जीवनारायण स्मृति छात्रवृत्ति-२०८३ छात्र सन्दिप श्रेष्ठलाई प्रदान गरिने

207 पटक पढिएको

२९ कार्तिक २०८३, शनिबार ०७:४७ सम्पादक: धादिङ न्यूज

धादिङ , २८ कार्तिक । ठाकुरप्रसाद शर्मा प्रतिष्ठान, गजुरी-१ धादिङद्वारा प्रदान गरिने ‘जीवनारायण कँडेल स्मृति छात्रवृत्ति-२०८३’ आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्र सन्दिप श्रेष्ठलाई प्रदान गरिने भएको छ। प्रतिष्ठानका आजीवन सदस्य रोजनाथ कँडेलद्वारा आफ्ना बुवा तथा गजुरी-२ बेल्टारस्थित जनजागृति आधारभूत विद्यालयका संस्थापक अध्यक्ष स्व. जीवनारायण कँडेलको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गरिएको हो। रु. १० हजार नगद राशिको यो छात्रवृत्ति गजुरी-१ निवासी छात्र श्रेष्ठलाई आदर्श माध्यमिक विद्यालयबाट प्राप्त सिफारिसको आधारमा प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

आगामी २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो २:३० बजे आदर्श माध्यमिक विद्यालय, गजुरी-१, गजुरी बजारमा एक विशेष समारोहका बीच उक्त छात्रवृत्ति प्रदान गरिनेछ। धादिङ जिल्लाकै पहिलो हाइस्कुलका संस्थापक प्रधानाध्यापक, धादिङका उज्ज्वल शैक्षिक नक्षत्र तथा पूर्व राज्यमन्त्री ठाकुरप्रसाद शर्माको प्रमुख आतिथ्यमा समारोह सम्पन्न हुनेछ। कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनका लागि स्थानीय अभिभावक, शिक्षासेवी, समाजसेवी, शिक्षक, विद्यार्थी, प्रतिष्ठानका आजीवन सदस्य तथा सम्पूर्ण शुभेच्छुक जनसमुदायहरूमा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले हार्दिक अनुरोध गरेको छ।