जलयात्राको गन्तव्य त्रिशूली नदी

1891 पटक पढिएको

प्रकाशित मिति: २०७४, ७ चैत्र बुधबार १९:०५

सम्पादक: धादिङ न्यूज


केशव अधिकारी
धादिङ, ७ चैत – एक दशक अघि देखि धमिलो हुंदै गएको त्रिशूली नदीमा सफा पानी बग्न सुरु भएसंगै ¥याफ्टिङ्ग गर्ने पर्यटकहरु आउन थालेका छन् ।
नेपालमा जलयात्राको प्रारम्भ सन १९६० मा त्रिशूली नदीको महेश दोभानबाट भएको इतिहास छ । त्यतिबेला गोराहरूले नेपाल आएर पोखरा, लुम्विनि घुम्न जानेक्रममा क्रममा पहिलो व्यवसायिक जलयात्रा त्रिशूली नदीमा गरेको जलपर्यटन व्यवसायी मेघ आले वताउँछन । शुरुमा विदेशीहरुले मात्रै जलयात्रा गर्ने गरेकोमा सन् १९७० मा नेपालीहरूले व्यावसायिक जलयात्रा प्रारम्भ गरेको पनि आलेले वताए । हिमालयन रिभर एक्स्पो र लामा एक्स्पोले नेपालमा व्यवसायिक जलयात्रा सुरु गरेको नेपाल ¥याफ्टिङ एसोसिएसनका सल्लाहकार सुदीप गौतमले जानकारी दिए ।
जलयात्राको इतिहास बोकेको त्रिशूली नदीको अवस्था १२ वर्षयता प्रदुषणको चपेटामा पर्दै जाँदा सबैभन्दा बढी चिन्तित जलयात्रा व्यवसायी बनेका छन् । स्थानीय पर्यावरणमा असर पर्ने उद्योग बालुवा प्रशोधन गरेको पानी सिधै नदीमा मिसाईदिंदा त्रिशूली नदीको अस्तित्व संकटमा परेको हो ।
१० वर्षअघिसम्म जलयात्रामा रिभर गाइडमात्र नेपाली हुने गरेकोमा पछिल्लो समय नेपाली युवाहरूको आकर्षण जलयात्रामा बढेको छ । नेपालमा त्रिशूली नदीलाई जलयात्रामा सुरक्षित मानिन्छ । काठमाडौँ बाट नजिक र त्रिशूलीमा जलयात्रा गरेर पोखरा, बन्दीपुर, सौराहा, लुम्बिनी एकै दिनमा पुग्न सक्ने भएका कारण पनि त्रिशूली नदी जलयात्राको रोजाइमा परेको हो ।
काठमाडौंबाट ५० किलोमिटरमा पर्ने त्रिशूली नदीमा सरकारी गैरसरकारी र कूटनीतिक नियोगमा काम गर्नेहरूका लागि होस वा व्यवसायमा संलग्न हुन वा विद्यार्थी, त्रिशूली नदीमा जलयात्रासँगै पिकनिकमा जम्न चाहन्छन । त्यसका लागि व्यवसायीहरूले एक दिने प्याकेजसमेत बनाउने गरेका छन । यातायातको सुविधासहित बिहान काठमाडौंबाटै त्रिशूली नदीमा ल्याएर खाजा, खाना र जलयात्रा गराएर काठमाडौँ पुर्याउने प्याकेज बनाएका कारण पनि सबैलाई जलयात्राले तानेको छ । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीसहित व्यवसायी, विद्यार्थी पनि मौसमअनुसार जलयात्रामा सहभागी हुने गरेका छन् ।
जलयात्रा र रिभर गाइडमा निपूर्णहरूका लागि १६ वर्षदेखि हिमालयन ह्वाईट वाटर च्यालेन्ज अफ रिभर फेष्टिवल समेत हुँदै आएको छ । प्रतियोगिताको आयोजना नेपाल ¥याफ्टिङ एसोसिएसनले गर्दै आएको छ । प्रतियोगितामा साहसिक जलयात्रीहरूले प्रतिस्पर्धा गर्ने जलपर्यटन व्यवसायी बिष्णुहरि सिलवाल वताउँछन ।
हरेक वर्ष प्रतियोगितामा भाग लिनेको संख्या वृद्धि भइरहेको छ । प्रतियोगिताले जलयात्री र रिभर गाइडको सीप, क्षमता र मनोवलमा वृद्धि हुनुका साथै जलयात्रा गर्नेको संख्यामा वृद्धि हुने गरेको छ । मानवीय र प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि सरोकारवालाहरू संरक्षण गर्न आन्दोलित हुंदै आएका छन् । नदी संरक्षण नीति नभएका कारण नदी अतिक्रमण, प्रदूषित तथा विनाश गर्न मानिसहरू सक्रिय भएर लागेको भन्दै नदी संरक्षण नीति ल्याउन पर्यटन व्यवसायीहरुको दवाव छ ।
नेपालका भएका करिब ६ हजार नदीनालामध्ये अधिकांश ठूला नदीहरू पर्यटकीय हिसाबले र अन्य खोलाहरू वातावरणीय हिसाबले महत्वपूर्ण रहेको मानिन्छ । ती नदी तथा खोला संरक्षण गर्न नीति आवश्यक र संरक्षण गर्न सचेतना फैलाउन स्वदेशी तथा विदेशीहरूले र्याली प्रर्दशन गरेका छन् । जलप्रेमी जनसमुदाय एकजुट भई नदी तथा खोला संरक्षणमा लाग्नु पर्ने त्रिशूली बचाउ साझा सञ्जालका संस्थापक उत्तम कँडेलको भनाई छ ।
त्रिशूली नदी त्रिभुवन विमानस्थलबाट सबैभन्दा नजिक रहेको र जलयात्रा लागि पनि सुरक्षित नदी मानिएको पर्यटन व्यवसायीहरुको भनाई छ । राजधानीबाट अन्य ठूला सहर जोड्ने मुख्य त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग त्रिशूली नदी किनारमै रहेकोले पनि यस्को महत्व रहेको छ । नदीलाई स्वच्छ र सफा राख्न सकिए दशौँ हजार आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रा गराउन सकिने कोर एडभेन्चर नेपाल प्राइभेट लिमिटेडका भिष्मराज थपलियाको भनाइ छ ।
त्रिशूली नदीको हैसियत दिनप्रतिदिन बिग्रदै गएपछि त्रिशूली बचाउ साझा सञ्जाललाई त्रिशूली बचाउ महाअभियानका रूपमा प्रचारप्रसार र विभिन्न कार्यक्रमहरू गर्न सचेत समुदाय स्वतस्फुर्त रूपमा सडकमा उत्रने गरेको प्रकृति सम्पदा संरक्षण समितिका संयोजक श्रवण कुमार त्रिपाठीले बताए ।
त्रिशूली नदीलाई सम्पदा नदीका रूपमा घोषणा गर्नुपर्ने, राजनीतिक दल, स्थानीय प्रशासन र तस्करहरूबीचको मिलेमतोमामा हुने नदीजन्य भ्रष्टाचार बन्द गरिनुपर्ने र त्रिशूली नदीलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको रूपमा विकास गर्नु पर्ने त्रिशूली बचाउन साझा सञ्जालका संस्थापक कँडेलले बताउँछन ।
एक साता देखि त्रिशूली नदी १० वर्षअघिकै अवस्थामा वग्न थालेकोमा नदी संरक्षणमा जुट्दै आएकाहरु मात्रै होइन नदी छेउछाउका वस्तिका वासिन्दा समेत खुसी भएका छन । केही बर्ष अघि सम्म नदी छेउछाउका वासिन्दाले निर्वाध रुपमा त्रिशूली नदीको पानी पिउनका लागि समेत प्रयोग गर्ने गरेकोमा अहिले त्यो अवस्था नरहेको मलेखुका शिव पाण्डे बताउँछन ।
एक साता देखि त्रिशूलीको स्वरुप परिवर्तन भई सफा वग्न थालेपनि यस अघि त्रिशूली बाह्रै महिना धमिलो बग्ने गरेको थियो । खानीमा निकालिएको बालुवा धोएको पानी शुद्धिकरण नगरी नदीमा मिसाउनाले सधैं त्रिशूली नदी धमिलो बग्ने गरेको हो । नदी किनार र बगरमा स्काभेटरसमेतको प्रयोग गरेर उत्खनन गर्दा पर्यावरणमा असर पर्ने र नदीमा आश्रितहरुको रोजीरोटी समेत खोसिएको गजुरीका तिर्थ सिलवालले वताए ।
त्रिशूली नदीलाई प्राकृतिक रुपरंगमा निरन्तर बहावमा रहन दिने हो भने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायीहरु वताउँछन । सरकारी नीति नियमको उल्लंघन गर्नेहरूका कारण त्रिशूली नदीमा धमिलो पानी मिसाउने र नदी किनारमा फोहोर फाल्नाले त्रिशूली नदी कुरुप भएको गुनासो बढ्दै गएकाले यस्को संरक्षणका निम्ति पनि प्रदेशमा अब वन्ने कानूनमा स्पष्ट निति नियम वनाईने ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताए । त्रिशूली नदीलाई जल यात्राको मुख्य गन्तव्य बनाउन सम्पदा संरक्षणको सूचीमा राखेर संरक्षण र प्रवद्र्धनमा जोड दिने गरी प्रदेश कानून बनाईने मन्त्री जमकट्टेलको भनाई छ ।
पर्यटन क्षेत्रमा लगानीको चार सय प्रतिशत राज्यको कोषमा राजश्व उठ्ने पर्यटन व्यवसायीहरू दाबी गर्छन । त्रिशूली नदी बगरको आडमा रेष्टुरेण्ट चलाउने, राजमार्गका छेउमा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा ल्याउने सके जलयात्रामा विदेशीलाई आकर्षण बढाउन सकिन्छ । जलयात्रा व्यावसायी, रिभर गाइड, होटल तथा रेष्टुरेण्ट सञ्चालक, कृषि उत्पादक सबैलाई रोजगार सृजना भई पेशा व्यवसाय गरेर सबैले आर्थिक उपार्जन गर्ने राम्रो माध्यम त्रिशूली नदी बन्न सक्ने पर्यटन व्यवसायीहरुको दावी छ ।
धादिङ जिल्ला स्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले मापदण्ड विपरित संचालीत सबै बालुवा खानी र उद्योगहरु बन्द गरेसंगै एक साता अघिबाट त्रिशूली नदीमा सफा पानी बग्न थालेको हो ।
जिल्लामा संचालन हुदै आएका बालुवा धुने फिरफिरेहरुले बालुवा पखाल्दा निस्किएको लेदो मिसिएको पानी सिधै त्रिशूली नदीमा मिसाईदिने गरेकाले नदी प्रदुषित बन्दै गएको थियो । नदीको अस्तित्वनै समाप्त हुने गरी बढ्दै गएको प्रदुषण रोकथामका लागि चौतर्फि विरोध हुंदै आएको भएपनि नियन्त्रण भने हुन सकेको थिएन ।
धार्मिक,सांस्कृतिक एवं पर्यटकीय दृष्टिबाट निकै महत्वपुर्ण मानिएको त्रिशूली नदी प्रदुषणका कारण नदीको अस्तित्व नै संकटमा पर्नुका साथै यहाँबाट संचालित जलयात्रा (¥याफ्टिङ) व्यवसाय समेत प्रभावित भएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७४, ७ चैत्र बुधबार १९:०५ मा प्रकाशित