फुर्केखोलामा पन्टुन पुल जडानको काम अन्तिम चरणमा, वैकल्पिक मार्गको सास्ती हट्ने आश

70 पटक पढिएको

१ मंसिर २०८३, सोमबार ०८:११ सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
मलेखु । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको  फुर्केखोलाको पक्की पुल बगाएको ८० दिन भइसकेको छ। धादिङका आठवटा स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सञ्जाल टुट्दा हजारौँ नागरिकले कष्टकर सास्ती भोग्दै आएका छन्। यातायात र आवागमन अवरुद्ध भएर थला परेको यस क्षेत्रको जनजीवन सहज बनाउन अहिले अस्थायी रूपमा पन्टुन पुल जडानको काम युद्धस्तरमा अघि बढाइएको छ।
गत भदौ १० गते आएको बाढीले २०५६ सालमा निर्माण गरिएको  फुर्केखोलाको ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुल बगाएको थियो। पुल बगाएसँगै उत्तरी धादिङका गंगाजमुना, खनियाबास, त्रिपुरासुन्दरी, नेत्रावती डब्जोङ, रुबीभ्याली, नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकासहित गोरखा जिल्लाका केही भागका बासिन्दालाई प्रत्यक्ष असर परेको छ। यसले गर्दा पृथ्वी राजमार्गबाट विभिन्न कामविशेषले जिल्ला सदरमुकाम धादिङबेँसी जाने र सदरमुकामबाट राजमार्ग निस्कने मुख्य यातायात सम्पर्क निकै असहज बनेको छ ।
मुख्य पुल नहुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र कृषि उपजको ढुवानी निकै महँगो र कष्टकर बनेको छ। भदौ १० सम्म मुग्लिन हुँदै मलेखुबाट सीधै भित्रिने मालवाहक सवारीसाधन अहिले मुग्लिनबाट आँबुखैरेनी, गोरखा र आरुघाटको लामो बाटो घुमेर धादिङबेँसी आइपुग्नुपर्ने बाध्यता छ।
असोज २५ को बूढीगण्डकी बाढीले आरुघाटको पक्की पुलसमेत बगाएपछि त्यहाँ बेलीब्रिज राखिएको छ। तर, उक्त बेलीब्रिजबाट ठूला मालवाहक सवारीसाधन आउन नसक्ने भएपछि समस्या झन् बल्झिएको छ। विगतमा एउटै ठूलो गाडीमा ल्याइने सामानका लागि अहिले तीनवटा साना मालवाहक गाडी प्रयोग गर्नुपर्दा ढुवानी खर्च अचाक्ली बढेको धादिङबेँसीका खाद्यान्न होलसेल व्यापारी इन्द्रकुमार श्रेष्ठ बताउनुहुन्छ।
फुर्केखोलाको पुल टुटेपछि बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नपाएर ज्यानै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ भने विद्यार्थी र कर्मचारीले दैनिक सास्ती व्यहोर्दै आएका छन्। “सडक सम्पर्क टुटेपछि व्यापार व्यवसाय सबै सुकिसक्यो,” स्थानीय व्यवसायीहरू दुखेसो पोख्छन्।
बाध्यतावश प्रयोगमा ल्याइएका वैकल्पिक मार्गहरूको अवस्था पनि उत्तिकै दयनीय र जोखिमपूर्ण छ। हाल पृथ्वी राजमार्गको मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी आउने र गल्छी–कोशीखोला–सुनौलाबजार हुँदै धादिङबेँसी निस्कने वैकल्पिक सडक प्रयोग भइरहेको छ। साँघुरो, कच्ची, हिलाम्मे र ठाउँ–ठाउँमा खाल्डैखाल्डो परेका यी दुवै मार्गबाट ठूला मालवाहक सवारी गुड्न सक्दैनन्। जीर्ण सडकका कारण यात्रुवाहक सवारीसमेत दुर्घटनाको उच्च जोखिम मोलेर गुड्न बाध्य  छ। थोरै दूरी पार गर्न घण्टौँ समय लाग्ने र यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गर्दा सर्वसाधारण दोहोरो मारमा परेका छन्।
जनताले भोगिरहेको यो गम्भीर समस्यालाई मध्यनजर गर्दै धादिङका १३ वटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूको संयुक्त पहलमा बर्दियास्थित राजापुर सिँचाइ व्यवस्थापन कार्यालयमा मौज्दात रहेको पन्टुन पुल धादिङ झिकाइएको हो।
तिहारअघि नै पुलका सामग्री मलेखु आइपुगे पनि दुवैतर्फ पहुँचमार्ग निर्माण, पार्टपुर्जा मर्मत तथा रङरोगनको काम बाँकी रहेकाले जडानमा केही ढिलाइ भएको थियो। अहिले प्राविधिकहरूको टोली रातदिन खटिएर पुल जडानको कामलाई अन्तिम रूप दिइरहेको छ।
प्राविधिकहरूको सुझावअनुसार पुल जडान भएलगत्तै प्रारम्भिक चरणमा हलुका सवारीसाधन र अत्यावश्यक सेवाका गाडी मात्र सञ्चालनमा ल्याइनेछ। त्यसपछि पुलको भारवहन क्षमता परीक्षण गरेर मात्र भारी तथा मालवाहक सवारीसाधनका लागि खुला गर्ने तयारी गरिएको छ। सम्पूर्ण काम सकिन अब बढीमा एक साता लाग्ने अनुमान गरिएको छ। पन्टुन पुल सञ्चालनमा आएपछि ८० दिनदेखि कष्टकर यात्रा गर्न बाध्य धादिङबासीले दैनिक सास्तीबाट ठूलो राहत पाउने अपेक्षा गरिएको छ।