पृथ्वीराजमार्गमा क्रसर व्यवसायीको ट्रिपरको अवरोध

731 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,४ जेष्ठ triffer 4 – तीन महिना अघि बन्द चक्काजाम निषेधित क्षेत्र घोषणा गरिएको पृथ्वीराजमार्ग अन्तर्गत नौविसे मुग्लिन खण्डको थाक्रेस्थित जुगेखोलामा आईतबार दिउँसो देखि क्रसर व्यवसायीले खाली ट्रिपर राखेपछि सवारी आउजाउ गर्न अवरोध भएको छ ।

क्रसर व्यवसायीहरुले जुगेखोलादेखि करिब दुई किमि मुग्लिन तर्फ खाली ट्रिपरहरु सडकको एकतफिर् राखेपछि सवारी आउजाउमा अवरोध पुगेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । २० दिन देखि सरकारी मापदण्ड पुरा गर्न नसकिने भन्दै आन्दोलनमा रहेका क्रसर व्यवसयीले उद्योग अघि राजमार्गमा करिब दुई सय वटा ट्रिपर प्रदर्शन गरेका हुन् । राजमार्गको एकातर्फ ट्रिपर राखेर अवरोध गरेपछि सवारी आउजाउमा समस्या भएको र दिनभर राजमार्गमा ट्राफिक जाम भएको प्रहरी निरीक्षक कृष्ण चन्दले जानकारी दिए । स्थानिय प्रशासनले तीन महिना अघि बन्द चक्काजाम निषेधित क्षेत्र घोषणा गरिएको राजमार्गमा पहिलो पटक क्रसर व्यवसायीले अवरोध गरेका हुन् ।

दैनिक सात हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने राजमार्गमा एकतफिर् ट्रिपर तेर्साएपछि सवारी साधन र यात्रुहरु समयमा गन्तव्यमा पुग्न नसकेको ट्राफिक प्रहरीका असई जयराम पुडासैनीले जानकारी दिए । ‘ट्रिपरहरुले अवरोध गरेपछि पालैपालो दुवै तर्फका सवारी साधन पास गराएका छौं,’ उनले भने । ट्रिपरका कारण राजमार्गमा अवरोध पुगेपछि सवारी साधनहरु जाममा परेका छन् ।

क्रसर उद्योगहरुले उत्पादन गरेका रोडा, गिट्टी, ढुङ्गा र बालुवा बोक्ने टि्रपरहरु राजमार्गमा प्रदर्शन गरिएको धादिङ क्रसर व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिए । ‘सडकका लागि हामीले पनि कर तिरेका छौँ,’ उनले भने, ‘ट्रिपरहरुले काम नपाएपछि सडकमा लगेर राख्यौ ।’

जथाभावी प्राकृतिक सम्पदा (खोला, नदि) दोहन गर्दै आएका क्रसर व्यवसायी सरकारले बनाएको मापदण्ड पुरा गर्नुको सट्टा क्रसर उद्योग बन्द गराएर आन्दोलित भएका छन् । उनीहरुले उत्पादन गरेका सामग्री समेत नियात गरेका छैनन ।

सरकारले क्रसर उद्योगहरु राजमार्ग र खोला किनारबाट ५ सय मिटर, विद्युत लाईनबाट एक सय र सार्वजनिक सम्पत्ति रहेको स्थानबाट दुई किमी टाढा हुनु पर्ने र नदि तथा खोलामा स्काभेटर प्रयोग गर्न नपाईने मापदण्ड तोकेको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाईमा देशभरका क्रसर व्यवसायी आन्दोलन थालेपछि यहाँ पनि बन्द गरिएको हो इ कान्तिपुर डट कमले खबर लेखेको छ । ।