तामाङ समुदायले आज हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै
66 पटक पढिएको
धादिङ, १७ माघ २०८१ । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् ।
आजदेखि गरुढ वर्ग पूरा भएर सर्प वर्ग प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । सदरमुकाम धादिङबेसीको खुल्लामञ्चमा आज विविध साँस्कृतिक कार्यक्रम सहित ल्होसार मनाउने कार्यक्रम रहेको छ । खुल्लामञ्चमा जारी धादिङ लोक साँस्कृतिक महोत्सवमै तामाङ समुदायले ल्होसार मनाउँदैछन् ।