कांग्रेसको देउवा पक्षले कात्तिक १५ भित्र सबै जिल्लाको अधिवेशन सक्ने तयारी

37 पटक पढिएको

७ कार्तिक २०८३, शुक्रबार २०:३६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ६ कात्तिक । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। पार्टीको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने घोषणा गरेको इतर पक्षले महाधिवेशनअघि पार्टीका विभिन्न तहमा संगठनात्मक अधिवेशनका बाँकी प्रक्रिया पूरा गर्न सक्रियता बढाएको हो।

इतर पक्षले असोज १५ गतेदेखि सुरु गरेको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म देशभरका ४८० वटा पालिका र ६ हजार १०७ वटा वडामा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलका अनुसार संगठनका विभिन्न तहमा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।

पोखरेलका अनुसार हालसम्म १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा समेत अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी रहेका जिल्लामा पनि अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी भइरहेको उनले जानकारी दिएका छन्।

इतर पक्षले कात्तिक १५ गतेभित्र जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। त्यसका लागि बाँकी रहेका संगठनात्मक कामलाई तीव्रता दिइएको जनाइएको छ। निर्धारित समयभित्र अधिवेशन सम्पन्न गर्न सके मंसिरमा प्रस्तावित महाधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने इतर पक्षको अपेक्षा छ।

नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको विषयलाई लिएर पार्टीका विभिन्न पक्षबीच गतिविधि अघि बढिरहेका बेला संगठनात्मक अधिवेशनले पनि राजनीतिक महत्त्व पाएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले पार्टीको तल्लो तहदेखि केन्द्रीय तहसम्मको संगठन निर्माण र प्रतिनिधि छनोटको प्रक्रियालाई महत्त्वका साथ हेरिएको छ।

यसैबीच, पार्टीको संस्थापन पक्षले भने २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ। संस्थापन पक्ष र इतर पक्षका संगठनात्मक गतिविधि फरक ढंगले अघि बढिरहेका कारण कांग्रेसको महाधिवेशन प्रक्रिया र नेतृत्व चयनको विषय थप चासोको विषय बनेको छ।

इतर पक्षले घोषणा गरेको कार्यतालिकाअनुसार मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अब कात्तिक १५ गतेभित्र बाँकी जिल्लाको अधिवेशन सम्पन्न हुन्छ वा हुँदैन भन्ने विषयले महाधिवेशनको तयारी र आगामी संगठनात्मक प्रक्रियालाई प्रभाव पार्ने देखिन्छ।