हरिबोधनी एकादशीमा मेला लगाउँदै गंगाजमुना गाउँपालिका
254 पटक पढिएको
धादिङ,२३ कात्तिक २०८१ । धादिङको गंगाजमुना गाउँपालिकास्थित फूलखर्कमा रहेको धार्मिक तथा पर्यटकीय स्थल धादिङको गंगाजमुना झरनामा ठूलो एकादशीको अवसर पारेर विगतमा झै यो बर्ष पनि भव्य मेला लाग्ने भएको छ ।
जिल्लाकै प्रसिद्ध तीर्थस्थल गंगाजमुना झरना दुई हजार आठ सय मिटर उचाइबाट सिधै एक हजार आठ सय मिटरमा झर्छ । झरनाबाट पानी झर्ने तल्लोभागमा तीर्थालुहरू नुहाउने गर्छन् । हरिबोधनी एकादशीमा बत्ती बाल्न तथा नुहाउनका लागि धादिङ सहित गोरखा, चितवन, नुवाकोट, रसुवा, काठमाडाैं आसपासका जिल्लाबाट भक्तजनहरु यहाँ आउने गर्दछन् ।
यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन मनाइन्छ । गंगाजमुना गाउँपालिकाको नाम पनि यही झरनाको नामबाट राखिएको हो । यो वर्ष हरिबोधनी एकादशी कात्तिक २७ गते परेकाले २६ गते दिउँसोबाट मेला लाग्ने छ । अघिल्लो रातभर जाग्राम बसेका भक्तजनले एकादशीको दिन बिहान झरनाको फेदीमा स्नान गरी पूजाआजा गर्ने गर्दछन ।
१३ सय वर्षअगाडि गंगा र जमुना नाम गरेका दुई छोरीहरू बेपत्ता भएको र परिवार खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं, हामीलाई यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माइको मेला सुरू भएको किम्बदन्ती छ ।
गंगाजमुना गाउँपालिका-५, ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छ । तीन सय मिटरमाथिबाट झर्ने यो झरनामा गएर नुहाउने र मनले चिताएको पुरा होस् भनेर आशीर्वाद माग्ने प्रचलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गर्ने प्रचलन पनि रहेको छ ।
एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाउने र पहरामा रहेको भगवान् गंगाजमुनाको दर्शन गरी फर्किने चलन छ । गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनहरूले गंगाजमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुख-शान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो ।
गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरूको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।
यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । स्थानीय सिंहबहादुर तामाङ भन्छन्, ‘एकादशीको दिन रात नै झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेहरूले रातभर आ-आफ्नो भेषभूषा र पहिरनअनुसारको कला देखाउँछन् र बिहान भए पनि झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् ।’
यहाँबाट घाम अस्ताएको र उदाएको दृश्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ । यो बर्ष पनि गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण र आकर्षक भए पनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाइ छ । भौगोलिक हिसाबले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।
हिन्दु र बौद्ध धर्मालम्वीले एक साथ मनाउने जात्रामा गुम्बा र गंगाजमुनाको मन्दिर नजिकै छन् । जात्रामा ढुंगामा कुदिएको गंगा र जमुनाको मूर्ति अनावरण गरिने कार्यक्रम छ ।