ऐतिहासिकता बोकेको म्हन्दङ

1088 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोपाल फ्युवा तामाङ
gopal fyubaaकुरीमा म्हन्दङसँग जोडिएका थुप्रै मौखिक अहानहरु छन् । साथै म्हन्दङ म्हानेहरु रहेका छन् । अहिले ती म्हानेहरु जीर्ण हुदै गएका छन् । साथै अतिक्रमणको चेपुवामा समेत परेका छन् भनी त्यहीका एक युवा कृष्णबहादुर गुरुङले सत्य के हो ? भनि अध्ययन गरिदिन सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको आग्रह मुताविक स्थलगत भ्रमण पश्चात प्राप्त तथ्यलाई यस आलेखमा उतार्ने प्रयास गरिएको छ । उठान उहिले ङ्हेमा कु दवा कु उत्पति भएको बेलामा सन्या दोन्याको समयमा क्रमशः मानव वस्ति बसाउने क्रममा लापा गिलीले, तिप्लिङ खोर्वाले, बरङ लरचेनले, झर्नङ नवरीले, किम्तङ टुन्टीले, स्हङ्ग छेवङले लिए । त्यसक्रममा गिलिङचो न्हुप्चे अखे ङ्अचे न्यापे कुरी सेर्की लुम्बु युई दुङ्मा (गिलिङचोबाट दक्षिणपट्टि पाचौं बराजुले स्थापना गरेको सुनको चउर कुरीगाउँ)मा म्हन्दङ निर्माण गर्न लगाए । नामकरण म्हन्दङ शब्द तामाङ भाषाको म्हङ (भूत) र दङ (लखेट्नु) सँग सम्बन्धित छ । भुतप्रेतलाई पवित्र मन्त्रहरु लेखिएको शिलाहरुले घेरिएर बनाएको म्हाने पर्खाल भित्र बन्द गरिएको भन्ने कथन पनि पाइन्छ । यसलाई मान्ने हो भने म्हङ (भूत) न्हङ(भित्र) वा म्हङ(भुत) नेन(तह लाउनु) भन्ने हुन्छ । म्हङदङ, म्हङन्हङ वा म्हङनेन मध्ये कुनै एक शब्द अपभ्रंश भएर म्हन्दङ भएको हो । 11039577_10205228722574244_274060821_nऐतिहासिकता ल्हाप्साङकर्पो क्षेत्रमा प्रचलित म्हाने दोरा गीत गाउदा स्थान स्मरण गर्ने क्रममा म्हन्दङको नाम पनि पर्दछ । लामा, बोम्पो, लप्ताआपा, लम्बुले सह्रीग्रङ्पको बेला म्हन्दङ फलाकेकै हुन्छ । म्हन्दङलाई रुराल्ह (रुरादेव) भनेर स्मरण गरिन्छ । म्हन्दङमा भएका शिलामा उमेद, उछेन लिपीको समेत प्रयोग भएको तर अधिकांशमा भने सम्भोटा लिपी भेटिएकाले सम्भोटा लिपि विकासकालमा यसको स्थापना भएको हुनसक्ने अनुमान छ । म्हन्दङसँग आमन्नेसामन्ने पर्ने गरी आपलस्योङमाथि ममखुङ ब्रा देवी रहेको छ । स्थानीयहरुका अनुसार म्हन्दङ फो र ममखुङब्रा मो भएको कथन छ । लिङ्ग समेत म्हन्दङमा पुरुष लिङ्ग र ममखुङब्रामा स्त्री लिङ्ग स्थापना गरिएका थिए । म्हानेहरु भएको त्यसमा टाढा अहिले सम्म आउनुले यसको ऐतिहासिकताको पुष्टि हुन्छ । प्रचलन म्हनदङमा वैशाख पुर्णिमा, भदौपूर्णिमा र फागुन पूर्णिमामा य्हुल्सङ गर्ने गरिन्छ । त्यस बेला टाढा टाढाबाट समेत बोम्पोहरु प्रार्थना तथा पूजा गर्न आउँदछन् । त्यस्तै कोही कसैको सातो बोलाउदा नआएमा, मानसिक असन्तुलन भएमा र कडा रोग लागेर थलिएमा म्हन्दङमा अर्को बेला पनि आउँदछन् । बाहिरका वा स्थानिय जोसुकै त्यहाँ तीर्थ जाने भए पनि त्यहाँका स्थानिय लम्बुलाई जानकारी दिनु पर्दछ । लम्बुले विधि मुताविक त्यहाँ फोरो छर्कने, अण्डा राख्ने लगायतका कार्यहरु गर्दछ । विगतको अवस्था विगतमा फलाम तगारोभन्दा माथिका बस्तिहरुको जनता सबैको सहर पस्ने मुख्य बाटोमा म्हन्दङ पर्दथ्यो । त्यहाँबाट ब्युर्चेत, पर, किम्ताङ, म्यगङ, दोलेप, छिन्चेत (त्रिशुली), थाप्लो, फेकनी, पाँचम्हाने हुदै याम्बु(काठमडौं) पुग्दथ्यो । तामाङ ऐतिहासिक गाउँहरुमा छिर्दा ग्युलम्हाने भएर छिर्दथ्यो । कुरी गाउँ छिर्ने स्थानमा ग्युलम्हाने थियो त्यसपछि लस्कारै करिव एकसय मिटर जति दुबैपट्टि भारी बिसाउन मिल्ने म्हाने पर्खाल र सानाठूला थुप्रै म्हानेहरु थिए । स्थानियहरुका अनुसार गेर्सगी (१०८) वटा भएको अनुमान छ । ठूला र महत्वपूर्ण भने तिनओटा थिए, जहाँ बोम्पोहरु पुजा पाठ गरिन्थ्यो । ममखुङ भिरसँग आमन्नेसामन्ने भएकोले म्हन्दङको एक म्हानेमा पुरुष लिङ्ग समेत रहेको थियो । वर्तमान अवस्था अहिले म्हन्दङ चेपुवामा परेको छ । पहिला ग्युलम्हाने भएको स्थानमा अहिले घर ठडिएको छ । बाटो बन्द छ । गजिली हुदै आएको पूरानो बाटो विचमै सिद्धिएको छ । अहिले नयाँबाटो मार्फत आवतजावत हुने गर्दछ । म्हन्दङ म्हानेसँगै व्यक्तिगत गोठ बनाइएको छ । एक पटक तितरवितर भएका म्हन्दङका शिलालेखहरु केही सङ्कलन गरि म्हाने पर्खाल निर्माण गरेका छन् । ग्युलम्हाने अन्य स्थानमा नयाँ निर्माण गरिएको छ । पूराना केही पवित्र मानिने स्थानमा ल्याक्चेकुण्ड निमाविको लागि शौचालय बनाएको छ । तिन वटा ठूला म्हाने, भग्न अवस्थाका केही साना म्हानेहरु, एक सय मिटरजति म्हाने पर्खाल र एक ग्युलम्हानेलाई नै अहिले म्हन्दङ भनेर सम्झिनु परिरहेको छ । संरक्षणका प्रयासहरु म्हन्दङ पूरानै अवस्थामा राखिनु पर्दछ भन्नेमा बेलाबेलामा तातो वहस हुने गर्दछ । शिलालेखहरु तितरवितर भएकोमा अहिले बिस्तारै एक एक गरी बटुल्ने प्रयास भइरहेको छ । सामान्यतया जग्गा धनिलाई मूल्य तिरेर भएपनि सो स्थान लिने भन्नेमा कुरीका धेरै जन सहमत छन् । गाउँ विकास समितिको अनुदानमा ग्युलम्हाने पुननिर्माण गरिएको छ । तर व्यक्तिगत पहलमा हुने यस्ता संरक्षणका प्रयासहरुको अवलम्बन र निरन्तरता हुन सकिरहेको छैन । अब के ? म्हन्दङ आफैमा कुरी गाउँ र आसपासका गाउँको धार्मिक आश्थाको केन्द्र हो । पहिचानको एक माध्यम हो । म्हन्दङबाट यस वरपरका लोप्चन सभ्यता विकास भएको अनुमान गर्न सकिन्छ । नजिकै सुन्दर मनोरम ल्हक्चे, ग्युङ, विजिलीयुङ लगायतका ऐतिहासिक पर्यटकीय महत्वका स्थानहरु अवस्थित छ । यहाँबाट तातोपानी र सिङ्ल्ह जस्ता पवित्र ठाउँहरु नजिकै हुने हुनाले एक रात पर्यटकलाई राख्ने व्यवस्था मिलाउन सके आर्थिकरुपमा पनि अगाडि बढ्न सकिने अवस्था छ । म्हन्दङ र यसको सभ्यता, महत्वको अध्ययन गरी यसको संरक्षण र पुननिर्माणमा लाग्नु पर्ने अवस्था देखिन्छ । म्हन्दङ आफैमा एउटा इतिहास बनेर उभिरहेको छ । यसको ऐतिहासिकता निमिट्यान्न पार्ने प्रयासहरु असफल पार्न म्हन्दङ विकास समिति गठन गरि संस्थागत हिसावले संरक्षणमा जुट्नुको विकल्प छैन । सरकारी सम्बन्धित निकाय पुरातत्व विभाग, गुम्बा विकास समिति, मालपोत कार्यलयसँग तामाङ जातिय संस्थाहरुले समन्वय गरिदिनु आवश्यक छ । खोज, अध्ययन गरी प्राप्त तथ्यहरुलाई सार्वजनिक गरेर युवापुस्तालाई म्हन्दङ प्रति माया, ममता र भरोशा जगाउनु पर्दछ । अतिक्रमण र संरक्षणको अभावमा जिर्ण भएको म्हन्दङ तव ऐतिहासिकता बोकेको सबैको पूज्य म्हन्दङ हुन सक्दछ ।
२०७१ फागुन १८