–आफ्नो रीतिरिवाज र सुरक्षा सावधानी अपनाएर मात्र मनाउन सम्पूर्ण भक्तजनहरूलाई आग्रह गर्नुभएको छ ।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको अम्लेश्वर मन्दिरको पुनर्निर्माण र संरक्षणका लागि स्थानीय तह तथा सरोकारवाला निकायले चासो दिनुपर्ने स्थानीय बासिन्दाको माग छ । बाढीले बगाएका संरचनाहरूको पुनर्निर्माण गरी मन्दिरको पुरानो स्वरूप फर्काउन सके आगामी वर्षहरूमा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।