हिमालकी परी गणेश हिमाल

841 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

Ganesh Himal

मानछिरिङ तामाङ

धादिङ जिल्लाको उत्तरी क्षेत्र तिप्लिङ, सेर्तुङ, झारलाङ, लापा, रि र दार्खा गाविसहरुमा प्रचुर मात्रामा सुन्दर र मनमोहक दृश्यहरु भएका स्थलहरु भएपनि प्रचार–प्रसारको अभावले आजसम्म पर्यटनस्थलको रुपमा चिनिन सकेका छैन् । यस क्षेत्रको सुन्दर र मनमोहक प्राकृतिक स्थलहरुलाई पर्यटकीय क्षेत्र घोषित गर्न कसैको पनि ध्यान केन्द्रित भएको छैन् ।

उत्तरी क्षेत्रमा चाँदीका पर्खाल जस्तो देखिने गगनचुम्बी गणेश र प्यालदोर हिमाल, हरिया पछ्यौरी तथा सारीमा लजाएकी रुपवती जस्तै लाग्ने पाङसाङ भञ्ज्याङ, सिङला, च्याम्रा, गणेश कुण्ड जस्ता पहाडी तरेलीहरु, हेर्न आउने पर्यटकहरुलाई मन्त्रमुग्ध पार्दै जो सुकैलाई सजिलै लोभ्याउँछ । यहाँका कालो र सेतो दह, डुब्चु दह, सिङला, पाङसाङ भञ्ज्याङ, र च्याम्रा जस्ता क्षेत्रहरुलाई पर्यटकीय स्थलको रुपमा घोषित गर्नु नितान्त आवश्यक देखिन्छ । जसवाट पर्यटन उद्योगले गति लिन सक्छ ।

अहिले धादिङ जिल्लाको उत्तरी भेगमा नयाँ पर्यटकीय पदयात्रा मार्गको खोजी गर्न गठित टोलीले आफ्नो खोजी कार्य सम्पन्न गरेको छ । पर्यटकीय स्थलको खोजी गर्ने क्रममा १८ दिने पदयात्राको समेत आयोजना गरिएको थियो । सो टोलीले विभिन्न हिमशृंखला तथा धार्मिक सांस्कृतिक एवं पर्यटकीय सम्भावनाको खोजी समेत गरेको थियो । टेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले जिल्ला विकास समिति धादिङ र गणेश हिमाल पर्यटन विकास समितिसँगको समन्वयमा पदयात्राको नयाँ गन्तव्य पहिचानका लागि विशेष अभियान सञ्चालन गरेको हो ।

धादिङका विभिन्न महत्वपुर्ण पर्यटकीय स्थलको भिडियो छाँयाकन तथा डकुमेन्ट्री, निर्माण फोटो संकलन तथा पदयात्राको नक्सांकनका लागि विषयगत क्षेत्रका प्राविधिकसहित टोलीले काम गरेको थियो ।

यस जिल्लाको आर्थिक एंव दिगो विकासका निम्ति जिल्लामा पर्यटक भित्र्याउन नयाँ पदयात्राका लागि सम्भाव्य गन्तव्य हुन सक्ने प्रशस्त आधार रहेकाले यो जिल्लामा पदयात्रा अनुसन्धान तथा विकास कार्यक्रमको आयोजना गरिएको टानले जनाएको छ ।

लारीपास, पाल्दोर पिकजस्ता रमरणीय उच्च अवलोकन केन्द्र रहेको धादिङ जिल्लाको गणेश हिमाल क्षेत्रमा रहेका सांस्कृतिक धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको खोजी गर्ने पदयात्रा अभियानको लक्ष्य थियो । धादिङ जिल्लालाई पर्वतीय पर्यटनको गन्तव्य बनाउन सकिए गणेश हिमाल पदयात्राबाट ४ हजार उचाइमा रहेको पाङसाङपास, सिङलापासका साथै प्यालदोर बेस क्याम्प, गणेश हिमाल, पाविल हिमालको दृश्यावलोकन गर्न सकिने र संसारमै बहुमुल्य धातुका रुपमा परिचित रुविजको खानीस्थलसम्म पुग्न सकिने पर्यटन व्यवसायीहरुको भनाई छ । यसै गरी जिल्लाको उत्तरी भेगमा रहेको गंगाजमुना, विभिन्न गुम्वा, पुराना दरवार, नेपालकै ठुलोमध्येको सल्यानटार महाभारत पर्वत श्रृङखला, तामाङ समुदायको बसोबास, नेपालकै ठुलो गुफालगायतका स्थान पर्यटकीय गन्तव्य बन्न सक्ने व्यवसायीहरुले बताएका छन् ।

यस जिल्लाको त्रिशुली नदी ह्वाइट वाटर -याफ्टिङका लागि प्रसिद्ध छ । पर्यटनमा धादिङ जिल्लाका ३ सय भन्दा बढी व्यवसायी आबद्ध भएपनि पर्वतीय पर्यटन प्रर्वद्धन हुन नसकेपछि व्यवसायीहरु संगठित भएर अभियानमा जुट्नु परेको पर्यटन व्यवसायी तथा गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुलबहादुर गुरुङले बताए ।

वास्तवमा भन्ने हो भने गणेश हिमाल भनेको नेपालको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । सबैभन्दा पहिलो कुरा काठमाडौंबाट नजिक, अर्कोतिर प्राकृतिक र सांस्कृतिक दुवै दृष्टिकोणले निकै सम्भावना बोकेको क्षेत्रको रुपमा चिनिन्छ । यसको नजिकै लाङटाङ क्षेत्र र तामाङ हेरिटेज पनि रहेका छन् । अर्कोतिर यो क्षेत्र धार्मिक दृष्टिकोणले पनि निकै महत्वपुर्ण मानिन्छ ।

सबैभन्दा महत्वपुर्ण कुरा त यो क्षेत्रमा सबभन्दा बढी खनिजहरु पाइने भएकाले पनि यसको निकै महत्व रहेको पर्यटन व्यवसायी सरोज न्यौपाने बताउँछन् । गणेश हिमाल ट्रेकिङ ट्रेल एक्सप्लोरेसन ट्रिपको सह–संयोजक समेत रहेका न्यौपानेले गंगा जमुना ताल र यसका अलावा धादिङ, नुवाकोट, रसुवा र गोरखाका चारवटा जिल्लामा फैलिएको यो क्षेत्रको विकास गर्न सकेको खण्डमा यसलाई एभरेष्ट र अन्नपुर्णको विकल्पको रुपमा लैजान सकिने सम्भावना रहेको उनको जोड छ ।

न्यौपाने भन्छन्–‘पहिले अन्नपुर्णको जुन महत्व थियो, सडक विस्तारका कारण घटे्र गएको छ । अर्कोतिर, एभरेष्टमा बढी चाप भयो त्यसैले पनि गणेश हिमाल क्षेत्रलाई ती क्षेत्रहरुको विकल्पको रुपमा पनि विकास गर्ने सकिन्छ ।’

गणेश हिमाल रुट गणेश हिमाल क्षेत्र प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले निकै महत्वपुर्ण भएकोले उपयुक्त पर्यटन पदमार्गको रुपमा विकास गर्न सकिने पर्यटन व्यवसायीहरुले जोड दिएका छन् । यो क्षेत्रलाई पर्यटकको समय र रोजाईका आधारमा छनौट गर्न मिल्ने चारवटा रुटहरु विस्तार गर्न सकिनेछ । १२० कि. मी. लामो यो क्षेत्रमा १ हप्ता, २ हप्तादेखि १८ दिनसम्मको, ३ हप्तादेखि २५ दिनसम्मका फरक–फरक रुटहरु छन् । यो क्षेत्रमा पहिले सुरक्षाको खतरा छ भन्ने गम्भीर आरोप लाग्ने गर्दथ्यो । तर, अहिले सबै स्थानीय जनता र संघ–संस्थाहरुको पहलमा त्यो स्थितिमा सुधार आएको गणेश हिमाल ट्रेकिङ ट्रेल एक्सप्लोरेसन ट्रिपका संयोजक राजेन्द्र सुवेदीको भनाई छ । यो क्षेत्रको प्रमुख समस्या भनेको पूर्वाधार निर्माण हो । अन्य क्षेत्रमा जस्तो यो क्षेत्रमा पुर्वाधार निर्माण हुन सकेको छैन । यसको लागि स्थानीय जनतालाई होमस्टे विकास गर्न जनचेतना जगाउनुपर्ने पनि उत्तिकै खाँचो रहेको सुवेदी बताउँछन् । त्यस्तै, जिल्ला विकास समिति र नेपाल सरकारको बजेटले पनि त्यस क्षेत्रको विकासको पूर्वधारका लागि काम गर्ने बेला आएको छ ।

किन पर्यटन प्रर्बद्वन हुन सकेन त?
पर्यटकीय आर्कषणको प्रचुर सम्भावना भएर पनि गणेश हिमाल क्षेत्रको पर्यटन प्रर्बद्धन नहुनुमा स्थानीय जनतामा जनचेतना नभएको कारणलाई प्रमुख मानिएको छ । यो क्षेत्र धेरै पहिले नै चर्चामा रहेपनि स्थानीय जनता र राजनीति दलबाट आवश्यक सहयोग नहुनाले पर्यटन प्रर्बद्वन हुन नसकेको धेरैको गुनासो छ । गणेश हिमाल क्षेत्र अर्थात उत्तरी धादिङमा लामो समयदेखि राजनीति गर्दै आउनुभएका पूर्वमन्त्री एवं राप्रपाका नेता बुद्विमान तामाङले पर्यटन प्रर्वद्धनमा कुनै चासो नदेखाएको पर्यटन विज्ञहरुको आरोप छ ।
धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै पञ्चायत र बहुदल गरी पटक–पटक महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएपनि समग्र धादिङ जिल्लाको पर्यटन प्रर्बद्वनमा पूर्वमन्त्री तामाङले कुनै पनि उल्लेखनीय कार्य नगरेको जनगुनासो छ । यस्तै, एमालेबाट मन्त्री बनेकाहरु सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र गंगालाल तुलाधरले पनि पर्यटनको विकासमा सिन्को समेत भाँचेनन् । मन्त्रीत्रयले जिल्लालाई वेवास्ता गरी राजनीतिक अभिष्ट मात्रै पुरा गरे । अर्की क्रान्तिकारी महिला मन्त्री कल्पना धमलाले पनि उनीहरुकै पदचिन्ह पच्छाईन् । धमलाबाट धादिङका जनताले ठूला आसा गरेका थिए । तर, त्यो आसामाथि उनले तुषारापात गरिदिइन ।

राजनीतिक हिसाबले पछिल्लो समयमा उत्तरी धादिङ निकै खुकुलो भए पनि बिकासका पूर्वधार तथा पर्यटन प्रर्वद्वनका लागि भने स्थानीय तथा जिल्ला नेताहरुलाई कुनै चासो समेत देखिदैंन । जतिसुकै नयाँ नेपालको कुरा गरेता पनि हिजैदेखि चलि आएको परिपाटीमै माओवादी, काँग्रेस र एमाले पनि सक्रिय देखिन्छन् । ती राजनीतिक दलहरु पनि बिकासको नाममा आएको बजेटलाई भागबण्डा गरेर खान मात्रै पल्केका छन् । ‘जुन जोगी आए पनि कानै चिरेको’ भने झै जतिसुकै राजनीतिक परिर्वतन र नयाँ–नयाँ युवा पुस्ताका राजनीतिक कार्यकर्ता जन्मे पनि आफ्नै भुँडी भर्ने गरेको आरोप छ । धादिङ जिल्लाबाट जुनसुकै राजनीतिक दल सत्तामा पुगे पनि पर्यटन प्रर्बद्वनको लागि कुनै योजना र कार्य गरेको देखिदैंन ।

ऐतिहासिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण स्थानमा रहेका, लोप हुन लागेका मठ, मन्दिर, गुम्बा तथा पर्यटकीय स्थलहरुलाई संरक्षण र सम्र्बद्वन गर्नुपर्ने जिल्ला बिकास समिति धादिङको दायित्व भए पनि अहिलेसम्म खासै कार्य र योजना बनाएको देखिदैंन् । जिविस धादिङले पर्यटन प्रर्बद्धनका लागि ठोस योजना तथा कार्यक्रम बनाउनको लागि राजनीतिक दल तथा नागरिक समाजले बुलन्द आवाज उठाउनुपर्ने देखिन्छ ।

यस्तै, धादिङ जिल्लाबाट आएका व्यक्तिहरुले अहिले राजधानीको ठमेलमा सयौं ट्रेकिङ कम्पनीहरु सञ्चालन गरेका छन् । पर्यटन व्यवसायको क्षेत्रमा निकै सफलता कमाएका छन् । पर्यटनको नेतृत्व दिईरहेका छन् तर विडम्बना उनीहरुले आफुजन्मेको क्षेत्रको पर्यटन प्रर्बद्धन गर्न खासै रुचि देखाएको पाईदैन् ।

समितिको अभियान
प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको गणेश हिमाल क्षेत्रलाई व्यापक प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्यरुपमा पयर्टकहरूलाई आर्कषित गराई पयर्टन प्रबद्र्वनमा विशेष भूमिका निर्वाह गर्नका लागि अहिले लामो समयदेखि पयर्टन क्षेत्रमा क्रियाशील तथा धादिङ जिल्लाको उत्तरी गाउँ विकास समितिहरूका युवाहरुको संलग्नतामा गणेश हिमाल पर्यटन बिकास समिति स्थापना भएको छ । विशेष गरी जिल्लाका उत्तरी क्षेत्रका पाँचवटा गा.वि.स. तिप्लिङ, सेर्तुङ, लापा, झार्लाङ, र रिका युवायुवतीहरु आवद्ध रहेको समितिका अध्यक्ष कुलबहादुर गुरुङले जानकारी दिए ।

अहिलेको समय परिस्थितिलाई मध्यनजर राख्दै गणेश हिमाल क्षेत्रमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सेफ्टी र सेक्युरेटीको निम्ति स्थानीय निकायका राजनीतिक दलहरुलाई प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्ने काम भई सकेको गुरुङको दावी छ । समितिले धादिङ जिल्लाका पर्यटन व्यवसायीहरुसँग अहिलेसम्म कम्तीमा नौं पटक यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि वृहत छलफल तथा अन्तरक्रियात्मक बहस गराइसकेको छ । यस्तै, जिल्लाका राजनीतिक दलहरुसँग पनि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भईसकेको गुरुङ बताउँछन् ।

समितिले उत्तरी धादिङ क्षेत्रका प्रत्येक गाविसका कम्तीमा दुई जना स्थानीय भाई–बहिनीहरूलाई काठमाडौंमा ल्याई एक महिनाको अंग्रेजी भाषा तालिम, कुक तालिम तथा घरवास सम्बन्धी तालिम दिइने कार्यक्रम रहेको छ । तालिम पश्चात गाउँमा फर्किर स्थानीय वासिन्दालाई तालिम दिइने गुरुङ बताउँछन् ।

प्रत्येक गाविसमा रहेका यस संस्थाका उपसमितिका सदस्यहरुलाई पर्यटन प्रवद्र्धन सम्बन्धी तालिम दिइनेछ । त्यस क्षेत्रमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सुचना केन्द्र स्थापना गरिने योजना रहेको छ । छिमेकी जिल्लाहरु नुवाकोट, रसुवा, गोर्खाका पर्यटन व्यवसायीहरुसँग पनि बृहत अन्तरक्रिया कार्यक्रम गरिने गुरुङ बताउँछन् । आगामी डिसेम्बर महिनामा कम्तीमा पनि ४०–५० जना पर्यटन व्यवसायीहरुलाई गणेश हिमाल क्षेत्रको फार्म ट्रिपका लागि त्यस क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको जानकारी गराइने गुरुङ बताउँछन् ।

प्रमुख पर्यटकीय स्थलहरुः

पाङसाङ भञ्ज्याङ
चीनको सिमानासँग जोडिएको धादिङको सवैभन्दा उत्तरी गणेश हिमालको काखैमा रहेको अन्तिम तिप्लिङ गाविसको पाङसाङ भञ्ज्याङ ऐतिहासिक महत्व एवं प्राकृतिक दृश्यहरुवाट अति रमरणीय स्थानको रुपमा रहेको छ ।

यो पाङसाङ भञ्ज्याङ माथिल्लो पहाडको तप्कामा वा तटमा रहे तापनि समथर मैदानी भुभागमा अवस्थित छ । यहाँ धुपी सल्लो लालीगुराँस, हरियाघाँसपात, एवं अनेकन् रंगीचंगी फुलहरु फुलिरहेका छन् । गणेश हिमाल आउने पर्यटकहरु यस पाङसाङ नआई छाड्दैनन् । यस क्षेत्रवाट रसुवा र नुवाकोट त्रिशुलीका आर्कषणयुक्त बजारहरु देखिन्छन ।

सिङला
झारलाङ गा.वि.स.को सिङला परापूर्वकाल देखि नै स्थानीय बासिन्दाहरुले धार्मिक स्थलको रुपमा श्रद्वा, आस्था–भावका साथ मान्दै आएका छन् । यो स्थानको बारेमा धेरै वर्ष पहिले तामाङ गोठालले मङच्यात भन्ने ठाउँमा गोठ गरी बस्दा राती सपनामा चमत्कारपूर्ण चेलीले लेकमा प्रत्येक वर्ष भक्तिभाव साथ पूजा अर्चना गर्नु भनेकाले ती गोठालले माने खडा गरेका थिए । त्यही समयदेखि प्रत्येक वर्षको भदौ पूर्णिमामा सो स्थानमा जात्रा हुन्छ । यस जात्रामा झाँक्रीहरुको महत्वपूर्ण स्थान हुन्छ । त्यो बेला नयाँ झाँक्रीहरुलाई वाङगुर दिन्छन् जसबाट झाँक्रीहरु एकदमै निपूर्ण, सक्षम, एवं सवल हुन्छन् भन्ने विश्वास गरिन्छ । रसुवा तथा नुवाकोटका विभिन्न गाउँबाट पनि झाँक्रीहरु ढ्याङग्रो बजाउँदै मीठो लयमा गीत गाउँदै नाँचगान गर्ने गर्दछन् ।

यस जात्रामा विशेष गरी युवायुवतीहरुको अति घुँइचो लाग्छ । चेलीहरुले यस जात्रामा अनेकन प्रकारका मिष्ठान भोजन तयार पारेर लैजान्छन् । यस्तै, नयाँ झाँक्री एवं जात्रामा सम्मिलित दाजुभाइलाई बाँडछन् । दाजुभाईले पनि आफ्नो गच्छेअनुसार पैसा दिन्छन् । यो सिङलादेवी ज्यादै नै सुन्दर एवं मनमोहक लेकालीस्थल हो । यस क्षेत्रबाट गगनचुम्बी गणेश हिमाल, लाम्टाङ हिमाल, प्यालदोर हिमालदेखि समथर मैदानी भाग अनि लेकाली फाँट र खर्कहरु देखिन्छन् । यस लेकको अनौठो प्रकारको रंगीचंगी फूलहरुले पर्यटकहरुलाई आनन्दित तुल्याइदिन्छन् ।

सिङलाको मनोरम प्राकृतिक दृश्यावलोकन गर्न प्रत्येक वर्ष थुप्रै विदेशी पर्यटकहरु ओहोरदोहोर गर्दछन् । सेर्तुङ गाउँबाट ६ घण्टाको मनोरम दृश्यावलोकन गरी पर्यटकहरु काठमाडौंतिर फर्कन्छन् ।

(ताजाबह्स डट कम बाट)