ज्ञानु रिमालको मृत्यु अस्पतालको लापरवाहीबाट भएको परिवारको दावी न्याय खोज्दै रिमाल परिवार अदालत र मिडियामा

173 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं, ९ कात्तिक २०८१ । अग्रज पर्यटन व्यवसायी ज्ञानप्रसाद रिमालको मृत्यु अस्पतालको लापरवाहीबाट भएको भन्दै रिमाल परिवार  न्यायको खोजिमा छ ।

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका घर भई काठमाडौं वनस्थलीमा बसोबास गर्दै आएका  रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर, उपचारको क्रममा चिकित्सकले गलत औषधिको प्रयोग गरेको र उपचारमा लापरबाहीसमेत गरी अकालमा मृत्यु भएको भन्दै उनका छोरा प्रताप रिमालले अस्पताल विरुद्ध मुद्धासमेत दायर गरेका छन् । ललितपुर जिल्ला अदालतमा दायर गरेको मुद्धामा पाँच करोड रुपैयाँ क्षतिपूर्तिसमेत दाबी गरिएको छ ।

ज्ञानप्रसाद रिमाललाई मुटुको उपचार र किड्नीको डायलासिसका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा गत असोज १ गते भर्ना गरिएको थियो । तर, हातमा सङ्क्रमण भएपछि उनको मृत्यु भएको थियो । एउटा रोगको उपचार गराउन जाँदा अर्कै कारणले बुबाको मृत्यु हुन पुग्यो । सुविधासम्पन्न भनि लाखौं रुपैयाँ असुल गर्ने अस्पतालले आईसीयूमा भएको बिरामीलाई समेत लापरबाही गर्दा यो दिन भोग्नुपर्यो । छोरा प्रताप रिमालले साझा कथासँग गुनासो पोखे – ‘अस्पतालले बिरामी कुरुवा बस्नु पर्दैन भन्ने अनि आफूले पनि केयर नगर्ने ।’ बुबाले रातभर दुख्यो, परिवारलाई बोलाइदेऊ भन्दा पनि अस्पतालले आफूहरुलाई खबर नगरेको उनको गुनासो छ । दुखाई कम गर्ने औषधि फेन्टाइल अत्याधिक खुवाइएको, आईसीयूमा रहेका नर्सिङ टिमले लापरबाही गरेको र बुबाको उपचारका क्रममा डाक्टरले नै झुट बोलेको भन्दै छोरा प्रतापले अन्यायको विरुद्ध अदालत र नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी दिइएको जानकारी गराए ।

लपरबाहीकै कारण बुबाको हातमा समस्या आएको र उपचारको अरु कुनै विकल्प नभएपछि हातको अप्रेसन गर्नु परेको उनको भनाइ छ । सोही कारण अत्याधिक रक्तस्राव भएर बुबाको मृत्यु भएको परिवारको दाबी छ । अस्पतालले गल्ति गरेका थुप्रै प्रमाणहरु आफूसँग रहेको छोरा प्रताप बताउँछन् ।

रिमालको मृत्यु पछि अस्पतालले अस्पतालले गल्ति स्वीकार्दैउपचारमा लागेको कुनै पनि शुल्क नलिएको पनि प्रतापले बताए । रिमालकी छोरी ज्योति रिमाल पनि चिकित्सक हुन् । उनी हाल अमेरिकामा कार्यरत छिन् । उनै ज्योतीले बुबाको उपचारको क्रममा अस्पतालको कमजोरी पत्ता लगाएकी हुन् ।

यसैबीच, मेडिसिटी अस्पतालले परिवारको गुनासोपछि छानबिन समिति गठन गरेको थियो ।

पाँच सदस्यीय छानबिन समिति गठन गरेपनि त्यसको निश्कर्ष भने अस्पतालले सार्वजनिक गरेको छैन ।


One thought on “ज्ञानु रिमालको मृत्यु अस्पतालको लापरवाहीबाट भएको परिवारको दावी

Comments are closed.