यात्रुको चाप र सवारी अभावका बेला निजी जिपमाथि प्रहरीको कारबाही
41 पटक पढिएको
धादिङ, ६ कात्तिक । दशैँ मनाएर गाउँबाट काठमाडौँ फर्किने तथा आफन्तकोमा टीका थाप्न जाने सर्वसाधारण सवारीसाधनको अभावमा गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका बेला धादिङ प्रहरीले निजी जिपले यात्रु बोकेको भन्दै कारबाही गरेको छ। यात्रुको चाप बढेको र सार्वजनिक सवारीसाधन पर्याप्त नभएको समयमा निजी जिपमाथि गरिएको कारबाहीलाई लिएर सर्वसाधारणले प्रश्न उठाएका छन्।
दशैँपछि काठमाडौँ फर्किने यात्रुको चाप धादिङबेसीमा बढेको छ। शुक्रबार धादिङबेसीको पुछार बजारस्थित बस काउन्टरमा टिकट लिन यात्रुहरू पालो पर्खेर बसेका थिए। धादिङ मण्डली यातायातका ५० वटा र ग्रामीण यातायात धादिङ प्रालिका १० वटा बसले सदरमुकाम धादिङबेसी तथा जिल्लाका ग्रामीण भेगबाट यात्रु लिएर काठमाडौँतर्फ प्रस्थान गरेका छन्।

यी बसबाहेक निजी सवारीसाधन तथा अन्य यातायात सेवाका बस र माइक्रोबसमा पनि काठमाडौँ जाने यात्रुको संख्या उल्लेख्य रहेको छ। चाडपर्वका कारण यात्रुको चाप बढ्दा सार्वजनिक यातायातमा सहजै टिकट पाउन र समयमै गन्तव्यमा पुग्न सर्वसाधारणलाई कठिनाइ भइरहेको छ।
विशेषगरी जिल्लाका ग्रामीण भेगबाट सदरमुकाम धादिङबेसीसम्म आइपुग्न पनि सवारीसाधन पाउन मुस्किल हुने गरेको यात्रुहरूको अवस्था छ। ग्रामीण क्षेत्रबाट सदरमुकामसम्म आउने नियमित सवारीसाधन पर्याप्त नहुँदा कतिपय यात्रु निजी सवारीसाधनमा चढेर भए पनि धादिङबेसी आइपुग्न बाध्य छन्। त्यसपछि काठमाडौँ जाने बसको टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने अवस्था छ।
यात्रुहरू गन्तव्यमा पुग्न सास्ती खेपिरहेका बेला धादिङ प्रहरीले भने निजी जिपले भाडा लिएर यात्रु बोकेको भन्दै कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले चाडपर्वका बेला प्रयोजनविपरीत जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनमाथि निगरानी बढाएको जनाएका छन्।
प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राख्ने, निजी सवारीसाधनमा भाडा लिएर यात्रु बोक्ने तथा सवारीसाधनको छतमा यात्रु राखेर चलाउने कार्यलाई ट्राफिक नियम उल्लङ्घन भन्दै कारबाही गरिएको हो।

प्रहरीले बा १६ च ४९१४, बा.प्र.०१–०२६ च ६००८, ग ३ च ८१४२ र बा १३ च ६६०० नम्बरका चारवटा सवारीसाधनलाई नियन्त्रणमा लिई प्रतिगाडी दुई हजार रुपैयाँका दरले जरिवाना गरेको जनाएको छ। कारबाहीपछि चालक तथा सहचालकलाई अनुशिक्षणसमेत दिइएको र आगामी दिनमा यस्ता गतिविधि नगर्न सम्झाइबुझाइ गरी छाडिएको प्रहरीको भनाइ छ।
प्रहरीले सवारीसाधनको प्रयोजनविपरीत जोखिमपूर्ण तरिकाले यात्रु नबोक्न, सडकको अवस्था बुझेर सुरक्षित रूपमा सवारी चलाउन, तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा यात्रुसँग तोकिएको दररेटभन्दा बढी भाडा नलिन चालकहरूलाई आग्रह गरेको छ।
यद्यपि, सार्वजनिक सवारीसाधनको अभावमा यात्रुहरू गन्तव्यमा पुग्नै कठिन भइरहेको समयमा निजी जिपले यात्रु बोकेको भन्दै गरिएको कारबाहीलाई लिएर सर्वसाधारणले प्रश्न उठाएका छन्। उनीहरूले यात्रुको चाप व्यवस्थापन गर्न र ग्रामीण भेगबाट सदरमुकामसम्म आवतजावत सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन्।
निजी सवारीसाधनले भाडा लिएर यात्रु बोक्दा सवारीको प्रयोजन, अनुमति र सुरक्षासम्बन्धी नियम पालना गर्नुपर्ने विषय आफ्नो ठाउँमा छ। तर, चाडपर्वका बेला सार्वजनिक यातायातको मागअनुसार सेवा उपलब्ध गराउन नसक्दा यात्रुहरू वैकल्पिक साधन खोज्नुपर्ने अवस्थामा पुग्ने गरेका छन्। यस्तो परिस्थितिमा नियम कार्यान्वयनसँगै यात्रुको चापअनुसार थप बस सञ्चालन, ग्रामीण सडकमा नियमित यातायात सेवा र सदरमुकामसम्म सहज पहुँचको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।
सवारीसाधनको अभावमा यात्रुहरू घण्टौँ लाइनमा बस्नुपर्ने र गन्तव्यमा पुग्न कठिनाइ भोग्नुपर्ने अवस्थालाई सम्बोधन नगरी कारबाहीमा मात्र जोड दिँदा नागरिकको असन्तुष्टि बढ्न सक्ने देखिन्छ। यात्रुको सुरक्षा सुनिश्चित गर्नुका साथै उनीहरूलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउनु पनि सम्बन्धित निकायको जिम्मेवारी हो।
धादिङ प्रहरीले भने सवारीसाधनको प्रयोजनविपरीत जोखिमपूर्ण तरिकाले यात्रु नबोक्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै ‘प्रयोजनविपरीत सवारी नचलाऔँ, आफू सुरक्षित रहौँ, यात्रुलाई पनि सुरक्षित राखौँ’ भन्ने सन्देश दिएको छ।







