अस्पतालकाे इमर्जेन्सी सेवा- अब यसो गरे कसो होला ?
167 पटक पढिएको
जाडोको समय-बेलुकाको साढे सात बजेको थियो। कामको व्यस्तताले मैले बिहानको खाना पनि खाएको थिइन। भर्खरै कोठामा पसेको मात्रै थिएँ।घरबेटी दिदी हतारिएर हस्याङ फस्याङ गर्दै म भएतिर आउनुभयो। र भन्नुभयो हस्पिटल गइहाल्नुपर्ने भयो दाइलाई गाह्रो भयो। मैले हस् हुन्छ भने फुकाल्दै गरेको जुत्ता फेरि लगाएँ। मैले दाइको अनुहारमा हेरे कान एकदमै धेरै राता र बाक्ला देखिन्थे। मैले धेरै सोध्ने मेसो नै निकालिन। हतार हतारो हामी लिफ्टबाट झर्यौ र गाडीमा बस्यौं। उहाँले गाडीको सिसा खोल्न भन्नुभयो मैले खोलेँ। झन्डै १० किलोमिटर भित्रै सुविधा सम्पन्न अस्पताल थियो। तर दुई ३ किलोमिटर दगुर्दै उहाँले मसिनो स्वरमा भन्नुभयो कि म झन्डै पास आउट भए !
मनमा असहजता भएपनि मैले उहाँलाई सान्त्वना दिँदै भने नआत्तिनुहोस् हस्पिटल पुग्न लागिसक्यो। अस्पताल पुग्ने बित्तिकै कार्ड निकालेर उहाँको टिकट बनाइयो। तुरुन्तै ट्रियाज गर्ने ठाउँमा रहने डाक्टरले बोलाउनुभयो। त्यहाँ पुग्यौ त्यसपछि उहाँले ब्लड प्रेसर र पल्स अक्सिजन नाप्नुभयो। मैले प्रेसर देखेको नदेखै गरेको थिएँ। तर दाइको प्रेसर दाइले नै मलाई देखाउँदै भन्नुभयो हेर्नुस् त प्रेसर। मैले अँ अलिकति बढी रहेछ भने। त्यहाँ डाक्टरले उहाँले जचाउनुपर्ने र जानुपर्ने सबै विभागका मसिना स्टिकरहरू प्रिन्ट गरेर दिनुभयो र अरेन्ज कलरको बेल्ट उहाँलाई र साथीका हिसाबले मलाई गुलाबी कलरको रिस्टबेल्ट बाँधिदिनुभयो।
हामी बाहिर निस्क्यौँ। निस्कने बित्तिकै इसीजी वार्डबाट उहाँलाई बोलाइयो। त्यहाँ गइयो इसीजी गरियो र बाहिर निस्कियो। निस्कँदा निस्कँदै क्याबिन १३ बाट उहाँलाई बोलाइयो। फेरि गयौ प्रेसर इत्यादि नापेर डाक्टरले मेडिकल हिस्ट्री सहित आज भएको सबै कुरा सोधीखोजी गर्नुभयो। छाती दुखेको सास फेर्न गाह्रो भएको मुटु छेउको मसल दुखेको र बान्ता समेत भएको आदि आदि र सामान्य फिजिकल चेकअप सकिएपछि हामीलाई डाक्टरले बाहिर पठाउनुभयो। बाहिर निस्कँदा निस्कँदै हामीलाई प्याथोलोजीबाट बोलाइयो। प्याथोलोजी गइयो र रगत दिएर बाहिर निस्कियो। निस्कँदा निस्कँदै फार्मेसी वार्डमा बोलाइयो र उहाँलाई औषधिहरू दिइयो। औषधि खाएपछि हामीलाई कुर्न भनियो हामी बाहिर निस्क्यौं र कुर्ने कोठामा गई बस्यौँ। यति सबै प्रक्रिया करिबन ४५ मिनेटमा सकिएको छ।
हामीसँगै कुर्ने कोठामा एकजना नेपाली बहिनी र उहाँको साथी पनि कुर्दै हुनुहुँदो रहेछ। उहाँहरूको हरियो रिस्ट ब्यान्ड परेको रहेछ। बहिनी नयाँ हुनाले उहाँले केही प्रक्रियागत कुराहरू सोध्नुभयो। हामीले भन्यौ। उहाँले सुनाउनुभयो म पाँच घण्टादेखि पर्खाईमा छु। तर तपाईँहरू आउँदाआउँदै यति धेरै कुरा सकिसक्नु भएछ। कुर्ने ठाउँमा मात्रै करिब ३०० मान्छेहरु कुरिरहेका थिए। भने माथिको प्रक्रिया पनि चलिरहेकै थियो। अनि यो सबै प्रक्रियालाई बिरामीको गम्भीरतालाई हेरी दिइएको रिस्ट ब्यान्ड कम्प्युटरबाट निर्दिष्ट भइरहेको थियो। अनि ल्याब तथा अन्य सुविधाहरूको कुनै शुल्क लाग्दैन। हाम्रो परिवेशमा निःशुल्क गर्न नसके पनि व्यवस्थित भने पक्कै गर्न सकिनेछ। सुन्दा अचम्म लाग्ने तर इमर्जेन्सी अस्पताल जाँदा परदेशमा यसरी बिरामीलाई उसको अवस्था हेरेर अस्पतालमा बिरामीको चाप व्यवस्थापन गरिन्छ।
अब हाम्रो नेपालमा हेरियो भने सामान्य रुघाखोकीदेखि गम्भीर प्रकृतिका बिमारीहरू समेत सबै इमर्जेन्सीमै दौडिने र इमर्जेन्सी कक्षलाई अनावश्यक रुपमा भिडभाड गरी असहजता सिर्जना गर्ने उसै एक बिरामीको इमर्जेन्सीमा जाँदा समेत १० /१५ जना हो हल्ला गर्दै इमर्जेन्सी कक्षलाई अनावश्यक प्रेसरमा र डक्टरहरूलाई दबाबमा राख्न उद्दत हुन्छौं। अझै भन्ने हो भने इमर्जेन्सी कस्तो कस्तो केसलाई मान्ने कस्तो बेलामा इमर्जेन्सी हस्पिटल जाने जस्ता कुराहरुमा पनि हामी स्वयं अव्यवस्थित छौँ। यो पनि यो त्रियाज सिस्टमले कन्ट्रोल गरिदिनेछ। हामीसँग त्रियाज कोठा छुट्टै पनि छैन। बिरामीको गाम्भीर्यतालाई हेरेर उतिखेर नै इसीजी गर्ने मान्छे उपस्थित पनि हुँदैन। तत्काल ल्याबमा बोलाएर काम सुरु पनि हुँदैन। यी र यस्ता इमर्जेन्सी केसमा अस्पताल पुग्ने बिरामीहरूलाई त्काल सहयोग पुर्याउन चाहिने महत्त्वपूर्ण अवयवहरू हाम्रा परिवेशमा सक्रिय र व्यवस्थित छैनन्।
बिरामीको गाम्भीर्यता र प्रकृति हेरी एकजना मात्र बिरामीको साथी सहित त्रियाज गर्ने सिस्टम राखी हरियो निलो पहेलो सुन्तला रातो लगायतका रिस्ट ब्यान्डहरू लगाई तिनीहरूको पालो हरियोको न्यूनतम चार घण्टा निलोको न्यूनतम ३ घण्टा पहेलोको न्यूनतम दुई घण्टा सुन्तला रङ्गको तत्कालै र रातो रङ्गको अपर्झट सेवा सुविधा दिने गरी विदेशमा प्रदान गरिएको जो सुविधा छ त्यो अवलम्बन गर्न सके कसो होला?
- प्रतिकृयाका लागि [email protected]
धन्यवाद सर लेखको लागि ।तर हाम्रो परिवेशमा नागरिक बाट कहिले बुझिदिने, रुघाखोकी लागेको बिरामी नै आकस्मिक शाखामा हल्ला गर्दै अधिकारको दुहाइ दिन्छन् , सिरियस त बोल्न सक्दैनन् यसै नि।चिकित्सा बिज्ञानको कुरा र सेवाको जटिलता नबुझ्दे पछी के लाग्छ र