मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्य गर्न सम्झौता
1336 पटक पढिएको
काठमाण्डौ । कृषि क्षेत्रमा लगानी विस्तारका लागि मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच सहकार्य हुने भएको छ । बैक र कम्पनीले सहकार्य गर्न बैशाख ४ गते सम्झौता गरेका छन् ।
सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले विगत १२ वर्षदेखि ग्रामीण भेगहरुमा समेत सबै वर्गका नागरिकहरुलाई समावेशी वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेकोमा कृषि पेशामा निर्भर किसानहरुलाई वित्तीय सेवाका अतिरिक्त कृषि सम्बन्धी व्यवस्थापन गर्न आवश्यक देखिएकोले कम्पनीसँग सहकार्य गरिएको जनाएको छ ।
मुक्तिनाथ कृषि कम्पनी कृषिलाई मुख्य पेशाको रुपमा अँगालेका कृषकहरुलाई प्रत्यक्ष तथा कृषि सहकारीहरुमार्फत पनि गैरवित्तीय सेवाहरु जस्तैः बीउविजन, मल, उपकरण, औजार, प्रविधि तथा क्षमता विकास र बजारीकरण समेतका सेवाहरु प्रदान गर्ने उद्देश्यसहित रु ४० करोड जारी पूँजीमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहक सदस्यहरुलाई कृषिमा आधारित उद्यमरव्यवसाय गर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई बजारको ग्यारेन्टी गर्ने कार्य मुक्तिनाथ कृषि कम्पनीले गर्नेछ ।
किसानहरुको यस कम्पनीसँगको सहकार्यले किसानहरुले हाल भोगेका कृषि उपजको बजारीकरण सम्बन्धी समस्याहरुको दिगो समाधान हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ । भविष्यमा कम्पनीले कृषि सम्बन्धी अन्य आवश्यक विविध प्रकारका कार्यहरु विस्तार गर्दै जाने जनाएको छ ।