धुनीबेशी –४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

287 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२३ मंसिर २०८१ ।  जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित जिल्ला अदालत धादिङबाट ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धादिङ प्रहरी स्रोतले उनीहरूविरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको बताएको छ ।

वडासचिव मिलन कुमार सुवेदी, वडाध्यक्ष हरिप्रसाद सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियारलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीले उनीहरूविरुद्ध कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको बताए । उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको आरोप छ ।

जमुना र नाबालक छोराको नाममा रहेको जग्गा बेच्नका लागि कीर्ते जन्मदर्ता बनाएर नाबालकलाई साबालक बनाइएको थियो । एक अनुसन्धान अधिकृतका अनुसार करोड भन्दा बढी मूल्यको जग्गा साबालक छोराको समेत अनुमति भनेर बेचेको खुलासा गरिएको छ । यो समूहले यसवापत केही रकम समेत लिएको प्रहरीको भनाई छ ।

यता वडाध्यक्ष सुवेदी पक्राउ पुर्जी जारी भएपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । एक अनुसन्धान अधिकृतले प्रतिवादीहरुलाई पक्राउ गरेपछि यसबारेमा सत्यतथ्य पत्ता लाग्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *